'भारत र चीनसँग फाइदा लिन चुक्यौं'

'भारत र चीनसँग फाइदा लिन चुक्यौं'

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा भारतको तीनदिने भ्रमण सकेर काठमाडौं फर्किनुभएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा दिल्ली आएको भए पनि उपप्रधानमन्त्री महराले यो भ्रमणलाई कूटनीतिक सम्बन्ध विस्तारमा उपयोगसमेत गर्नुभयो । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को अस्थायी सदस्यमा नेपालका लागि समर्थन माग्नु यो भ्रमणको दोस्रो एजेन्डा देखियो । त्यही भएर मन्त्री महराले दिल्ली आइपुगेलगत्तै नेपालसँग कूटनीतिक सम्बन्ध राखेका मुलुकका नियोग प्रमुखहरूसँग नेपाली राजदूतावास परिसरमा दुई चरणमा अन्तरक्रिया गर्नुभयो । प्रस्तुत छ, नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा उपप्रधान तथा परराष्ट्रमन्त्री महरासँग अन्नपूर्णकर्मी आशा थपलियाले गरेको कुराकानी :

सरकार परिवर्तनसँगै परराष्ट्रमन्त्रीले गर्ने भारत भ्रमण अनिवार्य या बाध्यता कस्तो हो ?

त्यस्तो केही होइन । सरकार गठनसँगै परराष्ट्रमन्त्रीको हैसियतमा छिमेकी मुलुकलगायत विदेशीसँगको सुमधुर कूटनीतिक सम्बन्धलाई निरन्तर बनाउन तयार रहेको सन्देश दिन यस्तो भ्रमण गरिने हो । जुनसुकै मुलुकको पनि भ्रमण गर्न सकिन्छ । तर, छिमेकी मुलुकलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ । परराष्ट्रमन्त्री हुनेबित्तिकै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले फोन गरेर बधाई दिने क्रममै भारत भ्रमणको निम्तो दिनुभएको थियो । त्यसकारण पनि मेरो भारत भ्रमण भएको हो ।

भारत आउनुपर्ने अर्को पनि सहायक काम थियो, यहाँबाट नेपाल हेर्ने ८२ कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्य पदमा नेपाललाई समर्थनका लागि लबिङ गर्नु थियो । त्यसैले पनि यो भ्रमण जरुरी भएको हो । मैले ४० भन्दा बढी मुलुकका नियोग प्रमुखहरूलाई भेटें । उहाँहरूले नेपाललाई समर्थन गर्ने आश्वासन दिनुभएको छ । भारतले पनि यसमा समर्थन गर्ने आश्वासन दिएको छ ।

नेपालमा संविधान संशोधन र प्रदेश नम्बर २ को निर्वाचनको विषयमा भारतीय विदेशमन्त्रीसँग के कुरा भयो ?

सबै पक्षलाई समेटेर प्रदेश नम्बर २ मा स्थानीय तह निर्वाचन गराएर प्रदेशसभा र संघीय संसद्को निर्वाचन पनि गराउनेमा हामी अघि बढिरहेका छौं भन्ने कुरा मैले उहाँसमक्ष राखेको थिएँ । संविधान संशोधन यसरी गर्नुस् भनेर उहाँको चासो रहेन, अगाडि बढिरहनुभएको छ, बढ्दै जानुहोस् भन्नुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भनिएको भारत भ्रमणको विषयमा के कुरा भयो । ?

प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न तयार रहेको स्वराजले बताउनुभयो । उहाँले कूटनीतिक छलफल गरेर मिति तय गर्ने बताउनुभएको छ ।वर्षमै दुई जना नेपालका प्रधानमन्त्री भारत भ्रमणमा गएका छन् ।

नेपालमा छोटो समयमा भइरहने सरकार परिवर्तनप्रति भारतीय पक्षको के टिप्पणी रहेछ ?

