खेलको आडमा मानव तस्करी

खेलको आडमा मानव तस्करी

काठमाडौं : ‘उहाँको पृष्ठभूमि र प्रोफाइल हेर्दा हामी क्यानडा जानेमा ढुक्क थियौं। दरबारमार्गस्थित उहाँको भव्य अफिसमा पुग्दा उहाँले बोलेको कुरा झूटो हो भनेर शंका गर्ने ठाउँ नै हुँदैन’, टेकुस्थित महानगरीय अपराध महाशाखामा बिहीबार दिउँसो राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक तथा नेपाल आइस हक्की संघका अध्यक्ष लोकबहादुर शाहीबारे एक युवक भन्दै थिए।

ती युवकको कुरामा समर्थन गर्दै थिए, करिब आधा दर्जन युवा। त्यसको केही घण्टा अघिमात्र अपराध महाशाखाको टोलीले शाहीलाई टोखाबाट पक्राउ गरेको थियो। यी सबैजना शाहीबाट ठगिएका थिए।

क्यानडा पठाइदिन्छु भन्दै शाहीले २५ युवालाई ठगेका थिए, जसमा अधिकांश २० देखि ३० वर्ष उमेरका छन्। पीडित २५ जनामध्ये शाहीले कसैलाई खेलाडी, कसैलाई प्रशिक्षक त कसैलाई टिम म्यानेजर बनाएका थिए।

क्यानडा जाने आशामा आधा दर्जन युवकले सशस्त्र प्रहरी बल (एपीएफ) को जागिरसमेत छाडेको र केहीले आफ्नो व्यवसायसमेत बेचेको पीडितले बताएका छन्। क्यानडामा मे १५ देखि २५ तारिखसम्म मैत्रीपूर्ण फुटबल खेल आयोजना हुन लागेको र त्यसमा सहभागी गराएर सबैलाई उतै छाड्ने आश्वासन शाहीले ती युवालाई दिएका थिए। शाहीले मैत्रीपूर्ण खेलका लागि २५ जनाको टोली तयार गरे र प्रत्येकबाट २ लाख ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म उठाए।

ती युवायुवतीले क्यानडा पुगेपछि कमाएर १० लाख रुपैयाँ दिनुपर्ने सर्त थियो। कुुसुन्ती युथ क्लब ललितपुरको नाममा शाहीले क्यानडा पठाउन लागेको बताएका थिए। शाहीले टोरन्टोस्थित आयोजकले कुसुन्ती युथ क्लबका नाममा पठाएको पत्र देखाएर युवायुवतीलाई विश्वस्त बनाएका थिए। शाहीको योजना थियो, खेल्ने बहानामा क्यानडा पु¥याउने र सबैलाई उतै छाडिदिने।

‘उहाँले यसअघि पनि थुप्रै ठाउँमा मान्छे पठाएको हामीले बुझ्यौं। धेरै बुझेपछि मात्र हामीले नफस्ने पक्का भएर पैसा बुझाएका थियौं तर हामीचाहिँ जान पाएनौं’, ललितपुरको भैंसेपाटी बस्दै आएका पीडित एक युवकले भने। उनले क्यानडा जाने भएपछि एपीएफको नौ वर्ष पुरानो जागिर छोडेका थिए। ‘क्यानडा जाने भएपछि जागिरको मतलब नै भएन। यताको जागिर टुंग्याएर क्यानडा उड्न तयार हुनतिर लागियो’, ती युवकले भने। उनीजस्तै अन्य तीन युवकले पनि एपीएफको नौ वर्ष पुरानो जागिर क्यानडा जानकै लागि भन्दै छाडेका थिए।

स्पोर्टस् फल अल क्लबका अध्यक्षसमेत रहेका शाहीले यही क्लबको आयोजनामा राष्ट्रियस्तरमा फुटबल प्रतियोगितासमेत आयोजना गराउँदै आएका थिए। उनी केही समयअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशव विष्टलाई लिएर जर्मनी पुगेका थिए। त्यसअघि उनी राखेप सदस्यसचिव विष्टलाई लिएर स्विजरल्यान्ड पनि पुगेका थिए। पीडित युवायुवतीलाई शाहीले आफूले स्विजरल्यान्ड, जर्मनी, अमेरिकाजस्ता देशमा यसरी नै मान्छे लगेर छाड्ने गरेको बताउँदै आएका थिए। यस विषयमा राखेप सदस्यसचिव विष्टसँग बुझ्दा उहाँले स्विजरल्यान्ड र जर्मनीमा तीन–तीनजना गएको र तीनैजना फर्किएको बताउनुभयो।

क्यानडा पठाइदिने भन्दै २५ युवाबाट लाखौं ठगेको आरोपमा राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक तथा नेपाल आइस हक्की संघका अध्यक्ष लोकबहादुर शाही पक्राउ।

पीडित युवाले साथीहरूको सम्पर्कका आधारमा शाहीसम्म पुगेको बताएका छन्। ‘एउटा साथीले यसबारे थाहा पाएपछि अर्कोलाई भन्यो। अर्कोले अर्कोलाई भन्यो। यसरी शाहीले पठाउन लागेका २५ जनामा हामी साथीसाथी मात्र नौजना थियौं’, सिन्धुपाल्चोकका अर्का पीडित युवकले भने।

शाहीले सर्तअनुसार नपठाएपछि र उनी पनि सम्पर्कबाहिर हुन थालेपछि उजुरी लिएर करिब एक महिनाअघि पीडित युवायुवतीको समूह महानगरीय अपराध महाशाखा पुगेको थियो। तर शाही फोन सम्पर्कमा रहे पनि भेट्न मानिरहेका थिएनन्। महाशाखाले शाहीमाथि ठगी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ।

यसरी पक्राउ परे शाही
पीडित युवायुवतीको आक्रोश बढ्दो थियो। उनीहरू शाहीलाई समातेर आफ्नो पैसा कसरी असुल्न सकिन्छ भन्ने उपाय खोज्दै थिए। पीडितमध्येकै एक युवकले एउटा जुक्ति निकाले, शाहीलाई आफूसँग नयाँ २० जना साथी रहेको र उनीहरूबाट पैसा उठाएर पुरानाको पैसा बुझाउने भन्ने। ती युवकको कुरा सुनेर शाही फुरुक्क भए र भेटिहाल्न भने। बिहीबार टोखास्थित एक रेस्टुरेन्टमा भेट्ने सल्लाह भयो। तीनजना पीडित युवाको समूह शाहीलाई भेट्न टोखा पुग्यो।

शाहीले तीनैजनालाई जसरी पनि क्यानडा उडाइदिने र बाँकीको बारेमा पनि चिन्ता नगर्न आग्रह गरिरहेका थिए। यत्तिकैमा पीडितले अपराध महाशाखाको टोलीलाई सम्पर्क गरिसकेका थिए। महाशाखाको टोली त्यहाँ पुग्दा शाही झसंग भए। शाही नेपालले दक्षिण एसियाली खेलकुद (साग)मा पहिलो स्वर्ण पदक जित्दा टोलीका सदस्य थिए।

प्रहरी उदासीन
नेपाली खेलकुदमा मानव तस्करी गर्ने गिरोह सक्रिय छ भन्ने विषय ओपन सेक्रेट जस्तै छ। खेलकुदको नाममा खुलेका अनेक संघको राष्ट्रिय गतिविधि न्यून भए पनि अन्तर्राष्ट्रिय सहभागिता भने प्रशस्तै देखिन्छ। विशेषगरी जापान, कोरिया, अमेरिका र युरोपेली मुलुकमा हुने खेलकुद गोष्ठी र प्रतियोगितामा पदाधिकारी तथा खेलाडी बनाएर लैजाने र उतै लगेर छाड्ने प्रवृत्ति खेलकुद वृत्तमा चर्चा भइरहन्छ। ओलम्पिक खेलकुदसमेत यसबाट अछुतो छैन तर यसतर्फ प्रहरी निकायको ध्यान गएको देखिँदैन।

युवराज लामा राखेप सदस्यसचिव भएका बेला मानवतस्करी कम गर्न भिसा डेस्कको स्थापना र विभिन्न देशका नेपालस्थित दूतावासलाई सरकारी निकायको अनुमतिबेगर सहभागितालाई कडाइ गर्न पत्राचार गरिए पनि त्यसको कार्यान्वयन पक्ष फितलो रहँदै आएको छ। ‘मानव तस्करीमा पीडितले आएर उजुरी नगरेसम्म केही गर्न सकिँदैन’, महाशाखाको ठगी पिलरका एसपी श्याम ज्ञवालीले भन्नुभयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.