जो फेल भएर पनि पास भए

आफ्नो आत्मकथा 'चिना हराएको मान्छे' विमोचन कार्यक्रममा हरिवंश आचार्यले भनेका थिए, 'मलाई सानोमा पुस्तकभन्दा त लटाई, गुच्चा र खोपी मन पथ्र्यो । पुस्तक हेर्नै मन नपर्ने मान्छे लेखक भएँ ।' वरिष्ठ हास्यकलाकार हरिवंशको पुस्तक निकै बिक्री भयो । यसको कारण कलाकारितामा उनको प्रखर उपस्थिति र सफलता हो । विमोचन कार्यक्रममा हरिवंशले बोलेको माथिको भनाइ धेरै अर्थपूर्ण छ । उनले तेस्रो प्रयासमा एसएलसी पास गरेका थिए । एसएलसीमा बारम्बार लागेको धक्काले उनी जीवनमा सफल हुनबाट भने रोकिएनन्।
'प्रकृतिले कसैलाई थोरै पढ्दैमा जानिहाल्ने दिमाग दिएको हुन्छ । कसैको दिमाग प्राविधिकमा दक्ष बनाएको हुन्छ । कसैलाई कलाकार हुने दिमाग दिएको हुन्छ', हरिवंश भन्छन्, 'तर मान्छेको जीवन भनेको नदीजस्तो हो । नदी थुन्यो भने ताल बन्छ तर फुटेर फेरि आफ्नै गतिमा जान्छ ।' जीवन र औपचारिक शिक्षा (परीक्षा)बीच पारस्परिक सम्बन्ध र फरक देखाउन उनीसँग यस्ता थुप्रै उदाहरण छन् । भन्छन्, सर्टिफिकेट भनेको ढोकाको साँचो हो तर यो हरायो भने झ्यालबाट पनि छिर्नुपर्छ ।
र, उनको सुझाव छ, 'विल गेट्स पढेर धनी भएका होइनन् । उनी धेरै नपढीकन पनि जीवनमा सफल भए, धेरै सम्पत्ति आर्जन गर्न सके । यसको मतलव कोसिस नै गर्नुहुन्न भनेकोचाहिँ होइन । कोसिस गर्दा पनि हुन्न भने विकल्प खोज्नुपर्छ । जीवनमा एउटै समयमा धेरै विकल्प हुन्छन् ।'
एसएलसीमा फेल हुनु र जीवनमा फेल हुनु दुई फरक कुरा हुन् । हरिवंश एसएलसीमा फेल भए पनि जीवनमा पास भए । उनी कति सफल र पास भए भन्ने कुरा उनको अभिनय र लोकप्रियताबाटै प्रस्ट हुन्छ । एसएलसीमा कम नम्बर आयो वा सोचेजस्तो भएन भनेर निराश हुने धेरै छन् । तर, एउटा परीक्षामा फेल हुनु सिकाइ वा जीवनको एउटा सामान्य हिस्सा भएको इतिहासका कैयौं घटनाले देखाएका छन् र यसबाट माथि उठेर मानिस सफल भएका छन् ।
वरिष्ठ नाट्यकर्मी सुनील पोखरेलले पनि पहिलो प्रयासमा एसएलसी छिचोल्न सकेनन् । कक्षामा दोस्रो थिए तर एसएलसीमा फेल भए । १३ वर्षको उमेरमा उनले एसएलसी दिएका थिए । लगत्तै अर्को वर्ष, उनी दोस्रो श्रेणीमा उत्तीर्ण भए । 'म मनको राजा थिएँ । अंग्रेजीको परीक्षा बिग्रिएकाले फेल हुन्छु भन्नेमा ढुक्क थिएँ ।
नतिजा आएपछि विद्यालय र परिवार छक्क परे । सायद उहाँहरूको मन पनि कटक्क भयो होला तर मलाई केही भन्नुभएन ।' परिवारको जेठो छोरा भए पनि उनमा परिवारको खास दबाब थिएन । क्याम्पसमा साइकोलोजी पढ्न चाहन्थं । आईएमा साइकोलोजी र कल्चर विषय लिएर विराटनगरमा भर्ना भए । साइकोलोजी पढ्न रुचि भए पनि उनको इच्छा भने कलाकार बन्ने थियो ।
