विकास बजेट एक तिहाई मात्र खर्च
जाजरकोट : जाजरकोटमा चालू आर्थिक वर्षका लागि विनियोजन भएको विकास बजेटको हालसम्म एक तिहाईमात्र खर्च भएको छ । चालू आर्थिक वर्षमा विकास बजेट निकासा हुने समय २० दिन मात्र बाँकी छ । समयमा काम नहुँदा विकास बजेट खर्च हुन सकेको छैन ।
अहिलेसम्म जिल्ला समन्वय समितिमार्फत हुने विकासका काम अन्तिम चरणमा पुगेको हुनुपर्ने हो । असार सुरु भइसक्दा पनि कतिपय आयोजनाको सम्झौता हुन सकेको छैन । सम्झौता भएका आयोजना उपभोक्ता समितिले पनि असार कुरेर बसिरहेका छन् । स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डित जाजरकोटवासीको विकासप्रतिको धारणा र व्यवहार देख्दा आफैं वाक्क हुनुहुन्छ ।
सम्झौता गर्न पनि हामीले नै ताकेता गर्नुपर्ने, समयमै काम गरभन्दा पनि नगर्ने म त वाक्क भैसके उहाँले भन्नुभयो, ‘आफ्नो गाउँ र ठाँउका लागि विनियोजित बजेट सदुपयोग गरौं, विकास गरौं भन्ने भावना पाइएन ।' अहिलेसम्म ७५ प्रतिशतभन्दा बढी काम सम्पन्न भैसक्नुपर्ने हो तर मुस्किलले ३५ प्रतिशतसम्म भएको स्थानीय विकास अधिकारी पण्डितको भनाइ छ ।
उहाँले भन्नुभयो,‘ अब एक महिना पनि बाँकी छैन सबैले पेस्की लिएका छन् । कामको खासै प्रगति देखिँदैन । प्राविधिकमार्फत मैले धेरै ताकेता गरेको छु । काम गर्नेको भुक्तानी हुन्छ नगर्नेको बजेट फ्रिज जान्छ । विगत वर्षमा समयमा काम नगर्ने अन्त्यमा विभिन्न दबाबमा कामै नगरी पनि पछि गर्ने गरी चेक काट्ने गरेको यदाकदा सुनेको छु यसपालि त्यस्तो हुँदैन ।'
यस वर्ष जिल्ला समन्वय समितिबाट कार्यन्वयन हुने तीन सय ८० योजनामध्ये ३६ वटाको सम्झौता हुन बाँकी छ ।
जिल्ला समन्वय समिति मातहतका सबै विकास आयोजना उपभोक्ता समितिमार्फत गराउने प्रावधान छ । यस वर्ष जिल्ला समन्वय समितिबाट कार्यन्वयन हुने तीन सय ८० योजनामध्ये ३६ वटा अझै सम्झौता हुन बाँकी े, ५७ वटा आयोजनाको काम सम्पन्न भएको, एक सय ४७ वटा आयोजनाको पेस्की गएको, ६४ वटा योजना सम्झौता भएर पनि पेस्की नलिएको स्थानीय विकास अधिकारी पण्डितले बताउनुभयो । ७६ वटा योजना स्थानीय तह मातहतबाटै हुने गरी रकम निकासा पठाइएको छ । गत कातिक÷मंसिरमै बजेट निकासा भए पनि स्थानीयको विकासप्रतिको उदासीताले अहिलेसम्म पनि केही योजनाको सम्झौता हुन नसकेको उहाँको भनाइ छ ।
जिल्ला समन्वय समितिमार्फत चालू आवमा पुँजीगततर्फ स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रम आयोजना, आर्थिक केन्द्र तथा दुई जिल्ला जोड्ने सडक, ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रम, साना सिँचाइ तथा नदी नियन्त्रण, पर्यटन पुर्वाधार, संस्कृतिक प्रर्वद्धन, निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमलगायतमा साढे १६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर सुशील शाहीले भन्नुभयो, ‘समयमा काम नगर्दा अहिले प्राविधिक फुर्सदमा छन् । आर्थिक वर्षको अन्तिम महिना असारमा काम गर्दा प्राविधिकले पनि राम्रोसँग मूल्यांकन नगर्ने भएकाले अनियमितता गर्न सजिलो हुने ठानी अधिकांश उपभोक्ता समिति असार कुरेर बसेको पाइन्छ । असारे विकास गर्ने र बाँडीचुडी खाने प्रबृत्ति जाजरकोटमा वषौंदेखि चल्दै आएको छ । राजनीतिक नेतृत्व कमजोर हुँदा यस्तो अवस्था आएको सुशासनकर्मी बालकुमार शर्मा बताउनुहुन्छ ।