पिताजीको सम्झनामा

पिताजीको सम्झनामा

सानै छँदा हामी आ-आफ्ना बाबुआमाका बारेमा दौतरीसँग गफिन्थ्यौं । कोही भन्थे, ‘बा किसान हुनुहुन्छ, आमा बाख्रा पाल्ने काम गर्नुहुन्छ ।' कोही भन्थे, ‘बा इन्जिनियर, आमा शिक्षक ।' यिनै आवाजमा मेरो पनि आवाज थपिन्थ्यो, ‘बा लेख्ने काम गर्नुहुन्छ । आमा गृहिणी ।' बालसुलभ मन त हो, हामी दौंतरीबीच बाआमाले छोराछोरीलाई गर्ने मायाका कुरा पनि हुन्थे । आआफ्ना बाबुसँग घुघुती खेलेका, पिठ्यूँमा घोडा चढेका र काखमा लुटपुटिएका प्रसंगहरू आउँथे । म भने टोलो पर्थें । मेरो बालमनले प्रश्न गथ्र्यो, ‘बाबुले पनि छोराछोरीलाई काखमा लिन्छन् र ? '
‘लेख्ने काम गर्ने' मेरा बा अर्थात् कृष्णप्रसाद पराजुली ।

जीवनलाई फर्केर हेर्दा अनगिन्ती सम्झना आँखा भरिभरि आउँछन् । धेरै कुरा पानीका फोकाझैं बिलाउँछन् । कतिपय कुरा तस्बिर भएर टाँगिन्छन् मुटुका पत्रपरि । तिनै टाँगिने कुरामध्येका थुप्रै स्मृति पिताजीसँग गाँसिएका छन् । हरेक वर्ष असार आउँछ । झमझम परेको पानी मकैका पातलाई स्पर्श गर्दै मीठो संगीत बनेर गुञ्जन्छ । आली लगाउने, बाउसे गर्ने र धान रोप्ने रोपारको कामले निरन्तरता पाइरहेको हुन्छ । सँगैसँगै गुञ्जन्छ मीठो असारे भाका । असार हाम्रा लागि भने अझ विशेष भएर आउँछ । असारको २४ पिताजीले धर्ती टेक्नुभएको दिन । परिवारले मात्र होइन नेपाली वाङ्मयले नै गर्व गर्ने एक साधकले धर्ती चियाएको दिन ।

पिताजीको काखमा बसेको सम्झना छैन । शिशुवयको कुरा बिर्सेको पनि हुन सकिन्छ भनेर आमालाई सोध्छु । ‘अहँ !' आमा भन्नुहुन्छ, ‘बाको काखमा कि किताब हुन्थ्यो कि त फुलस्केप साइजका सेता पानाहरू ।' अधिकांश समय सिर्जना र साधनमा डुब्ने पिताजीको स्वभावले गर्दा किशोर वयसम्मै मेरो भिन्नै धारणा रह्यो, ‘लेखकको छोराले बाबुको काखमा बस्न पाउँदैन र बस्न खोज्नु पनि हुँदैन ।' जब बुझ्ने भएँ, बुभ्mदै गएँ—एउटा लेखकको काख त साहित्यमा लुटपुटिने भोक भएका लाखौंका लागिरहेछ । पिताजीका हात मेरा लागि लाडप्यार मात्र हुन सक्थ्यो । तर, त्यही हातका सिर्जना लाखौंका लागि उज्यालो बत्ती भइदिँदो रहेछ ।

