राष्ट्रपति भण्डारी मंगलबार स्विजरल्यान्ड जाने

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार स्विजरल्यान्ड भ्रमणमा जाने हुनुभएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले स्विजरल्यान्डको जेनेभामा आयोजना गर्न लागेको ‘वल्र्ड अफ वर्क समिट’ मा भाग लिन राष्ट्रपति जान लाग्नुभएको हो ।
गत साता सुरु भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औं सत्रकै दौरान‘वल्र्ड अफ वर्क समिट’ हुन लागेको हो । परराष्ट्र मन्त्रालयका सचिव शंकर दास बैरागीले राष्ट्रपतिको जेनेभा भ्रमणका लागि तयारी भइरहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारी समिटको मुख्य वक्ता रहनुहुनेछ । नेपालका अलावा मौरिसस र माल्टाका राष्ट्रपति पनि सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।
नेपालको नयाँ संविधानमार्फत महिला तथा कामदारका हकहित र अधिकार सुनिश्चित गरिएकोलगायत विषयमा राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउनुहुनेछ । नेपालले अन्तर्राष्ट्रिय श्रम संगठनको गभर्निङ बोर्डको उपसदस्यका लागि दिएको उम्मेदवारीमा समर्थन गर्न उहाँले अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुहुनेछ ।
परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयले भ्रमणको तयारी गरिरहेका छन्। राष्ट्रपतिको भ्रमण कार्यक्रम र टोली मन्त्रिपरिषद्बाट अनुमोदन हुन बाँकी छ । ‘भ्रमण टोली अत्यन्त सानो हुनेछ’, मन्त्रालयका एक अधिकारीले भने ।
भ्रमण टोलीमा परराष्ट्र र श्रम मन्त्रालय तथा राष्ट्रपति कार्यालयका अधिकारी रहनेछन् । राष्ट्रपतिका विदेश मामिला विज्ञ डा.मदनकुमार भट्टराईले पनि राष्ट्रपतिको जेनेभा भ्रमणको तयारी भइरहेको अन्नपूर्णलाई बताउनुभयो । राष्ट्रपति शनिबार फर्कने कार्यक्रम छ । स्विजरल्यान्डमा रहँदा राष्ट्रपति भण्डारीसँग आइएलओका उच्च अधिकारी तथा स्विस सरकारका उच्चपदस्थ अधिकारीले समेत भेटवार्ता गर्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस !
