मनोनयनको विरोध गर्ने राजपाका ४१ नेता तथा कार्यकर्ता पक्राउ
जनकपुरधाम : स्थानीय तहको निर्वाचनको अन्तर्गत दोस्रो चरणको निर्वाचनको मनोनयनको विरोधमा उत्रेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका ४१ जना नेता कार्यकर्तालाई प्रहरीले जनकपुरमा पक्राउ गरेको छ।
मनोनयनको विरोध गर्दै मधेस बन्दको आह्वान गरेको राजपाका कार्यकर्ताले आइतबार बिहानैदेखि नगरक्षेत्रमा बजार बन्द गराउँदै हिँडेका थिए। सोही क्रममा स्थानीय जनक चोकमा राजपा कार्यकर्ता र प्रहरीबीच झडप भएपछि प्रहरीमाथि ढुंगामुढा गरेको भन्दै महिला आन्दोलनकारी पक्राउ परेका थिए।
सो क्रममा प्रहरीले लाठी चार्ज गर्दा महिला आन्दोलनकारी पुनम झा, चन्दा ठाकुरको टाउकोमा चोट लागेर घाइते भएका थिए भने अन्य आन्दोलनकारी विभा ठाकुर, रञ्जु झा, सरिता साह, रेणु झालगायतलाई प्रहरीले जनकचोकबाट नियन्त्रणमा लिएको थियो।
आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरिएपछि रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका राजपाका धनुषा संयोजक परमेश्वर साह, संजय सिंह, पूर्वराज्यमन्त्री सुरिता साह, सांसद दिनेश शाह लगायत ४१ जनालाई प्रहरीले नाराबाजी गर्दै गरेको अवस्थामा पकाउ गरेको हो।
पक्राउ परेका नेता कार्यकर्तालाई दिनभरी जिल्ला प्रहरी कार्यालयमा राखेर साँझमा हिंसात्मक गतिविधि नगर्ने सर्तमा छाडिएको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो।
राजपाका नेता कार्यकर्ता पक्राउ परेपछि अन्य कार्यकर्ताले नगरक्षेत्रमा प्रहरीमाथि ढुंगामुढा सँगै नगरका विभिन्न भागमा टायर बालेर विरोध प्रर्दशन गरेका थिए। राजपाको झडपका कारण दिनभरी जनकपुर अशान्त बनेको थियो।