नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले प्रहरी भ्यान बगाउँदा दुई प्रहरीको मृत्यु, दुई बेपत्ता

चिनवन/ गोरखा : नारायणगढ मुग्लिन सडकखण्डको कालीखोलामा शुक्रबार बिहान एक बजे खसेको पहिरोमा परेर दुई जना प्रहरीको मृत्यु भएको छ । प्रहरीको गाडी र अन्य दुई जना प्रहरी बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको छ ।इच्छाकामना गाउँपालिका ६ कालीखोलाको पहिरो पन्छ्याउन गएको प्रहरी सहायक निरीक्षक(असई) निश्चल तामाङ नेतृत्वको टोलीको प्रहरी भ्यानलाई पहिरोले बगाएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले कालीखोलाको पहिरोमा बगेर ना १३ झ १३९० नम्बरको प्रहरी भ्यान त्रिशुली नदीमा खसेको जानकारी दिनुभयो । गाडीमा रहेका चार जना प्रहरीमध्ये प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र प्रहरी जवान दीपककुमार मास्केको शव फेला परेको छ भने प्रहरी जवानद्वय सन्दीप कार्की र लिलाबहादुर चेपाङ पहिरोमा हराएका छन् । प्रहरी चढेको गाडी र प्रहरीसँग रहेको दुई थान हतियार (एसएलआर) फेला परेको छैन ।
‘बिहीबार राति पौने दस बजे मुग्लिन नजिकै चारकिलोमा पहिरो गएको भन्ने जानकारी पाएपछि प्रहरी टोली त्यसतर्फ गएको थियो' प्रहरी नायब उपरीक्षक श्रेष्ठले भन्नुभयो, ‘चारकिलोमा बाटो एकातर्फी खुलाएर भरतपुर फर्कने क्रममा शुक्रबार बिहान एक बजे प्रहरी टोली कालीखोलाको पहिरोमा परेर दुःखद घटना भयो । दुई जनाको शव फेला परेको छ । अन्य दुई जना प्रहरी, गाडी र हतियारको खोजतलास जारी राखेका छौँ ।'
कालीखोलाको पहिरोमा परेर ना ५ ख ७८२७ नम्बरको ट्रक पनि बेपत्ता छ । ट्रकका चालक रामकुमार लामा र सहचालक सिजन लामा घाइते अवस्थामा भेटिएका छन् । सहचालक सिजन लामा गम्भीररुपमा घाइते भएकोले उपचारका लागि तनहुँको आँबुखैरेनी पठाइएको प्रहरीले जनाएको छ । गत बैशाखमा नारायणगढ मुग्लिन सडकखण्डको घुमाउनेमा पहिरो खस्दा दुई जनाको ज्यान गएको थियो । मनसुनी वर्षा सुरु भएसँगै नारायणगढ मुग्लिन सडकखण्डको यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।
घटनास्थलमा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिरहेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी उपरीक्षक दीपक थापासहितको सुरक्षा टोली परिचालन भएको हो । इप्रका मुग्लिन र जिल्ला प्रहरी कार्यालय चितवनको टोली, सशस्त्र प्रहरीको विपद व्यवस्थापन तालिम केन्द्रको टोली र चितवनस्थित नेपाली सेनाको टोली खोज तथा उद्धारमा खटिएक छ ।
प्रतिक्रिया दिनुहोस !
