चुनावलाई अबैध घोषित गरी राजपा आन्दोलनमा

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) ले आगामी असार १४ गते हुने स्थानीय तहको चुनावलाई अवैध घोषणा गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। राजपाले आइतबार काठमाडौमा बसेको बैठकपछि पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।
पार्टीका नेता महन्थ ठाकुरले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘यो निर्वाचनलाई अवैधानिक घोषित गर्ने गरी हाम्रा कार्यक्रमहरु अगाडि बढनेछन्। तपाईहरुले दुई तीन दिनको आन्दोलनबाट नै सरकार निर्वाचनबाट पछाडि हटेको सरकारकै आधिकारिक सूचनाबाट जानकारी पाउनुहुन्छ।’ पत्रकार सम्मेलनमा राजपाका ६ जना शीर्ष नेता सहभागी हुनुहुन्थ्यो।
चुनाव विर्थोल्ने गरी घोषित कार्यक्रम अनुसार जेठ २९ गते प्रत्येक जिल्ला सदरमुकामलगायतका स्थानमा मसाल जुलुस प्रदर्शन गर्ने, जेठ ३० र ३१ गते, असार १ र २ गते चार दिन मधेस, थरुहट र लिम्बुवानमा आमहडताल गर्ने कार्यक्रम तय गरिएको छ।
यसैगरी जेठ ३० र ३१ गते प्रत्येक गाउँपालिका, नगरपालिका, महानगरपालिका केन्द्रित रहेर चुनाव अवरुद्ध गर्न माइकिङ गर्ने कार्यक्रम तय गरिएको छ।
सँगै असार १ गते प्रत्येक चोक र हाटबजारमा विरोध प्रदर्शन गर्ने, असार २ गते गाउँपालिका, नगरपालिका र महानगरपालिकाका निर्वाचन सम्बन्धी कार्यालयमा तालाबन्दी गर्ने र लाठी जुलुस प्रदर्शन गर्ने कार्यक्रम छ।
यसैगरी असार ३ र ४ गते सहिदको सम्मानमा तस्बिर प्रदर्शन गर्ने, असार ५ गते सबै जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने, असार ६ गतेदेखि १४ गतेसम्म निर्वाचन सम्बन्धी सबै कार्यक्रमहरु अवरुद्ध गर्ने कार्यक्रम घोषणा गरिएको छ।
त्यसैगरी असार ८ गते सबै जिल्ला सदरमुकाम मोटरसाइकल र्याली गर्ने, असार ९ गते जिल्ला सदरमुकाममा मसाल जुलुस प्रदर्शन गर्ने र असार १० गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म आमहडताल गर्ने कार्यक्रम राजपाले सार्वजनिक गरेको छ।
निर्वाचनको मिति सार्न राखेको प्रस्तावलाई सरकार, सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलले अस्वीकार गरेपछि राजपा आन्दोलनमा उत्रिएको हो।
प्रतिक्रिया दिनुहोस !
