राजपाको सहमतिमै निर्वाचन सारिएको हो : गृहमन्त्री शर्मा
काठमाडौं : गृहमन्त्री जनार्दन शर्माले राजपाको सहमतिमा नै निर्वाचन मिति सारिएको दाबी गर्नुभएको छ ।
सत्ता साझेदार दल र राजपाबीचमा भएको सहमति अनुसार नै निर्वाचन सार्ने निर्णय भएको कुरा उजागर गर्दै, राजपाले आफैले गरेको सहमति विपरित गएर आन्दोलन गर्नु ठिक नभएको बताउनुभयो।
प्रेस सेन्टर नेपाल रुकुमले सदरमुकाम मुसिकोट खलंगामा गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री शर्माले सत्ता साझेदार दलहसंग भएको सहमति अनुसार निर्वाचनमा होमिन राजपालाई आग्रह समेत गर्नुभएको छ ।
गृहमन्त्री शर्माले तराई मधेसका जनताको मताधिकार सुनिश्चित गर्न २ नम्बर प्रदेशको निर्वाचन सारिएको स्पस्ट पार्नुभएको छ ।
निर्वाचन नसारेसम्म राष्ट्रिय जनता पार्टी (राजपा) चुनावमा आउने सम्भावना नभएको र राजपा चुनावमा नआएसम्म शान्तिपुर्ण रुपमा निर्वाचन गर्न नसकिने भएकाले निर्वाचन सार्नुपरेको उहाँको भनाइ छ । राजपालाई सहमतिमा ल्याएर शान्तिपुर्ण वातावरणमा निर्वाचन गराउने र तराई मधेसका सबै जनताको मताधिकार सुनिश्चित गर्न नै २ नम्बर प्रदेशको चुनाव असोज २ गतेसम्मका लागि सारिएको बताउनुभयो ।
ढुक्क भएर निर्वाचनमा सहभागी हुनुहोस् गृहमन्त्री शर्माले निर्वाचन सम्बन्धी सबै सरक्षा व्यवस्था मिलाइसकिएकाले ढुक्क भएर मतदानमा सहभागी हुन मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।
असार १४ मा हुने दोस्रो चरणको निर्वाचनका लागि सरकारले सम्पुर्ण सुरक्षा व्यवस्था मिलाएकाले ढुक्क हुन उहाँले सबैमा अनुरोध गर्नुभएको हो। आफ्नै गाउँठाउँमा बन्ने सरकार संचालनका लागि जनप्रतिनिधि चुन्ने सुनौलो अवसर प्राप्त भएकाले यस्तो अवसरलाई खेर नफाल्न उहाँको आग्रह छ ।
त्यस्तै सुरक्षा निकायलाई चेनअफ कमाण्डमा राखेर देशको सुरक्षा व्यवस्थालाई थप व्यवस्थित बनाउन आफुले पहल गरिरहेको समेत उहाँले बताउनुभयो । ‘देश संघीय संरचनामा गईसकेपछि सुरक्षा संयन्त्रपनि त्यसैगरी व्यवस्थित गर्नुपर्ने अवस्था छ मन्त्री शर्माले भन्नुभयो–संविधान अनुसार देशैभरको सुरक्षा संरचना निर्माणमा जुटिरहेको छु ।’ म्यादी प्रहरीलाई प्रमाणपत्रको व्यवस्था गर्ने घोषणा गृह जिल्ला रुकुम पुग्नुभएका गृहमन्त्री शर्माले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीले खेलेको भुमिकाको प्रसंशा गर्नुभयो । म्यादी प्रहरीले निर्वाचन सम्पन्न गर्नका लागि खेलेको भुमिकालाई प्रसंशा गर्दै उहाँले सरकारले त्यसको उच्च सम्मान गर्ने बताउनुभयो ।
म्यादी प्रहरीहरुको सम्मान स्वरुप प्रमाणपत्रको व्यवस्था गर्ने मन्त्री शर्माले घोषणा गर्नुभयो । यसले उनिहरुलाई आफ्नो काम प्रति गौरवको महशुस हुने र देशका लागि थप केही गर्न प्रेरणा थप्ने उहाँको विश्वास छ ।