आन्दोलन चर्काउँदै राजपा

आन्दोलन चर्काउँदै राजपा

काठमाडौं : असार १४ गते हुने स्थानीय तहको दोस्रो चरण निर्वाचन प्रभावित पार्ने गरी आन्दोलन कार्यक्रम घोषणा गरेका राजपाका शीर्ष नेता प्रदेश ५ मा आन्दोलन चर्काउने रणनीतिसहित शनिबार नवलपरासीतर्फ लागेका छन् । अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव र अनिल झा भरतपुर हुँदै नवलपरासी पुग्नुभएको हो । राजपाको शुक्रबार बसेको बैठकले दोस्रो चरण निर्वाचन सक्रिय बहिष्कार गर्ने निर्णय गरेको थियो ।

राजपाले ५ नम्बर प्रदेशअन्तर्गत आफ्नो पकड रहेका नवलपरासी, कपिलवस्तु र रुपन्देहीमा आन्दोलन चर्काउने रणनीति बनाएका छन् । प्रदेश २ र ५ मा चुनाव स्थगन गर्न माग गर्दै आए पनि सरकारले प्रदेश २ मा मात्रै चुनाव स्थगन गरेपछि बाध्य भएर प्रदेश ५ मा आन्दोलन चर्काएको राजपा नेताले बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरूलाई बैठकमा प्रदेश नं. २ र ५ को निर्वाचन सार्ने कुरामा आश्वस्त गराए पनि २ को मात्रै चुनाव सारेको अध्यक्षमण्डलका नेता अनिलकुमार झाले बताउनुभयो । प्रधानमन्त्रीको बोलीमा आएको परिवर्तन र उनको एमालेप्रतिको लचकताका कारणसमेत प्रदेश नं. ५ को निर्वाचन नसरेको दाबी झाले गर्नुभयो ।

राजपाले दोस्रो चरण निर्वाचनअगावै संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारणलगायत माग पूरा नभएसम्म निर्वाचन बहिष्कार गर्ने नीतिअनुसार पहिलो चरण निर्वाचनसमेत बहिष्कार गरेको थियो । राजपालाई मनाउने उद्देश्यसाथ बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश २ को निर्वाचन असोज २ गतेसम्मका लागि स्थगन गरिसकेको छ ।

संघीय गठबन्धनको बैठकसमेत राख्दै राजपाले उम्मेदवार मनोनयनको दिन आइतबार मधेस थरुहट क्षेत्रमा आमहडताल घोषणा गरेको छ । राजपाका नेता राजेन्द्र महतोले प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रले देशलाई विखण्डन गर्न खोजेकाले आफूहरूले देश जोगाउन चुनाव बहिष्कार र शान्तिपूर्ण आन्दोलन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मधेसका मुद्दा सम्बोधन नभएसम्म कुनै पनि चुनावमा राजपाले भाग लिँदैन, यो हाम्रो बटमलाइन हो ।'

राजपाभित्रको निर्वाचनपक्षीय नेतृत्व निरीह सावित भएको छ । सरकारलाई चुनाव सार्न सहमत गराएका महन्थ ठाकुर नेतृत्वको निर्वाचनपक्षीय नेतृत्वले बहुमत हुँदाहुँदै स्वतः अल्पमतमा पुग्दा आफूहरू आन्दोलनमा जानुपरेको धारणा एक शीर्षको थियो । सरकारसँगको वार्ताबाट केही नहुने निष्कर्षसहित संसद्समेत छाडेर आन्दोलनमा जाने निर्णय गर्न राजपाभित्रै चर्को दबाब परिरहेको छ ।

महन्थ ठाकुर, महेन्द्र यादव र शरत्सिंह भण्डारीले सरकारसँग वार्ता गरेर दुई नम्बर प्रदेशको चुनाव सारे पनि उनीहरूकै पार्टीले भने सरकारको चुनाव सार्ने निर्णयलाई ‘धोका' भनेको छ । त्यसैले अब राजपासँग सहमति कसरी गर्ने भन्ने विषयमा समेत अन्योल पैदा गरिदिएको छ । दुई नम्बर प्रदेशमा केन्द्रित भएको आन्दोलनलाई राजपाले पाँच नम्बर प्रदेशसम्म पुर्‍याएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.