सरस्वतीले वास गरेको घरमा लक्ष्मीको आगमनमा नियमितता हुँदैनथ्यो । केही लेखकस्व, सामान्य जागिरको भरमा पिताजीले हामी सातजनाको परिवारलाई जसोतसो अगाडि बढाउनुभयो । बासको जोहो, उपचार खर्च र एकपछि अर्को बढ्दै गएका व्यवहारले पुगेस्पुगेस्कै स्थितिमा पारिवारिक गाडी अगाडि बढिरह्यो । तर, पिताजीले ठूलो महत्ववाकांक्षा कहिल्यै पाल्नुभएन । उहाँको निश्छल स्वभाव, सादगी जीवन र स्नेहशील बानीले हामीलाई धेरै कुरा सिकाए । हामीमात्र होइन हाम्रा उत्तराधिकारीले पनि पिताजीलाई ‘रोल मोडेल' मानिरहेका छन् ।

लेखरचनाको पारि श्रमिक वा किताबको लेखकस्व बुझेका दिन पिताजी मीठा तरकारी बोकेर घर आउनुहुन्थ्यो । त्यसमा एकाध किलो खसीको मासु नहुने कुरै थिएन । पिताजीले ल्याएका ती चिजबिज आमाले मीठो गरी पकाउनुहुन्थ्यो र हाम्रा खुसी थाल कचौराहरूमा छरिन्थे । भान्साको काममा पिताजीले सघाएको थाहा पाइएन । पहिलोपटक प्रेसरकुकर घरमा भित्रिएको दिन भने पिताजीले पकाएको मासुको स्वाद सायदै बिर्सौला ।

केही वर्ष बिदेसिदा पिताजीको सान्निध्य खड्किरह्यो, छटपटी र बेचैन रहिरहह्यो । प्रकाशनमा सघाउन, पिताजीको सिर्जनाको पहिलो पाठक हुन र साहित्यिक माहौलमा रम्न पाउनु मेरा लागि सौभाग्यमात्र थिएन, अनौपचारिक शिक्षा हासिल गर्ने अवसर पनि थियो । जति बाहिरी विश्वविद्यालयमा सिकियो त्योभन्दा बढी मैले घरैको विश्वविद्यालयमा जान्ने बुझ्ने अवसर पाएँ । यसरी पिताजी कहिले बाबु भएर, कहिले साथी भएर र कहिले श्रद्धेय गुरु भएर रहनुभयो ।


हाम्रा मनमस्तिष्कमा पिताजीले छरिदिनुभएको उज्यालोले हामीलाई डोर्‍याइरहेको छ, डोर्‍याइरहनेछ ।

पिताजीले ‘नेपाली बृहत् शब्दकोश'मा शब्द संकलन, अर्थलेखनदेखि सम्पादनका काममा निकै पसिना बगाउनुभयो । यसका पर्दापछाडिका धेरै रहस्य र परिदृश्य हामी परिवारले अनुभूत गरेका छौं । मेरा लागि भने पिताजी ‘सुन्ने शब्दकोश' पनि हुनुहुन्थ्यो । कुनै शब्दबारे जिज्ञासा भए म जहाँसुकैबाट पिताजीलाई फोन गर्थें । उहाँ तत्कालै अथ्र्याइदिनुहुन्थ्यो । शब्दकोश पल्टाउनुभन्दा यो काम छिटोमात्र होइन मीठो पनि हुन्थ्यो र बाबुछोराकै न्यास्रो मेटिने गजबको माध्यम पनि हुन्थ्यो ।

पछि पिताजीलाई पश्चिमी मुलुकहरू घुमाउने अवसर मिल्यो । डालास एयरपोर्टमा पिताजीलाई स्वागत गर्न जाँदा म दंग थिएँ । पचहत्तरवर्षे उमेर, रोगले गाँजेको शरीर तर पिताजीको उत्साह भने उस्तै थियो । पश्चिमका विभिन्न सहरमा पिताजी निम्त्याइनु भयो । ‘राम्रो रचना मीठो नेपाली' पढेर हुर्केका ठूलै जमात उहाँलाई भेट्दा पुलकित भए । धेरै जिज्ञासा रहेछन् उहाँसँग डायस्पोरिक नेपाली समाजको । पिताजीले धेरैको जिज्ञासा समाधान गरिदिनुभयो । अन्य भाषाका तुलनामा नेपाली भाषा सम्पन्न रहेको अभिव्यक्ति दिनुभयो । खासगरी अंग्रेजीमा समेत नभएका अनुकरणात्मक शब्दहरू, मीठा टुक्का र चोटिला उखानहरूले नेपाली भाषालाई विशिष्ट बनाएको उदाहरणसहितको तर्कले धेरैको मन छोयो ।

‘राम्रो रचना ः मीठो नेपाली' पिताजीको पर्याय भइसकेको परिप्रेक्ष्यमा यसबारे उहाँले नबोली धरै पाउनु भएन । उहाँले नेपाली समुदायमा खुलेरै भन्नुभयो, ‘नेपाली शुद्ध लेख्न सिकाउने अभियानजस्तै थियो मेरो । नेपाली भाषा जिउँदो भाषा हो, यो भाषा राम्रो र मीठो पनि हुनुपर्छ भन्ने चाहन्थेँ म । त्यसैले नेपाली भाषाका आफ्नापन र पाइनलाई जोगाएर यस भाषाको व्यावहारिक पक्ष वा रचना कसरी सुन्दर बनाउन सकिन्छ भन्ने दृष्टिले यो भाषिक कृति लेखेको हुँ ।'

अमेरिकाका ६ राज्य, टोरन्टो र लन्डनमा आफ्ना सिर्जनागर्भका बारेमा पिताजी शरदको आकाशजस्तै खुल्नुभयो । पिताजीको चारमहिने पश्चिमी मुलुकहरूको यात्रामा मैले के अनुभूत गरँे भने जोस जाँगरमा कमी नदेखिए पनि पिताजीका आँखाले कसैलाई खोजिरहेका छन् । ढल्किँदो उमेरसँगै तिनले थोरै सहाराको याचना गरिरहेका छन् । उहाँलाई भन्न मन लागेकोझैँ लाग्यो, ‘छोरा तँ नहुँदा मलाई खल्लो लागिरहन्छ ।'

उहाँले मुखले केही भन्नुभएन । मैले भने उहाँको आँखा पढिसकेको थिएँ, ढुकढुकी छामिसकेको थिएँ । उहाँलाई लन्डनको हिथ्रो विमानस्थलबाट बिदा गरेर काठमाडौं पठाउँदा मेरो अन्तरले भन्यो, ‘म अब नेपाल फर्कन्छु ।' त्यसको ६ महिनापछि म नेपाल फकेँ । त्यसपछि पिताजीको जीवनपर्यन्त उहाँकै सान्निध्यमा रहेँ । यो समय मेरो लागि सबैभन्दा उपलब्धिमूलक र रोमाञ्चक रह्यो । पिताजीलाई थोरै सघाउने र उहाँबाट धेरै सिक्ने अवसर पाइयो । पिताजीको सहारा बनेर रहँदाको सन्तुष्टिका सामु विदेशको विलासिता निकै फिका अनुभूत भयो ।

प्रकृतिलाई प्रतीक र बिम्ब उपमानका रूपमा प्रस्तुत गर्दै पिताजी गीत, कविता र मुक्तकमा पनि बगिरहनुभयो—
जीवन ओइलाएको पातजस्तो मन पर्दैन मलाई
जीवन बिलाएको रातजस्तो इच्छा हुँदैन मलाई
एक पल्ट झर्नु परोस् न बरु उज्यालो छोडेर
जीवन त बिहान र फूलजस्तो मन पर्छ मलाई ।
(सय थुँगा फूल कृष्णप्रसाद पराजुली)
२०७० साल चैत २० गते पिताजीले जीवनदेखि वि श्राम लिनुभयो । त्यो रात भने हाम्रा लागि साह्रै अँधेरो रात बनिदियो । यद्यपि उहाँले हाम्रा मन मस्तिष्कमा छरिदिनुभएका उज्यालोले भने हामीलाई डोर्‍याइरहेको छ र डोर्‍याइरहने छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.