'रिजल्ट आएपछि खिन्न भएँ
कुरा ०३५ सालतिरको हो । वर्षाको सिजन । खेतमा काम गर्दै थिएँ । एसएलसीको रिजल्ट भयो रे भन्ने खबर आयो । खेतबाट काम छाडेर टेलिकमको अफिस पुगें । गोरखापत्र गाउँमा पुग्न ६/७ दिन लाग्थ्यो । कि कोही आफन्त काठमाडौंमा हुनुहुन्थ्यो भने खबर गर्ने चलन थियो । त्यतिबेला टेलिफोन र मोबाइलको खासै सुविधा थिएन । त्यहाँ आवा (आकाशवाणी) बाट सन्देश आउँथ्यो ।
छोटो शब्दमा सन्देश आउँथ्यो । सन्देश बुबाको नाममा आएको रहेछ । सेकेन्ड डिभिजनमा पास भएको रहेछु । रिजल्ट सुन्नेबित्तिकै मनमा अलि खिन्नता भयो र सँगसँगै खुसी पनि । फस्र्ट डिभिजनमा पास हुने चाहना थियो । तर, सेकेन्ड डिभिजनमा भएँ । शिक्षक र साथीहरूले पनि मलाई फस्र्ट डिभिजनमै पास हुन लायक देख्नुभएको थियो । फस्र्ट डिभिजन आउँछ र म साइन्स पढ्छु भन्ने इच्छा थियो । दुई प्रतिशतले गर्दा फस्र्ट डिभिजन आएन । पछि मानविकी संकायमा पढें।
हाम्रो पालामा दाङमा बोर्डिङ स्कुल थिएन । सरकारी स्कुल पद्मोदय पब्लिक व्यावसायिक माध्यमिक विद्यालयमा पढें । पास भएपछि पुलिसमा आउँछु भन्ने थिएन । साइन्स नै पढ्छु भन्ने थियो । स्कुलमा पढ्दा साइन्सका आविष्कार र दैनिक जीवनयापनमा पनि साइन्सको भूमिका देखेपछि कसरी हुँदो रहेछ भन्ने जिज्ञासा मेट्न पनि साइन्सले मलाई तान्यो । ट्युसन कक्षा लिइनँ । परिवारको कान्छो सदस्य भएकाले पनि सानो बेलामा मात्रै घरमा शिक्षक राखेर पठनपाठन भयो । दुई जना दाजु आआफ्नो काममा व्यस्त भएकाले पनि उहाँहरूबाट पठनपाठनमा खासै सहयोग नपाएको हो ।
पढाइ/लेखाइमा खासै अप्ठ्यारो महसुस भएन । एसएलसी दिन आफूले आफैंलाई प्रिपियर भएर सम्भावित प्रश्नहरूको हल गर्दै अगाडि बढियो । मिहिनेत गर्दागर्दै पनि आफूले सोचेको पूरा भएन । आमाबुबाले धेरै तनाव नलिन सुझाउनुभयो । साइन्स नपढ्ने भएपछि गाउँकै क्याम्पसमा भर्ना गरें । (प्रहरी महानिरक्षीक प्रकाश अर्यालसँग अन्नपूर्णकर्मी सुवास गोतामेले गरेको कुराकानीमा आधारित)