उनले हतार नगरी आईए सकेर काठमाडौं हानिए, अभिनय सिक्न । अभिनयको ठूलो भोक थियो उनमा । पछि भारत गएर नाटकमा ग्राजुएसन गरे । भन्छन्, 'सायद मेरो कर्म अभिनय गर्नकै लागि थियो । त्यसैले अभिनयमै रहेँ ।' उनी हाल नेपाली नाट्यकलाका एकेडेमीजस्तै बनेका छन् । उनले अभिनय सिकाएकै पुस्ता अहिले नाट्यघर र सिनेमा हल जमाइरहेका छन् । 'मैले सिक्न अझै धेरै बाँकी छ । म आफ्नो गल्ती थाहा पाइहाल्छु', विनाहिच्किचाहट स्विकार्छन् । नाटकमै पीएचडी गर्ने उनको सपना थियो तर त्यो टाढिँदै गएको उनलाई लाग्छ । उनलाई लाग्छ, जीवनमा शिक्षाभन्दा बढी अनुभव महत्वपूर्ण छ । जीवनलाई निकै सामान्य तरिकाले हेरिनुपर्ने उनको सुझाव छ । ५४ वर्षको उमेरमा सुनील आजकल पनि अभिनय सिकिरहेका छन्, सिकाइरहेका छन् ।
द्वारिकानाथ ढुंगेल एसएलसीमा दुई पटक फेल भए । तर, उनी पढाइबाटै सफल हुनबाट भने रोकिएनन् । पढाइमै अब्बल भएर सरकारी सेवामा सचिवसम्म भए । विद्यावारिधि गरे । उनको शैक्षिक संघर्ष भने अलिक फरक छ । काठमाडौंको जुद्धोदय पब्लिक स्कुलबाट ०१६ सालमा एसएलसी दिए । गणितसहित दुई विषयमा उनी फेल भए । पूरक परीक्षामा पनि सफल हुन सकेनन् । कक्षा ८ मा पढ्दाताका उनमा डाक्टर बन्ने लक्ष्य पलाइसकेको थियो । झोंछेको नेवार समुदायबीच हुर्किएका द्वारिका एसएलसीको नतिजाले भित्रभित्रै पोलिएका र पिल्सिएका थिए ।
'ब्राह्मण समुदायको म, परिवारको पनि जेठो सन्तान थिएँ । आफूसँगैका साथीहरू कलेज जान थाले । परिवारले पनि मैले पढेर खान्छ भन्ने आस मारिसकेका थिए । घर आसपास र स्कुलका शिक्षकले गिज्याउँदा हीनताबोध र आत्मग्लानि निकै भएको थियो', द्वारिका भन्छन्, 'पूरक परीक्षामा पनि फेल भएपछि निराशा थप बढ्यो । दसैंको मुखमा नतिजा आएको थियो । दसंैका लागि एकजोर नयाँ कपडा किनिदिने चलन थियो । तर, पूरकको नतिजाले त्यो खुसी ममा कतै थिएन । ' पढाइमा खास सम्भावना नदेखेपछि परिवारले द्वारिकालाई टाइपिङ सिक्न पठायो । उनले सिके पनि । तर, एसएलसी पास हुन नसकेकोमा उनको पछुतो पनि दिनानुदिन बढ्दो थियो । जसरी पनि एसएलसी पास गर्नुपर्छ हुटहुटी बढ्दै थियो । ०१७ सालको एसएलसीका लागि उनले परीक्षा फर्म भरे ।
द्वारिकालाई के राम्रोसँग थाहा थियो भने उनी गणितमा निकै कमजोर छन् । त्यसैले कोचिङ पढे । उनले गणित यसरी जाने कि पास हुन्छु भन्ने हिम्मत बढ्यो । अन्ततः उनी एसएलसी पास भए, तेस्रो श्रेणीमा । गणितमा ३० अंक ल्याए । गणितको अंक र समग्रमा प्राप्त श्रेणीले उनको विज्ञान पढ्दै डाक्टर बन्ने सपना पूरा हुने अवस्था थिएन । अनेक प्रयास गरे पनि मलाई कुनै कलेजले विज्ञान पढ्न दिएनन् । भन्छन्, 'निकै निराश भएँ । भर्ना हुन समय सकिन लागेको थियो, अघिल्लो वर्ष पास भएकाले साथीहरूले अरू विषयमा भर्ना हुन सल्लाह दिए । मैले सोचें, विज्ञान पढ्ने मेरो भागमा रहेनछ ।' उनी मानविकी संकायमा भर्ना भए । त्यसपछि उनले कहिले पछाडि फर्केर हेर्नुपरेन । उनले राजनीतिशास्त्रमा स्नातकोत्तर टप गरे ।
भारतको नागपुर विश्वविद्यालयबाट राजनीतिशास्त्रमै विद्यावारिधि उपाधि प्राप्त गर्न सफल भए । द्वारिकाले केही वर्ष आंशिक प्राध्यापकको पनि काम गरे । उनी र उनको एक साथी आआफ्नो सपना सुनाइरहन्थे । द्वारिका भन्थे, 'म प्राध्यापक बन्छु, उनका साथी भन्थे, म सचिव बन्छु । समयकालमा द्वारिका सचिव बने, उनका साथी प्राध्यापक । 'स्नातकोत्तरमा प्रथम श्रेणीमा पास हुनेले सोझै प्राध्यापकमा स्थायी जागिर पाउँथ्यो । तर, म दोस्रो श्रेणी ल्याएर टप गरेको थिएँ । ममाथि त्यतिबेला शिक्षकबाटै राजनीति भएको थियो । मलाई जानीजानी प्रथम श्रेणीमा पास गरिएन', द्वारिकाको दाबी छ । तर, उनी आत्तिएनन् । उनले शाखा अधिकृतबाट सरकारी सेवा प्रवेश गरेर सचिवसम्म भए । अमेरिकाको चर्चित हार्वड विश्वविद्यालयमा अध्ययन गर्ने अवसर पाए । इन्डियाना विश्वविद्यालयमा 'भिजिटिङ स्कोलार' पनि बने ।
'म आज जे छु, त्यो परिस्थितिले बनाएको हो । गणितमा कमजोर भएकाले विज्ञान पढ्न मेरो भाग्यमा थिएन । विज्ञान यदि मेरो विषय हुन्थ्यो भने लगातार सफल हुँदै आउने थिइन । आज जे छु, त्यसमा खुसी छु,' उनी भन्छन् । द्वारिकाको जस्तै तर केही फरक इतिहास छ, उपत्यका विकास प्राधिकरणका निमित्ति प्रमुख भाइकाजी तिवारीको पनि । उनी स्कुलको पढाइमा निकै अब्बल थिए । तर, ०२९ सालको एसएलसीमा उनले अनपेक्षित नतिजा सामना गर्नुपर्यो, अंग्रेजीमा फेल भएर । नतिजाले खिन्न भएका उनले केही वर्ष पढाइ स्थगन गरे ।
तर, उनको मनले मानेन । ०३४ सालमा फेरि एसएलसी दिए । यसपटक उनी एसएलसी बोर्ड पाँचौं भए । यो सफलताले उनको जीवनमा 'यू टनर्' ल्यायो । पुल्चोक इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङमा भर्ना भए । यहाँ पनि डिस्टिङसन ल्याए । गायक धर्मेन्द्र सेवाङ एसएलसीमा दुई पटक फेल भए । पढ्न केही समय स्थगन गरे, म्युजिकल करियरलाई अगाडि बढाएर । तर, उनलाई लाग्यो, पढाइ त चाहिने रहेछ । उनले ०६४ सालमा पुनः एसएलसी दिए र यसपटक पास भए । गायिका विष्णु माझी, हास्यकलाकार विल्सनविक्रम राई, नायिका करिष्मा मानन्धरलगायतको औपचारिक शिक्षा एसएलसीसम्म पुगेन तर उनीहरू लाखौंका लागि आदर्श बनेका छन् ।
अमर न्यौपानेले लेखेको 'करोडौं कस्तुरी'को सन्देश छ, आफ्नो नाभीमा भएको बिना चिन्नु । यस पुस्तकको प्रचार दौरान एक कलेजमा पुग्दै उनले विद्यार्थीलाई भनेका थिए, 'तिमीहरू पनि करोडौं कस्तुरीमध्ये एक हौ, प्रत्येक मान्छेभित्र कस्तुरीको बिनामा जस्तो सुगन्ध हुन्छ र त्यसलाई चिन्ने क्षमता हुनुपर्छ ।' उनले जीवन आफ्नो मर्जीले चलाउनुभन्दा आफैंले देखेको बाटोमा हिँड्न सुझाउँदै थिए । खुला आँखाले मान्छे पढ्नु र समाज हेर्नु उनी किताबी ज्ञानभन्दा ठूलो कुरा मान्छन् । आफ्नो पुस्तककै एक प्रसंगमा उनले कतै भनेका छन्, 'विश्वविद्यालयबाट बाहिर निस्केर हेर । बाहिरको आकाश खुला हुन्छ । विश्वविद्यालयमा बत्तीको उज्यालो हुन्छ, बाहिर सिंगो सूर्य हुन्छ ।'
प्रतिक्रिया दिनुहोस !