हाम्रो प्रधानमन्त्रीलाई स्वागत गर्न भारत सरकार तयार देखिएको छ । नेपालको राजनीतिक स्थितिमा भारतको कुनै टिप्पणी छैन । सुष्माजीले नेपाली पक्षको आन्तरिक कुरा हो भन्नुभयो । नयाँ ढंगले सम्बन्ध बनाइरहनुपर्ने मान्यता छ दुवै मुलुकको ।

१० महिनाको अवधिमा तपाईंले दोस्रो परराष्ट्रमन्त्रीका रूपमा भारत भ्रमण गर्नुभएको छ, यसलाई नि कसरी लिने?

यो भ्रमणले दुई मुलुकबीचको सम्बन्धमा इँटा थप्ने काम गर्छ । यस्ता भ्रमणमा भएका कुराहरूले विषयवस्तुलाई ताजा बनाउँछ । यसले नै छलफल तथा बहसलाई अगाडि बढाउने आधार तय गर्छ ।विगतमा परारष्ट्रमन्त्रीभन्दा तपाईंको भ्रमणमा भारतीय पक्षबाट गरिएको व्यवहार फरक देखियो नि ! भारतले

कांग्रेस र माओवादी केन्द्रबीचको सम्बन्धका आधारमा भारतले व्यवहार गरेको हो ?

मप्रति उहाँहरूको व्यवहारमा मैले कुनै कमी देखिनँ । तर, एउटा कुरा के सत्य हो भने कांग्रेस पुरानो पार्टी हो, राजनीतिको लामो अनुभव छ कांग्रेसका नेताहरूसँग । विद्रोहपछि स्थापित पार्टी भएको हुँदा राजनीतिक अनुभवको कमी होला हामीसँग । तर, भारतले गर्ने व्यवहारमा कतै भिन्नता छैन । तत्कालीन प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएको भव्य स्वागत पछिल्लो उदाहरण पनि हो ।

भारतीय हस्तक्षेप या आशीर्वाद भन्ने कुरा छैन नेपाली राजनीतिमा ?

भारतको सोचमा अहिले परिवर्तन आइसकेको छ । सिधा हस्तक्षेप छैन अहिले । छिमेकी भएको नाताले छिमेकमा के भइरहेको छ भन्ने चिन्ता र चासो छ भारतको । खुला सिमाना भएका कारण समस्या पैदा भइरहन्छन् । त्यसैले सुरक्षामा भारतको चासो छ । त्यस्तो चिन्ता, चासो राख्नु र बोध गर्नु स्वाभाविक छ । कुनै पनि मुलुकका लागि त्यो आवश्यक पनि हुन्छ । व्यापार÷व्यवसायका लागि भारतमा निर्भर रहेको नेपालमा सानो परिवर्तनले असर गर्छ । भारतमा जीएसटी लागू भयो अब नेपालको व्यापार प्रभावित हुन्छ । यसलाई स्वाभाविक रुपमा लिनुपर्छ । छलफल गर्दै जानुपर्छ ।

सम्बन्ध सुधारका कुरा गरिन्छ, भारतसँग कहाँ कसरी सम्बन्ध बिग्रेको हो ?

दुई देशबीचको घनिष्ट सम्बन्धका कारण कहिलेकाहीं व्यावहारिक कठिनाइ उत्पन्न हुन्छ । छिमेकी भएको नाताले उत्पन्न हुने व्यावहारिक कठिनाइलाई सम्बन्ध बिग्रेको भन्न मिल्दैन । बरु समस्या उत्पन्न हुँदा छलफलबाट समाधान निकाल्नतिर जानुपर्छ ।

सुरक्षा चासोलाई लिएर नेपाल भारतका लागि महत्वपूर्ण छ भन्न सकिन्छ । यसो भनेपछि नेपालले भारतसँग  'स्ट्रेन्थ'को फाइदा उठाउन नसकेको हो ?

एकदम सही कुरा हो यो । हामी राजनीतिक संक्रमणका कारण लामो समय अस्थिरतामा रुमलियौं । भारतले पछिल्लो समय गरेको तीव्र विकासबाट हामीले फाइदा लिन सकेनौं । अहिले आएर सबै राजनीतिक दलमा यो चेत आएको छ । आफ्नो राजनीतिक मूल्यमान्यताभन्दा माथि उठेर नेपालको विकासका निम्ति भारत र चीनलगायत मुलुकबाट फाइदा लिन चुकेको सबैले महसुस गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.