पुनर्वासमा सीमास्तम्भ निर्माणबारे नेपाल-भारत विवाद कायमै

पुनर्वासमा सीमास्तम्भ निर्माणबारे नेपाल-भारत विवाद कायमै

कञ्चनपुर : नेपाल-भारत सीमाअन्तर्गत कञ्चनपुरको पुनर्वासमा सीमास्तम्भ र पूर्वाधार बनाउने विषयमा दुई देशबीच विवाद कायमै देखिएको छ ।नेपाल र भारतका नापी अधिकारीहरूको उपमहानिर्देशकस्तरीय छैटौं बैठकमा पुनर्वासमा सीमास्तम्भ बनाउने विषयमा सहमति नजुटेको हो । भेटमा सहभागी अधिकारीका अनुसार पुनर्वासमा सीमास्तम्भ र पूर्वाधार बनाए नेपाली भूमि भारततर्फ पर्ने देखिएका कारण नेपालले त्यसमा असहमति राखेको छ ।

स्रोतका अनुसार बैठकमा भारतीय पक्षले सीमास्तम्भ र पूर्वाधार निर्माण तत्काल हुनुपर्ने धारणा राखेको थियो । तीन महिनाअघि पुनर्वासस्थित सीमा क्षेत्रमा कल्भर्ट निर्माणका विषयमा नेपालतर्फका स्थानीय र भारतीय सुरक्षा बल एसएसबीच तीव्र विवाद भएको थियो । विवादकै क्रममा भारतीय सुरक्षाकर्मीले गोली हान्दा नेपालका गोविन्द गौतमको मृत्यु भएको थियो ।

नापी विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठले पुनर्वासलगायत अन्य ठाउँमा देखिएका सीमा समस्या चाँडै हल गरिने बताउनुभयो । श्रेष्ठले बैठकमा विगत तीन वर्षमा सीमा व्यवस्थापनबारे भएका गतिविधिको समीक्षा र भावी कार्यदिशाबारे छलफल भएको अन्नपूर्णलाई जानकारी दिनुभयो ।

बैठकमा भारतीय पक्षले सीमा नदीमा जिपिएसजडित अत्याधुनिक सीमास्तम्भ निर्माण गर्ने भनी विगतमा भएको सहमतिअनुसार भारतले चाँडै काम थाल्ने बताएको थियो । नेपाल-भारतबीच सीमा नदीमा १४ सय जिपिएसजडित अत्याधुनिक सीमास्तम्भ निर्माण गर्ने सहमति भएको थियो ।

जिपिएसजडित अत्याधुनिक सीमास्तम्भको डिजाइजन स्वीकृत भइसकेको भए पनि भारतले ती जिपिएसजडित अत्याधुनिक सीमास्तम्भ निर्माण अघि बढाएको छैन । जिपिएसजडित अत्याधुनिक सीमास्तम्भ निर्माण खर्चसमेत भारतले नै व्यहोर्ने सहमति भइसकेको छ । जानकार कूटनीतिक स्रोतका अनुसार भारतीय सशस्त्र सीमा बल र केन्द्र सरकारबीच नेपालका सीमामा स्तम्भ निर्माणबारे आन्तरिक विवाद देखिएको छ ।

नापी विभागका अनुसार विगत तीन वर्षमा ६०३ नयाँ स्तम्भ निर्माण सम्पन्न भएको छ । त्यस्तै, यो अवधिमा कुल ८५५३ सीमास्तम्भमध्ये ४०६० सीमास्तम्भको निरीक्षण सम्पन्न भएको छ । निरीक्षण भएका सीमामध्ये हालसम्म १४६० सीमास्तम्भ मर्मत भएको विभागले जनाएको छ । उपमहानिर्देशकस्तरीय सीमा बैठक सेप्टेम्बरमा भारतमा हुने भएको छ ।

बैठकमा विभागका उपमहानिर्देशक श्रेष्ठले नेपालका तर्फबाट नेतृत्व गर्नुभएको थियो भने भारतका तर्फबाट निर्देशक राजीव श्रीवास्तवले नेतृत्व गर्नुभएको थियो । सन् २०१४ मा बाउन्ड्री वर्किङ ग्रुप गठन भएपछि विवादित कालापानी र सुस्ताबाहेक अन्य स्थानको सीमा व्यवस्थापनको काम अघि बढेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.