केन्द्रमा पहुँच खोज्दै धरान-इटहरी
धरान : विराटनगर, इटहरी र धरानका स्वाभाविक रूपमा आआफ्ना ऐतिहासिक विशेषता छन् र आ-आफ्नै कमजोरी तथा सम्भावना । प्रधानमन्त्रीहरूको गाउँ भनेर चिनिने विराटनगरका दाँजोमा इटहरी र धरान राजनीतिक रूपमा धेरै पछि रहे पनि लाहुरेबस्ती र भौगोलिक विशेषताका कारण धरान तथा मिहिनेती र आर्थिक केन्द्रका रूपमा इटहरी आ-आफ्नै विशेषतासाथ अघि बढिरहेका छन् ।
अन्नपूर्णसँगको संवादमा धरान र इटहरीका जानकारहरूले यी दुई उपमहानगरको सबल र कमजोर पक्ष औँल्याएका छन् । राजनीतिक विद्रोहीको इतिहास बोकेको धरानलाई विकास र राजनीतिको मूलधारमा ल्याउनुपर्ने तथा झुपडीबस्तीबाट माथि उठेको इटहरीलाई कोसी अञ्चलकै आर्थिक केन्द्रका रूपमा स्थापित गर्नुपर्ने चुनौती असार १४ गते चुनिने जनप्रतिनिधिसँग छ ।
धरान उपमहानगर सुन्दर, सफा तथा प्राकृतिक रूपले भरिपूर्ण छ । कुनै समय पूर्वीपहाडी जिल्लाको प्रमुख व्यापारिक केन्द्र धरान शिक्षा र स्वास्थ्यमा अग्रणी मानिन्छ । धरानका विज्ञहरूले लाहुरे र आदिवासी, जनजातिको बाहुल्य रहेको यो सहरमा अव्यवस्थित सुकुम्बासी बस्ती, लागुऔषधको सेवन र कारोबार तथा खानेपानीको अभावलाई प्रमुख समस्याका रूपमा औंल्याए ।
विद्रोही राजनीतिक इतिहास बोकेको धरानले अहिलेसम्म एक जना पनि क्याबिनेटस्तरको मन्त्री पाउन सकेको छैन ।
-डा. राजेन्द्र शर्मा, धरान
धरानमा चुनिने नयाँ जनप्रतिनिधिहरूले यहाँको अभाव र कमीकमजोरी हटाएर समृद्ध धरान निर्माण गर्नुपर्ने पूर्वअञ्चलाधीश तथा राष्ट्रिय पञ्चायत सदस्य सूर्यप्रसाद उपाध्यायको सुझाव छ । धरानलाई समृद्ध बनाउन यहाँको खानेपानी समस्या समाधान गरी यसलाई पर्यटकीय हबका रूपमा विकास गर्न सकिने उहाँ बताउनुहुन्छ । यद्यपि, उहाँ अब चुनिने जनप्रतिनिधिहरूसँग धरानलाई समृद्ध बनाउने योग्यता र क्षमता रहेकामा शंका व्यक्त गर्नुहुन्छ।
प्रकृतिको वरदान : धरान
आधा घन्टा उत्तरतर्फ जाँदा ५ हजार मिटरको उचाइमा पुगिने र आधा घन्टा दक्षिण झरे २ सय मिटरको समतलमा पुगिने धरान भौगोलिक दृष्टिले प्रकृतिको वरदान नै हो । तर, राज्य वा जनप्रतिनिधिले धरानको यो अलौकिक विशेषतालाई भजाउन सकेनन् ।
सुविधासम्पन्न होटलहरू खोलेर विदेशी पर्यटक भित्याउन सके धरानलाई पर्यटकीय क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमै चिनाउन सकिने उपाध्यायको राय छ । पूर्वाञ्चल इन्जिनियरिङ, कलेज, केन्द्रीय प्रविधि क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरोन्नति गरेर धरानलाई शैक्षिक हबका रूपमा समेत विकास गर्न सकिने उहाँले बताउनुभयो । बीपी प्रतिष्ठानको स्वास्थ्य सेवा सन्तोषजनक नरहेको भन्दै उहाँले उपचार गर्न सिलिगुडी, विराटनगर र काठमाडौं जानुपर्ने बाध्यता नयाँ जनप्रतिनिधिले हटाउनुपर्ने सुझावसमेत दिनुभयो ।
जोगबनीदेखि किमाथांकासम्मको ६ लेन मोटरबाटोलाई समयमै सम्पन्न गर्न सके यसले भौतिक समृद्धि भित्याउने उपाध्यायको आकलन छ । धरानलाई सुन्दर र समृद्ध बनाउन सुकुम्बासी समस्या समाधान गर्नुपर्ने पनि उहाँको सुझाव छ ।
धरानलाई सुन्दर र समृद्ध बनाउन सुकुम्बासी र खानेपानी समस्या समाधान गर्नुपर्छ ।
-सूर्यप्रसाद उपाध्याय, धरान
ऐतिहासिक कालदेखि नै धरान विद्रोही राजनीति गर्ने थलो थियो । पृथ्वीनारायण शाहले विजयपुर अर्थात् धरान राजधानी भएको लिम्बुवान राज्यलाई एकीकरण गरेपछि धरानमा विद्रोहको राजनीति सुरु भएको महेन्द्र बहुमुखी क्याम्पस धरानका प्राध्यापक डा. राजेन्द्र शर्मा बताउनुहुन्छ । त्यस बेलादेखिको विद्रोहको राजनीति हालसम्म पनि जीवितै रहेको र कांग्रेस, एमाले र माओवादी केन्द्रलगायत दलका नेता अझै मूलधारको राजनीतिमा पुग्न नसकेका कारण धरानले सोचेअनुसार प्रगति गर्न नसकेको शर्माको भनाइ छ ।
'धरानलाई राज्यले हेर्ने दृष्टिकोण नै फरक छ,' शर्मा भन्नुहुन्छ, '०४६ र ०६२/६३ को परिवर्तनपश्चात् पनि धरानले अहिलेसम्म एकजना पनि क्याबिनेटस्तरको मन्त्री पाउन सकेको छैन ।'प्राकृतिक रूपले सुन्दर र सफा हुनु र जातीय सद्भाव कायम रहनु धरानको सकारात्मक पक्ष रहेको डा. शर्मा बताउनुहुन्छ । बीपी प्रतिष्ठान र लाहुरे भर्तीकेन्द्र धरानको अर्को आकर्षण रहेको शर्मा बताउनुहुन्छ ।
कोसी राजमार्ग र मध्यपहाडी राजमार्गबीच रहेको धरानलाई सांस्कृतिक, धार्मिक र साहसिक पर्यटन हबका रूपमा विकास गर्न सके समृद्ध सहरका रूपमा चिनाउन सकिने शर्माको सुझाव छ । पर्यटन विकासका लागि रिङरोड र दीर्घकालीन खानेपानी समस्या समाधानका लागि कोसी उच्च बाँधलाई सम्पन्न गर्नुपर्ने र साहसिक खेलहरू साइक्लिङ र प्याराग्लाइडिङलाई व्यवस्थित गर्नुपर्ने शर्माले बताउनुभयो ।
धरानका खहरेखोला सर्दु, सेउती र अन्य खहरेखोलामा तटबन्ध निर्माण गरी खोलाकिनाराको खाली जग्गालाई औद्योगिक करिडोरका रूपमा स्थापित गर्नुपर्ने र नयाँ मापदण्डअनुसार धरानमा भूकम्पप्रतिरोधात्मक घर निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । खोला किनारा र पहिरोनजिक रहेका मानवबस्ती हटाएर धरानका विष्णुपादुका, पिण्डेश्वर, दन्तकाली, बूढासुब्बा मन्दिरसम्म जाने मोटरबाटोको स्तरोन्नति गरी धार्मिक पर्यटकको तीर्थयात्रामा सहज बनाउनुपर्ने उहाँको सुझाव छ । लागुऔषधको कुलतमा फसेका युवालाई सुधारगृहमा राखी सीपमूलक तालिमको माध्यमबाट समाजमा पुनःस्थापित गर्न सके र बेरोजगार युवालाई रोजगार प्रदान गर्न सके सुन्दर धरानको निर्माण गर्न सकिने शर्माको सुझाव छ । बेलायत पलायन भएका लाहुरे परिवारलाई धरान फर्काउन सके यहाँको विकासमा थप टेवा पुग्ने उहाँको विश्वास छ ।
झुपडीबाट उपमहानगर : इटहरी
कोसी र महेन्द्र राजमार्ग आपसमा जोडिनु अघिसम्म इटहरी पूर्वको सानो गाउँ मात्र थियो । इटहरीका ठाउँ-ठाउँमा चौधरी समुदायको बस्ती थियो त्यो समयमा हरैंचा, दुहबी, विराटनगर र धरान ठूला बजार थिए । इटहरी खेती गर्नेहरूको सहरबाट विस्तारै मजदुरको सहर बन्यो । आज इटहरी व्यापारीहरूको सहर भनेर चिनिन थालेको छ ।
इटहरीले वरपरका सबै बजारलाई आफ्नो राजमार्गको आकर्षणले तानेको छ । पूर्वमा इटहरीको बजार यातायात र सुरक्षा दृष्टिले आकर्षक मानिन्छ । त्यसैले यो ठाउँ चारैतिरका व्यापारीहरूको केन्द्र बनेको छ ।जनसंख्या र विकासको तीव्र वृद्धि इटहरीको परिचय बनेको छ । बसोबास र व्यापारको दृष्टिले पनि इटहरी पूर्वको केन्द्र बन्दै छ । इटहरी जति धेरै चलायमान छ, त्यति नै धेरै यसका आवश्यकता छन् ।
भौतिक चुनौती इटहरीमा बढी छ, सडक र पूर्वाधार विकासमा पहिलो ध्यान दिनुपर्छ ।'
-लेखनाथ घिमिरे, इटहरी
२० वर्षसम्म कर्मचारीले स्थानीय निकाय चलाउँदा जनताका आवश्यकता र इटहरीको विकासलाई ख्याल नगरेको इटहरीका शिक्षासेवी लेखनाथ घिमिरे बताउनुहुन्छ । 'जनप्रतिनिधि नहुँदा पनि इटहरी पछि प¥यो, कसलाई गएर समाउने ? ' इटहरीको राजनीतिक लबिङ क्षमता नै कमजोर रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, 'अब भने जितेर गएका मानिसले विकास गर्न सकेनन् भने जनताले नेता मात्र होइन, पार्टी पनि त्याग्छन्, यो जनप्रतिनिधिको अन्तिम मौका हो ।'
उहाँको विचारमा इटहरीवासी सडक, ढलदेखि खोलानालाको सफाइ तथा सौन्दर्यीकरणसम्म चाहन्छन् । घिमिरेको विचारमा इटहरीले चाहेको सबैभन्दा महत्वपूर्ण यहाँको सडक सुविधा हो । 'भौतिक चुनौती इटहरीमा बढी छ,' उहाँले भन्नुभयो, 'सडक र पूर्वाधार विकासमा पहिलो ध्यान दिनुपर्छ ।' भौतिक विकासले मात्र सहर पूर्ण बन्न नसक्नेमा घिमिरे सचेत हुनुहुन्छ । 'अरूले आध्यात्मिक वा पुरातनवादी भयो पनि भन्लान्,' उहाँ भन्नुहुन्छ, 'तर भौतिकसँगै आत्मिक र सांस्कृतिक विकास पनि हुनुपर्छ, त्यसले सभ्यताको विकास गर्छ ।'
इटहरीमा बसोबास सुरु गर्ने थारू समुदाय अहिले आगन्तुक जाति र संस्कृतिका कारण छायामा पर्दै आएको छ । त्यसलाई उजागर गर्ने र जातजाति तथा संस्कृतिको मिश्रित बसोबास रहेको इटहरीको सांस्कृतिक पक्षको संरक्षण र विकास गर्नुपर्नेमा घिमिरे जोड दिनुहुन्छ ।
सुकुम्बासी भनिएका ९० प्रतिशत गैरसुकुम्बासी छन्, वास्तविक सुकुम्बासी व्यवस्थापनमा समस्या छ ।
रमेश विष्ट, इटहरी
अबको जनप्रतिनिधि प्रविधिमैत्री हुनुपर्ने घिमिरेको जोड छ । 'फेसबुक नै चलाउन नजान्ने उम्मेदवारहरूले इटहरीको विकास कसरी गर्लान्,' उहाँले भन्नुभयो, 'भारत तथा चीनका नगर र महानगरसँग भगिनी सम्बन्ध विकास गरेर इटहरीले प्रविधि र विकासको पाटोमा अघि बढ्नुपर्छ ।' उहाँले नगरवासी जन्मेदेखि मृत्युसम्मको हरेक गतिविधिको रेकर्ड राख्ने पद्धतिसमेत बनाउनुपर्नेमा उहाँको जोड छ ।
