राजपाको मसाल जुलुसमा प्रहरी हस्तक्षेप

विराटनगर: राष्ट्रिय जनता पार्टीले विराटनगरमा निकालेको मसाल जुलुसमा प्रहरीले सोमबार साँझ हस्तक्षेप गरेको छ ।
विराटनगरको बुधहाट चौकमा आईपुगेपछि प्रहरीले जुलुसमा हस्तक्षेप गरेको राजपा नेता मोहम्मद कादिरले बताउनु भयो । उहाँका अनुसार पार्टीले घोषणा गरेको आमहड्ताल सफल पार्नका लागि भन्दै राजपाले विराटनगरमा जुलुस प्रदर्शन गरिएको थियो । प्रहरीले हस्तक्षेप गर्दै मसाल खोसेको हो ।
मसाल खोसेर प्रहरीले जुलुसमा सहभागी राजपा नेता कार्यकर्तालाई तितरवितर पारेको थियो । त्यस लगत्तै राजपाले विराटनगरमा प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा जुलुसका सहभागीले प्रहरी हस्तक्षेप बन्द गर्नु पर्ने माग गरेका छन् । उनीहरुले पार्टीले घोषणा गरेको आमहड्ताल सफल पार्नका लागि आब्हान समेत गरे ।
राष्ट्रिय जनता पार्टी नेपालले राजविराजमा सोमबार मशाल जुलुश प्रदर्शन गरेको छ । संविधान संशोधन नगरी स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन नदिने चेतावनी दिदै मंगलबारको बन्द आह्वान गरेको राजपा नेपालले बन्दको पूर्व सन्ध्यामा मशाल जुलुस प्रदर्शन गरेको हो । सरकार र तीन ठूला दलविरुद्ध चर्को नाराबाजी गर्दै स्थानीय महादेव मन्दिरको प्राङ्गणबाट निक्लिएको जुलुृश नगरपरिक्रमा पश्चात सहिद दशन चोकमा कोणसभामा परिणत भएको थियो ।
सरकारले संविधान संशोधनलगायतको माग सम्बोधन नगरेपछि निर्वाचनमा जाने वातावरण नबनेकोले आन्दोलनमा उत्रिनु परेको राजपा नेपाल, सप्तरीका संयोजक सुनिलकुमार झाले बताउनु भयो । सभाका वक्ताहरुले असार १४ गते सरकारले गर्न लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन नदिने चेतावनी दिदै जर्वजस्ती चुनाव गर्न खोजे कडा प्रतिकार गर्ने बताए । राजपा नेपालले निर्वाचन विथोल्ने चेतावनी दिदै बन्दसहितको आन्दोलन थालेपछि स्थानीयबासी अन्यौलमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस !
