मार्क्सवादको अन्त्यको मिथ

अहिले पनि एकथरी चिन्तकहरू ‘माक्र्सवादको अन्त्य'लाई बेसी महत्वव दिएर उठाउँछन् । उनीहरूका निम्ति अब यसको कुनै सान्दर्भिकता छैन । माक्र्सवादको चर्चा गर्नु, यसको प्रासंगिकता देख्नु र यसका पक्षमा बहस गर्नु समय खेर फाल्नुमात्र हो । सामान्यतः सन् १९६० को दशक र विशेषतः सन् १९८० को दशकको आरम्भदेखि कतिपय माक्र्सवादी चिन्तकहरूले पनि माक्र्सवादको अन्त्यको दृष्टिकोण प्रस्तुत गर्न सुरु गरे । माक्र्सवादी र गैरमाक्र्सवादी चिन्तकहरूमा देखिएको यो विचित्रको समानता थियो । रोनाल्ड आगेनसनले ‘आफ्टर माक्र्सिज्म'मा यसको राम्रो चर्चा गरेका छन् । यस सँगसँगै समाजवादलाई पुँजीवादको विकल्पका रूपमा प्रस्तुत गर्नु अर्थहीन हो भन्न सुरू गरियो । पूर्वी युरोपका कम्युनिस्ट शासनव्यवस्था र सोभियत समाजवादको अन्त्यलाई यसको साक्ष्यका रूपमा प्रस्तुत गर्न थालियो ।
‘अन्त्य' को अवधारणाको पश्चिममा एउटा शृंखला नै छ । नित्सेले ‘ईश्वरको मृत्यु'को घोषणा गरे । ‘ईश्वरको मृत्यु'को घोषणा तत्कालीन युरोपको परिस्थिति, आधुनिकता, यसको परियोजना, यसको परिणाम र त्यसबाट जन्मिएको सघन निराशासँग जोडिएको छ । सन् १९६० को दशकसम्म आइपुग्दा ‘अन्त्य'को अवधारणा अझै झांगियो । विभिन्न ज्ञान अनुशासनसँग सम्बन्धित चिन्तकहरूले यस्तो दृष्टिकोण प्रस्तुत गर्न सुरु गरे । राजनीतिक र सामाजिक आन्दोलनहरूसँग जोडिएकाहरूमा पनि यस्तो दृष्टिकोणको विकास भयो ।
‘आधुनिकताको अन्त्य', ‘कलाको अन्त्य', ‘मनुष्यको अन्त्य', ‘कर्ताको मृत्यु', ‘साहित्यको मृत्यु', ‘लेखकको मृत्यु', ‘आलोचकको मृत्यु' आदि यही शृंखलाभित्र पर्छन् । ‘माक्र्सवादको अन्त्य', ‘समाजवादको अन्त्य', ‘विचारधाराको अन्त्य', ‘इतिहासको अन्त्य', ‘वर्गको अन्त्य' आदिलाई पनि यही शृंखलाभित्र राखेर हेर्न सकिन्छ । ‘अन्त्य'का अवधारणाका आ-आफ्ना सन्दर्भ र उद्देश्यहरू छन् तर तिनीहरूका बीच एक किसिमको सामञ्जस्यता र संगति पनि छ ।
‘माक्र्सवादको अन्त्य'को सन्दर्भमा ‘विचारधाराको अन्त्य' र ‘इतिहासको अन्त्य' जस्ता अवधारणाहरूको विशेष महत्वव छ । सन् १९५५ मा ‘द कंग्रेस फर कल्चरल फ्रिडम'द्वारा इटलीको मिलानमा आयोजित सम्मेलनमा सर्वप्रथम ‘विचारधाराको अन्त्य'बारे गम्भीर विमर्श गरिएको थियो । यो कम्युनिस्ट विरोधी बुद्धिजीवीहरूको संस्था थियो । यसमा युरोप र अमेरिकाका बुद्धिजीवीहरूको सहभागिता थियो । कार्यक्रममा ब्रिटिस लेबर पार्टीका नेता हग गेटस्केलले ‘कम्युनिस्ट विचार प्रसारको खतराको सामना मिलेर गर्नुपर्छ' मात्र भनेनन्, ‘विचारधाराको अन्त्यको तात्पर्य माक्र्सवादको प्रभावको पनि अन्त्य हो' भने । बुद्धिजीवीहरूको निष्कर्ष पनि यही थियो ।
यसपछि ‘विचारधाराको अन्त्य'लाई विषय बनाएर अनेकौं पुस्तकहरू लेखिए । ‘विचारधाराको अन्त्य'को बहस बदलिएको परिस्थिति, फाँसीवादको अन्त्य र विकसित पुँजीवादी मुलुकहरूमा माक्र्सवादको घट्दो प्रभावसँग सम्बन्धित थियो । अमेरिकी समाजशास्त्री डेनियल बेलले सन् १९६० मा प्रकाशित आफ्नो पुस्तक ‘विचारधाराको अन्त्य' मा यस विषयमा गहिरो चर्चा गरेका छन् । बेलको ‘विचारधाराको अन्त्य' को थेसिस एकातिर सहमतिका नाममा व्यवहारवादी बन्दै गएका राजनीतिक पार्टीहरू, राजनीतिमाथि अर्थको वर्चस्व, आर्थिक वृद्धि र भौतिक उत्प्रेरणालाई दिइएको महत्ववका कारण गौण बन्दै गएको विचारधाराको सन्दर्भसँग जोडिएको छ भने अर्कातिर माक्र्सवादको घट्दो प्रभावसँग सम्बन्धित छ । बेलले पुस्तकमा माक्र्सवादको कटु आलोचना गरेका छन् र यसको सान्दर्भिकतामाथि गम्भीर प्रश्न उठाएका छन् ।
माक्र्सको समय र आजको समय उही होइन । माक्र्स जीवित छँदाको पुँजीवाद र आजको पुँजीवाद पनि उही होइन । धेरै थोक फेरिएका छन् तर पुँजीवादको आधारभूत चरित्र उस्तै छ ।
सन् १९८९ मा अमेरिकी चिन्तक फ्रान्सिस फुकियामाको ‘इतिहासको अन्त्य' शीर्षकमा एउटा लेख छापियो । १९९२ मा यो ‘इतिहासको अन्त्य र अन्तिम मनुष्य' शीर्षकमा पुस्तकका रूपमा प्रकाशित भयो । बेलले जस्तो फुकियामाले विचारधाराको अन्त्यको कुरा त गरेका छैनन् तर उनले आजको विश्वमा उदार लोकतन्त्र र यसको भविष्यमात्र रहेको उल्लेख गरेका छन् । उनका विचारमा अब ‘समाजवादको अन्त्य' भएको छ र वैयक्तिक स्वतन्त्रता एवं उदार लोकतन्त्रमात्र जीवित छन् ।
सर्वसत्तावाद र केन्द्रीय नियन्त्रणका विरुद्ध जुझ्ने सर्वाधिक उपयुक्त हतियार यिनै हुन् । पूर्वी युरोपका कम्युनिस्ट शासन र सोभियत समाजवादको अन्त्यको पृष्ठभूमिमा लेखिएको यस पुस्तकमा समाजवादको अन्त्यलाई इतिहासको अन्त्यका रूपमा प्रस्तुत गरिएको छ र उदार लोकतन्त्रलाई मानव-शासनको अन्तिम रूप भनिएको छ ।
बेल, फुकियामा र अन्य कतिपय गैरमाक्र्सवादी चिन्तकहरूले भने जस्तै के माक्र्सवादको अन्त्य भएकै हो ? या यो अन्त्यको मिथ मात्र हो ? माक्र्सको द्विशतवार्षिकीको अवसरमा यससम्बन्धी बहस अझ बढी सान्दर्भिक छ । तर गजबको यथार्थ के छ भने ‘माक्र्सवादको अन्त्य' भयो भन्नेहरू अहिले पनि माक्र्सवादसँग तर्सन्छन् । डेरिडाका शब्दमा ‘माक्र्सको प्रेत' को भयदेखि पुँजीवाद आज पनि मुक्त छैन ।
पुँजीवाद र उदार लोकतन्त्र आज पनि आफ्नो भविष्यप्रति आश्वस्त छैनन् । शीतयुद्ध सकिएको छ, पुँजीवाद भूमण्डलीकृत भएको छ, कम्युनिस्ट आन्दोलनहरू प्रतिरक्षात्मक छन् तर पनि पुँजीवाद र उदार लोकतन्त्र ‘माक्र्सको प्रेत'देखि भयभीत छन् । ‘इतिहासको अन्त्य' भएको घोषणा गर्ने फुकुयामाले समेत उदार लोकतन्त्रभन्दा फरक शासनप्रणाली अपनाएको चीनबाट सिक्नुपर्ने धारणा व्यक्त गर्न थालेका छन् ।
माक्र्सले सर्वप्रथम इतिहासमा क्रान्तिकारी विचारहरूको समग्र शृंखलासहित पुँजीवादको विकल्प प्रस्तुत गरेका थिए । ऐंगेल्सले माक्र्सलाई सबैभन्दा पहिले एक क्रान्तिकारी व्यक्तिका रूपमा स्मरण गर्नु र उनलाई ‘विज्ञानको मानिस'का रूपमा उल्लेख गर्नुको कारण यही थियो । चिन्तन र व्यवहार दुवैले माक्र्स क्रान्तिकारी थिए । माक्र्सले दर्शन, अर्थशास्त्र, राजनीति र इतिहासलाई समग्रतामा हेर्दै र विश्लेषण गर्दै पुँजीवादको विकल्प प्रस्तुत गरेका थिए । दर्शन, अर्थशास्त्र, राजनीति र इतिहाससम्बन्धी माक्र्सका विचारहरूले पुँजीवादलगायत उत्पीडनका समस्त रूपहरूका विरूद्ध संघर्ष गर्न मनुष्यलाई प्रेरितमात्र गरेनन्, उनीहरूका अगाडि एक वैकल्पिक व्यवस्था पनि प्रस्तुत गरे ।
यसको आरम्भ स्वयं माक्र्सले गरेका थिए । १९४७ मा कम्युनिस्ट लिगको स्थापना यसकै परिणाम थियो । प्रथम कम्युनिस्ट अन्त्यर्राष्ट्रियको गठन पनि यसैसँग सम्बन्धित रहेको छ । १८७१ को पेरिस कम्युन पनि यसैसँग जोडिएको छ । माक्र्सवादी सिद्धान्तको पहिलो सफल प्रयोग १९१७ को रुसको अक्टोबर क्रान्ति थियो । अन्य मुलुकमा पनि माक्र्सवादी सिद्धान्तको जगमा कम्युनिस्ट आन्दोलनहरू आरम्भ भए । कयौं मुलुकहरूमा कम्युनिस्ट शासनव्यवस्थाको स्थापना भयो । जनतान्त्रिक एवं उपनिवेशवाद, साम्राज्यवाद विरोधी देशभक्तिपूर्ण आन्दोलनहरूले यसबाट प्रेरणा र ऊर्जा प्राप्त गरे ।
माक्र्सले पुँजीवादको चरित्रलाई विस्तृत रूपमा प्रस्तुत गरेका छन् । पुँजीवादमा पाइने असीमित प्रतियोगिता, सीमित मानिसहरूमा पुँजीको केन्द्रीकरण र एकाधिकार, वर्ग विभेद र उत्पीडन, त्यसबाट जन्मने द्वन्द्व, वैश्विक वर्चस्व कायम गर्न खोज्ने यसको चरित्र, यसमा अन्त्यर्निहित अन्त्यर्विरोध र यसको अन्त्य आदिबारे माक्र्सले गम्भीर चर्चा गरेका छन् । सन् १९८० को दशकमा ‘माक्र्सवादको अन्त्य'को विषयमा जति धेरै चर्चा गरिए पनि बीसौं शताब्दीको अन्त्यतिर एरिक हाब्सवामसँगको संवादमा जर्ज सोरेसले ‘एक सय ५० वर्षपहिले यस मनुष्यले पुँजीवादका बारेमा जे भनेको थियो त्यो नोट गर्न लायक छ' भनेका थिए ।
अझ अगाडि बढेर १९९७ मा डेविजले ‘माक्र्सको पुन ः आगमन' शीर्षकमा लेख नै लेखे । डेविजले माक्र्सका कृतिहरू पुँजीवाद रहेसम्म पढिने छन् मात्र भनेन्, पुँजीवादसम्बन्धी उनका विचारहरू अत्यन्त महत्ववपूर्ण रहेको उल्लेख पनि गरे । दुवै माक्र्सवादी थिएनन् तर पुँजीवादको चरित्र र माक्र्सको पुँजीवादसम्बन्धी सटिक विश्लेषण एवं निष्कर्षले उनीहरूलाई यसो भन्न बाध्य पारेको थियो । किन्सले त पुँजीवादलाई ‘हिंस्रक जनावर'सम्मको संज्ञा दिएका छन्।
सोभियत समाजवादको अन्त्य माक्र्सवाद र समाजवादको अन्त्य थिएन तर यसलाई यस रूपमा व्याख्या गरियो र गरिदै छ । सोभियत समाजवादको अभ्यासमा कयौं कमजोरीहरू थिए । अर्थव्यवस्थाको समाजवादी चरित्र र त्यसको कार्यान्वयन, समाजवादी जनतन्त्रको विकास, आमजनता, सरकार र पार्टीबीचको सम्बन्ध, पार्टी जीवनमा अभ्यास गरिने जनवादी केन्द्रीयता, समाजवादी मूल्य र आदर्शको अनुपालन, समाजवादी समाजमा वर्गसंघर्षको सिद्धान्त र बाह्य भूमिकाप्रतिको गम्भीरता, संघीयताको मर्मको अनुपालन आदिमा रहेका कमजोरीहरू सोभियत समाजवादका अन्त्यका कारण थिए । कम्युनिस्ट आन्दोलनले खाएको धक्काले निश्चय नै कम्युनिस्ट आन्दोलन रक्षात्मक भएको छ । यसै आधारमा माक्र्सवादको सान्दर्भिकतामाथि प्रश्न उठाइएको छ र पुँजीवादको निर्विकल्पताको मिथ गढिएको छ । तर यसबाट न त माक्र्सवादको अन्त्यको पुष्टि हुन्छ न त पुँजीवादको श्रेष्ठता नै सावित हुन्छ ।
द्वितीय विश्वयुद्धपछि पुँजीवादमा देखिएको परिवर्तनले पुँजीवादसम्बन्धी माक्र्सवादी अवधारणालाई गलत सावित गरेको छ भन्ने दृष्टिकोणले हावा खाएको लामै समय भएको छ । किन्सको लोककल्याणकारी राज्यको अवधारणाको ठाउँ नवउदारवादले लिएको छ । समकालीन वित्तीय पुँजीवाद अझ बढी कुरूप छ । नवउदारवादका कारण बजार र व्यक्ति शक्तिशाली छन्, राज्य र समाज कमजोर भएका छन् । निजीकरण बढेको छ, बजार अनियन्त्रित भएको छ । कुनै बेलाकी नवउदारवादकी प्रवक्ता र प्रयोक्ता मार्गरेट थ्याचरको ‘समाजको कुनै अस्तित्व छैन, मात्र व्यक्ति र उसको परिवार छ' भन्ने कथनलाई समकालीन पुँजीवादले अझ बढी आत्मसात गरेको छ ।
पुँजीवादको मानवद्वेषी चरित्र र उदार लोकतन्त्रको श्रेष्ठताको मिथ विचित्रको विरोधाभाससहित सँगसँगै हिँडेका छन् । उदार लोकतन्त्र पहिलेको अपेक्षा अधिक विस्तारित भएको छ तर जति विस्तारित भएको छ पेरि एन्डरसनको भाषामा त्यति निरर्थक पनि भएको छ । उदार लोकतन्त्रका मर्महरूलाई नवउदारवादमा पाखा लगाइएको छ र लोकतन्त्रलाई बजारका नियमहरू अनुसार हिँड्न विवश बनाइएको छ ।
माक्र्सको पुँजीवादको आलोचना, यसको सारतत्ववको उद्घाटन र निष्कर्ष आज अझ बढी सान्दर्भिक लाग्छ । माक्र्सको समय र आजको समय उही होइन । माक्र्स जीवित छँदाको पुँजीवाद र आजको पुँजीवाद पनि उही होइन । धेरै थोक फेरिएका छन् तर पुँजीवादको आधारभूत चरित्र उस्तै छ । आफ्नो लामो इतिहासमा पुँजीवाद विभिन्न चरणहरूबाट गुज्रिएको छ, यसका विभिन्न अनुहारहरू देखिएका छन् तर विभेद र उत्पीडनलाई अन्त्य गर्दै अघि बढ्न यो असफलमात्र भएको छैन, यसको मूल कारक नै यही बनेको छ ।
समकालीन पुँजीवादको नवउदारवादी परियोजनाभित्र सबैलाई मध्यम वर्ग बनाउने योजना ‘टाँय टाँय फिस' भएको छ । वर्ग विभेद बढेको छ, सर्वहाराहरूको संख्यामा वृद्धि भएको छ । समतापूर्ण समाज पुँजीवादको अभीष्ट होइन र त्यो उसबाट सम्भव पनि छैन । पुँजीवाद समाजवादको विकल्प होइन र हुन सक्तैन । माक्र्सवाद आज पनि प्रासंगिक छ, यसको अन्त्य भएको छैन । माक्र्सवादको अन्त्यको थेसिस मिथ सिवाय अरू केही प्रतीत हुँदैन ।
माक्र्सवादीहरूले परिवर्तित पुँजीवादलाई ठीक ढंगले बुझ्न र त्यस अनुरूप अघि बढ्न जरुरी छ । यसो गर्दा पुँजीवादका अपरिवर्तनीय आधारभूत चरित्रमाथि ध्यान दिन पनि आवश्यक छ । पुँजीवाद र उदार लोकतन्त्रको विराट जीवनबाट सकारात्मक कुराहरूलाई ग्रहण गर्न पनि जरुरी छ । सबैभन्दा धेरै प्रश्नहरू माक्र्सवादीहरूले आफैं माथि गर्नुपर्छ । यहाँनेर एंगेल्सले माक्र्स र आफ्ना कृतिहरूलाई पवित्र ग्रन्थका रूपमा नलिन र उद्धृत नगर्न आफ्ना अनुयायीहरूलाई गरेको आग्रह विशेष स्मरणीय छ । यस सन्दर्भमा माक्र्सको जीवनबाटै धेरै कुरा सिक्न सकिन्छ ।
माक्र्स क्रान्तिकारी र आफ्नो विचारमा दृढ थिए तर जडसूत्रवादी थिएनन् । उनी रचनात्मक र सिर्जनशील थिए तर विचारको क्रान्तिकारी सारतत्ववप्रति त्यत्तिकै सजग पनि थिए । माक्र्सलाई बुझ्ने र लागू गर्दा भएका कमजोरीहरूकै कारण माक्र्सवादीहरूले विभिन्न समयमा गम्भीर धवका खानुपरेको हो । माक्र्सवाद न त बाइबल र कुरान हो न त यो आफूखुसी फेर्दै हिँड्ने शास्त्र हो । माक्र्सवादी सिद्धान्तको जगमा गरिने संघर्षका स्थान र समयअनुसार आआफ्ना रूप हुन सक्छन् । माक्र्सवादीहरूले सबैभन्दा बढी ध्यान दिनुपर्ने विषय समाजवादको श्रेष्ठताका निम्ति गरिनुपर्ने कार्यमा हो । समाजवाद पुँजीवाद र उदार लोकतन्त्रभन्दा श्रेष्ठ हुन जरुरी छ । माक्र्सवादमा यी सबैका निम्ति आधार विद्यमान छ ।
इतिहासबाट सिक्दै अघि बढ्नमात्र आवश्यक छ । एकपटक फेरि माक्र्सवादलाई गम्भीरतापूर्वक लिनुपर्ने समय आएको छ भन्ने एरिक हाब्सबामको कथन आज पनि उत्तिकै सान्दर्भिक छ । नवउदारवाद र भूमण्डलीकरणको परियोजनाको आधारमा पुँजीवादलाई यसको संरचनात्मक संकटबाट बचाइरहन सम्भव छैन । तर माक्र्सवादीहरूले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउन जरुरी छ । अन्त्यमा रणधीर सिंहको शब्द सापटी लिएर भन्दा पुँजीवादको अध्ययन र विश्लेषण कसैले पनि माक्र्सले भन्दा राम्रो गरेको छैन । यसको विश्लेषणमा उनी भविष्यद्रष्टा सावित भएका छन् । माक्र्सवाद आउँदा दिनहरूमा पनि सान्दर्भिक नै रहनेछ ।
प्रतिक्रिया दिनुहोस !