राजमार्ग तथा उब्जाउ भूभागका कारण इटहरीमा आवादी बढेको उहाँको ठम्याइ छ । पानीको पर्याप्तता, यातायातको सुगमता र मौसमको अनुकूलताको कारण इटहरी आकर्षक बसोबासस्थल बनेको उहाँ बताउनुहुन्छ । इटहरीमा बसेर धरान र विराटनगरका सुविधासमेत लिन सकिने भएकाले यो ठाउँ पूर्वकै केन्द्र भएको घिमिरे बताउनुहुन्छ ।
इटहरीमा ०२० सालयता बसोबास गर्दै आउनुभएका रमेश विष्ट इटहरीको इतिहासको जानकारसमेत हुनुहुन्छ । उहाँका अनुसार इटहरीको विकास राजमार्गका कारण भएको हो । त्योसँगै ०५४ सालको स्थानीय तहको निर्वाचन पनि इटहरीको विकासमा महत्वपूर्ण खुड्किलो रहेको विष्ट बताउनुहुन्छ । 'त्यसपछि धेरै विकास निर्माणका काम भए, त्यसले बसोबास र व्यापार बढायो,' उहाँले भन्नुभयो ।
विष्टका भनाइमा इटहरीमा सुकुम्बासी समस्या मुख्य चुनौती हो । सुकुम्बासी भोटका लागि प्रयोग हुने हुँदा सुकुम्बासी नियन्त्रणमा राजनीतिक दल पनि मौन बसेको उहाँको आरोप छ । '९० प्रतिशत गैरसुकुम्बासी छन्,' उहाँ भन्नुहुन्छ, 'उनीहरूको कारण वास्तविक सुकुम्बासी व्यवस्थापनमा समेत समस्या छ ।'
इटहरीको विकासका लागि राजनीतिक दलमा इमानदारी चाहिने विष्टको जोड छ । अहिले इटहरीमा विभिन्न पार्टीबाट उठेका उम्मेदवार केही छाडेर बाँकी सबै इमानदार र सक्षम रहेको उहाँको विश्लेषण छ । विष्ट यहाँका थारू समुदायका लागि पनि जनप्रतिनिधिले काम गर्नुपर्ने बताउनुहुन्छ । 'चौधरी समुदाय खर्चिलो बिहे गर्ने हुँदा एउटा बिहेमै एक दुई बिघा बेचेर जग्गा सकें,' उहाँले भन्नुभयो, 'त्यसको फाइदा पहाडबाट आएकाहरूले उठाए।'
विष्टका अनुसार इटहरीले अहिले धेरै चाहेको अस्पताल हो । 'पहिले थोरै मानिस बस्दा इटहरीलाई अस्पतालको वास्ता भएन, किनकि धरान र विराटनगरमा सुविधासम्पन्न अस्पताल थिए,' विष्ट भन्नुहुन्छ, 'अब सुविधासम्पन्न अस्पताल इटहरीको आवश्यकता भइसक्यो ।'
धरान र इटहरीलाई चारकोसे झाडीले छुट्याएको छ । यो चारकोसे झाडीकै कारण इटहरी र धरान पर्यायवरणीय दृष्टिले रोज्जा बनेका छन् । चारकोसे झाडीलाई सिमाना होइन, पुल ठानेर इटहरी र धरान बृहत् योजनासाथ अघि बढे भने कोसी राजमार्गको ४२ किलोमिटर लम्बाइमा रहेका विराटनगरसहित यी तीन सहर पूर्वकै आर्थिक केन्द्र बन्न सक्छन् ।
धरानका समस्या
- अव्यवस्थित सुकुम्बासी बस्ती
- लागुऔषधको सेवन र कारोबार
- खानेपानी अभाव
- विस्तार गर्न जमिनको अभाव
- कमजोर राजनीतिक नेतृत्व
- धरानका सम्भावना
- सांस्कृतिक, धार्मिक र साहसिक पर्यटन हब
- शिक्षा र स्वास्थ्यको केन्द्र
- कोसी उच्च बाँधको निर्माण र उपयोग
- सर्दु, सेउती र खहरेमा तटबन्ध
- रिङरोड निर्माण
- इटहरीका समस्या
- राजनीतिक पहुँचको कमी
- कमजोर चेतनास्तर
- एउटै अस्पताल नहुनु
- अव्यवस्थित सुकुम्बासी बस्ती
- ढल अभाव र साँघुरा बाटा
- इटहरीको सम्भावना
- सांस्कृतिक संग्रहालय र संस्कृति विकास
- पर्यटन विकास
- कोसी अञ्चलको आर्थिक केन्द्र
- धरान र विराटनगरको केन्द्र
- पूर्वको महत्वपूर्ण आवासीय क्षेत्र