बाजुरामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, एकको मृत्यु

धनगढी : वाजुराको छेदेदह गाउँपालिकामा आइतबार मनोनयनका बेला नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झड्प हुँदा एक एमाले कार्यकर्ताको मृत्यु भएको छ। झडपमा कांग्रेसका एक कार्यकर्ता गम्भीर घाइते भएका छन् ।
निर्वाचन कार्यालयमा मनोनयन दर्ता गर्ने क्रममा गाउँपालिकाको केन्द्रमा दुवै पार्टीका कार्यकर्ताबीच झड्प भएको हो । झडपमा एमाले कार्यकर्ता छेदेदह गाउँपालिका–५ का ५० वर्षीय हंस रावतको ज्यान गएको छ । झडपमा घाइते भएर उपचारका लागि लैजाने क्रममा रावतको बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै कांग्रेसका कार्यकर्ता छेदेदह गाउपालिका–६ का धन नाथ गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल पठाइएको छ । केही संख्यामा दुवै तर्फ सामान्य घाइते भएका छन् । नेताहरु उम्मेदवारी दर्ता गर्नका लागि भित्र गएका बेला बाहिर दुवै पार्टीका कार्यकर्ताबीच एक अर्काविरुद्ध नारावाजी गाली गलौज हुदाँहुँदै ढुंगा हानाहान भएर झडप भएको थियो।
प्रतिक्रिया दिनुहोस !
