आयोगले ३५ जिल्लामा अनुगमन गर्ने

काठमाडौं (अन्नपूर्ण): राष्ट्रिय मानवअधिकार आयोगले असार १४ गते हुने निर्वाचनको समग्र प्रक्रियाको अनुगमन गर्ने भएको छ।प्रदेश नम्बर १, ५ र ७ का, ३५ वटा जिल्लामा मानवअधिकारको सुनिश्चितता सम्बन्धमा अनुगमन गर्न आयोगका अधिकृतसहितको टोली खटिने आयोगले जनाएको छ।
टोलीले राजनीतिक दलले शान्तिपूर्वक भेला गर्न तथा विचार अभिव्यक्त गर्न पाए-नपाएको, राजनीतिक गतिविधिमा बालबालिका प्रयोग भए-नभएको, मतदाता शिक्षा तथा नागरिक सचेतनाको अवस्था, राजनीतिक दलद्वारा निर्वाचनका क्रममा हुनसक्ने मानवअधिकार हननलगायत विषयमा अनुगमन गर्ने बताइएको छ।
त्यसैगरी आयोगका सबै क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालयबाट खटिएका टोलीद्वारा दोस्रो चरण निर्वाचनमा मनोनयन प्रक्रियाको समेत अनुगमन गरिसकेको आयोगले जनाएको छ।
अनुगमन क्रममा, बाजुरा, नवलपरासी, बाँके, सुनसरी, कपिलवस्तु, खोटाङलगायत जिल्लामा भएका झडप, बम विष्फोट तथा आक्रमणक्रममा एकजनाको ज्यान गएको तथा केही व्यक्ति घाइते भएको पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
उक्त घटनाको सत्यतथ्य छानबिन गरी घटनाका दोषीलाई कारबाही गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न तथा घाइतेको निःशुल्क उपचार व्यवस्था गर्न आयोगले सरकारसमक्ष आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस !
