घडियाल गोहीलाई भालेको अभाव, संरक्षण केन्द्रमा एउटा मात्र भाले

कसरा (चितवन) : नेपालको चितवन र बर्दियामा मात्र पाइने घडियाल गोही भाले गोहीको अभावमा संकटमा परेको छ । घडियाल संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जमा स्थापना गरिएको संरक्षण केन्द्रमा रहेका दुई वटा भालेमध्ये एउटा केही दिनअघि मरेपछि घडियाल गोहीलाई भालेको अभाव भएको हो । राप्ती नदीमा रहेको एउटा भाले घडियाल गत महिना मरे पछि राप्ती र नारायणीमा रहेका एक सय ६५ वटा पोथी प्रजननको अवसरबाट बञ्चित भएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भाले घडियालको अभावले आफूहरु चिन्तित बनेको बताउनु भयो । ‘घडियालको संख्या वृद्धि र संरक्षणका लागि भालेको आवश्यकता पर्छ’ उहाँले भन्नुभयो, ‘नदीमा भएको एकमात्र भाले घडियाल मरेपछि चिन्ता थपिएको छ । समस्या समाधानका लागि हामीले भारतको कतर्नियाघाट नजिकै बर्दियाको बबई नदीबाट घडियालको भाले छोपेर ल्याउन पहल सुरु गरिसकेका छौँ ।’
घडियाल संरक्षण केन्द्रमा प्रजनन योग्य १२ वटा पोथी घडियालको लागि एउटा मात्र भाले रहेको उहाँले जानकारी दिनुभयो । बर्दियाको बबई नदीमा ३० वटा घडियाल छन् । त्यहाँ तीन वटा भाले घडियाल रहेको अनुमान छ ।
सफा पानीयुक्त नदीमा बस्ने घडियाल गोही सफा र स्वच्छ पानीको सूचक भएको प्रमुख संरक्षण अधिकृत कँडेल बताउनु हुन्छ । ‘जुन नदीमा घडियाल पाइन्छ, त्यहाँको पानी सफा छ भन्ने बुझिन्छ’ उहाँले भन्नुभयो, ‘घडियाल पाइने नदीमा शहर माछा र सोँस (डल्फिन) पनि पाइन्छ । वन्यजन्तुले नदीको पानी पिउने र नदी वरपरको घाँस चर्ने भएकोले नदी सफा राख्न आवश्यक छ ।
घडियाल लोप भएर गयो भने नदीको पानी सफा र स्वच्छ छ कि छैन भन्ने छुट्याउन प्रयोगशाला परीक्षण नै गर्नुपर्ने हुन्छ ।’ नदीको पानी सफा र स्वच्छ नरहे बाघ, गैँडालगायतका वन्यजन्तुलाई असर पर्ने उहाँले बताउनु भयो ।
निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै घडियाल गोही र कछुवा संरक्षण केन्द्र स्थापना गरिएको छ । सन् १९७९ मा स्थापित संरक्षण केन्द्रले पहिलो पटक सन् १९८१ देखि नदीमा घडियाल छोड्न शुरु गरेको हो । पहिलो वर्ष नारायणीमा ५० वटा घडियाल छाडेपछि शुरु भएको यो कार्यलाई निरन्तरता दिँदै केन्द्रबाट हालसम्म चितवनका रापती, नारायणी र बर्दियाको बबई नदीमा एक हजारभन्दा बढी घडियाल गोही छाडिएका छन् । केन्द्र संचालनको लागि सरकारले वार्षिक ५० लाख रुपैयाँ बजेट उपलब्ध गराउँदै आएको छ । केन्द्रमा रहेका घडियाललाई माछा ल्याएर खुवाइन्छ ।
घडियाल संरक्षण केन्द्र कसरामा अहिले पाँच सयको हाराहारीमा घडियाल गोही रहेको केन्द्र प्रमुख सहायक संरक्षण अधिकृत वेदबहादुर खड्का बताउनु हुन्छ । घडियाल गोहीका भर्खरै जन्मिएका बच्चा बाहिरी वातावरणमा एक प्रतिशतमात्र बाँच्ने हुनाले घडियाल संरक्षणका लागि केन्द्रको स्थापना गरिएको उहाँले बताउनु भयो । स्थापनाकालका १० वटा घडियाललाई अलग्गै ठूलो पोखरीमा संरक्षण गरिएको छ भने अन्य स–साना पोखरीमा घडियाल गोहीका बच्चा राखिएको छ ।
चैत महिना घडियाल गोहीले फुल (अण्डा) पार्ने समय हो । चैतको अन्त्यसम्म पोथी घडियालले राप्ती नदी किनारको बालुवामा ५० सेन्टिमिटरसम्म गहिरो खाल्डो बनाएर अण्डा पार्ने गर्दछ । घडियालले एकपटकमा ५० वटा अण्डा पार्छ । घडियालले अण्डालाई खाल्डोमा दुईदेखि तीन तह बनाएर बालुवाले पुर्ने र ती केही अण्डाहरु खोजेर संरक्षण केन्द्रमा ल्याउने गरिएको खड्काले बताउनु भयो ।
अण्डालाई ३० देखि ३२ डिग्री तापक्रममा राखेपछि त्यसबाट ७० देखि ९० दिनमा बच्चा निस्कन्छ । अण्डाबाट भाले निकै थोरै र पोथी धेरै निस्कने खड्काले जानकारी दिनुभयो । घडियालको वंशाणुगत गुण र क्रोमोजोमको बनावटले पोथी धेरै जन्मने गरेको उहाँले स्पष्ट पार्नुभयो । घडियाल गोहीको नवजात बच्चा ३० सेन्टिमिटरसम्म लामो हुन्छ । वयस्क घडियाल सामान्यतया पाँच मिटर लामो हुन्छ ।
प्रतिक्रिया दिनुहोस !
