अवसरै अवसर भएको मानविकी संकाय

अवसरै अवसर भएको मानविकी संकाय

काठमाडौं : ज्ञानको पनि ज्ञान भनेर मानिएको मानविकी संकाय विद्यार्थीका लागि अवसर रै अवसरको संकाय हो । विद्यार्थीलाई विज्ञान पढेर वैज्ञानिक बन्ने, व्यवस्थापन पढेर बैंकमा जागिर खाने अनि शिक्षा पढेर शिक्षक बन्नुभन्दा अर्को कुनै अप्सन छैन । तर, मानविकी संकायमा विज्ञान तथा व्यवस्थापन संकायजस्तो सीमितता छैन । यसलाई पूर्ण देश सञ्चालन गर्ने संकायका रूपमा लिन्छन् विज्ञहरू ।

कुनै सयम यस्तो पनि थियो कि विश्वविद्यालय भनेकै मानविकी संकाय हो । देशको इतिहास र देशलाई बुझ्न अध्ययन गरिने यो संकायमा आज केही परिवर्तन भएको छ । आज मानविकी संकाय भनेको दर्शन, भाषा अनि पृथक् ज्ञानको भण्डार भएको छ । तर, यसले प्रदान गर्ने अवसर भने जीवितै छ । सानादेखि ठुल्ठूला प्रोजेक्ट ह्यान्डल गर्न सक्ने व्यक्तित्व यो संकायले बजारलाई दिएको छ । त्यसैले त आज देशको हरेक अंगमा मानविकी संकायका प्रोडक्ट पुगेका छन् । देशको प्रशासनिक क्षेत्रमा आबद्ध ठूलो संख्या मानविकी संकायमार्फत उत्तीर्ण भएका विद्यार्थी हुन् ।

त्रिभुवन विश्वविद्यालय मानविकी संकायका प्रमुख शिवलाल भुसालका अनुसार मानविकी संकाय अध्ययनका लागि एउटा आकर्षण र ठूलो क्षेत्र हो । तैपनि, यसमा पछिल्लो समय विद्यार्थीको चासो घट्दै गएको छ । कारण, हाम्रो समाजले यस्तै बाटो सिर्जना गरिदिएको छ । मानव समाज अनि त्यही समाजको सामाजिक जीवनयापनलाई सम्बोधन गर्ने विषय भए पनि समाजबाटै बहिष्कृत हुँदै गएको छ । समाजमा छोरा भए इन्जिनियर, छोरी भएर नर्स बनाउनुपर्छ भन्ने सोचले प्रभाव पारेको छ । त्यसैले एसईई पछिको अध्ययनका लागि बाबुआमाले छोरालाई विज्ञान अनि छोरीलाई हेल्थ असिस्टेन्ट(एचए) मा जोड दिन्छन् । जसले गर्दा पछिल्लो समय विज्ञान तथा व्यवस्थापन विषयमा अध्ययन गर्ने विद्यार्थीको संख्यामा उल्लेखनीय रूपमा वृद्धि भएको छ ।

अर्कोतर्फ विदेशको आकर्षणले पनि यो संकायमा असर परेको छ । विज्ञानजस्तो टेक्निकल विषयको अध्ययनपछि सहज रूपमा विदेश जान पाइन्छ भन्ने सोचले विद्यार्थी आफैं पनि प्लस टुमा विज्ञानलाई प्राथमिकता दिन्छन् । तर, मानविकी पढेर देशमा भएको अवसरलाई अँगाल्न नसक्नु पनि विद्यार्थीको कमजोरी भएको बताउनुहुन्छ, प्रमुख भुसाल ।

विश्वको अध्ययन र अध्यापन शैलीलाई नेपालको शैलीसँग तुलना गरेर हेर्ने हो भने हाम्रो अध्ययन शैली फरक छ । अमेरिकालगायत युरोपियन मुलुकमा मानविकी उत्कृष्ट विद्यार्थीले पढ्ने विषय हो । तर, नेपालमा उल्टो भएको बताउनुहुन्छ काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक निर्मलामणि अधिकारी । उहाँका अनुसार युरोपका देशमा मनविकी संकायबाट उत्तीर्ण भएका विद्यार्थी भनेको ज्ञानका खानी हुन् । उनीहरूसँग सैद्धान्तिक मात्र नभएर प्रयोगात्मक शिक्षा पनि त्यही रूपमा रहेको हुन्छ ।

नेपालमा पनि मानविकी संकायभित्र रहेको कतिपय अध्ययनका विषय त्यस्तै छन् । जसले विद्यार्थीलाई सैद्धान्तिक र प्रयोगात्मक दुबै शिक्षाको सही ज्ञान प्रदान गरेको छ । फरक के भने यहाँ कमजोर विद्यार्थीले अध्ययन गर्ने संकायका रूपमा मानविकीलाई लिइएको छ । नेपालमा यसले प्रभाव पार्ने क्षेत्र र यसले समेटेको अवसरलाई कसैले अंगीकार गर्न सकेकै छैनन् । उहाँका अनुसार मानविकी अध्ययनपछिको अवसर यो मात्र हो भन्ने छैन । हरेक क्षेत्रको प्रशासनिकदेखि आन्तरिक कार्यक्षेत्रमा पनि मानविकी संकायबाट उत्तीर्ण विद्यार्थी पुगेका छन् । यतिसम्म कि व्यवस्थापन अध्ययन गरेर बैंकमा काम गर्ने, विज्ञान पढेर इन्जिनियर अथवा वैज्ञानिक भएर काम गर्ने भन्दा माथि रहेर त्यसको प्रशासनिक क्षेत्र समाल्ने काम पनि यिनैले गरेका छन् ।

शिदार्थ मल्टीपल कलेजका प्रमुख श्रीराम शर्माका अनुसार मानविकीविना हरेक क्षेत्र अपांग छ । समाजको परिकल्पनादेखि समाज विकाससम्मको हरेक पक्षमा मानविकीको संलग्न छ । उहाँका अनुसार मानिसमा शिक्षा पढेर शिक्षक बन्छु भन्ने सोच छ तर मानविकी पढेर देश चलाउँछु भन्ने सोच बोक्न सकेका छैनन् । यदि, ठूलो सोच राख्ने र गर्न सक्छु भन्ने भावनाको विकास गर्ने हो भने मानविकी अवसरको खानी हो । त्यसका लागि विद्यार्थी स्वयंले आफ्नो रुचि र भविष्य निर्धारण गर्नु सक्नुपर्छ । जस्तो, सानैदेखि विज्ञान, प्रविधि, आविष्कार, अन्वेषणका कुरामा रुचि र लगाव भएको विद्यार्थीले विज्ञानमा राम्रो गर्न सक्छ ।

व्यापार, व्यवसाय र व्यवस्थापकीय कला तथा प्रतिभा बोकेर आएकाले भविष्यमा बैंक, वित्तीय संस्था, बहुर्राष्ट्रिय कम्पनीमा आफ्नो स्थानबारे कल्पना गर्न सक्छन् । त्यस्तै, देश र समाजलाई बुझ्न चहानेले मानविकी संकायलाई आफ्नो रोजाइको राख्न सक्छन् । मानविकी संकायमा पनि विद्यार्थीले अनेकौं विषय छानेर पढ्न सक्छन् । अहिले नेपालमा प्लस टुदेखि लिएर एमएसम्म ३८ भन्दा बढी विषयम यो संकायमा रहेको बताउनुहुन्छ, मानविकी संकायका प्रमुख भुसाल । त्यसमा पनि समाजशात्र, राजनीतिशात्र, पत्रकारिता र अन्तर्राष्ट्रिय सम्बन्धमा ठूलो संख्यामा विद्यार्थीले रुचाएका विषय हुन् । नेपालमा अहिले समाजशात्र, राजनीतिशात्र, पत्रकारिता र अन्तर्राष्ट्रिय सम्बन्धका साथै, भाषा, अर्थशास्त्र, टुरिजम, फेसन डिजाइन, गुड गभर्नेन्स, सामाजिक उद्यमशीलता, सोसल वर्क, साइकोलोजी, एन्थ्रोपोलोजीलगायत विषय यसमा छन् ।

समाज परिवर्तन सँगसँगै पछिल्लो समय यी विषयमा पनि ठूलो परिवर्तन आएको छ । मानव समाज र सामाजिक जीवनयापनलाई सम्बोधन गर्ने विषय भएकै कारण पनि समाजसँगै यी विषयमा परिवर्तन भएको बताउनुहुन्छ उपप्राध्यापक अधिकारी । उहाँका अनुसार जसरी मानव समाजको विकास भइरहेको छ, यसमा पनि त्यहीअनुरूप नयाँ-नयाँ कुराले स्थान पाएका छन् । कुनै समय इतिहास भनेर समाजको इतिहास पढिन्थ्यो । आज समाजको इतिहास समाजशास्त्रमा समेटिएको छ भने मानवको इतिहास मानवशास्त्रमा ।

यो परिवर्तन विज्ञानमा तथा व्यवस्थापन संकायमा पनि नभएको भने होइन । तर, समाज जस्तो विकास र परिवर्तित अन्य क्षेत्र नभएकै कारण मानविकी अध्ययनमा आमूल परिवर्तन भएको छ । जुन आवश्यक पनि हो । यसले मानविकीको दायरालाई अझ फराकिलो बनाएको छ । देश विकासका क्रममा रहेकाले अवसर अझ बढी सिर्जित हुँदै गएका छन् । त्यसैले अध्ययन भनेको विज्ञान मात्र नभई अन्य विषय पनि हो भन्ने सोच्न अब विद्यार्थीले जरुरी बनेको छ । त्यसमा पनि प्लस टु अध्ययन भनेको विद्यार्थीका लागि पहिलो खुड्किला हो । त्यसका लागि जान्नेले विज्ञान नजान्नेले मानविकी भन्ने सोचको अन्त्य गर्न जरुरी रहेको प्राध्यापकहरूको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.