भानु भेट्न कोलकाता

 भानु भेट्न कोलकाता

त्यसो त यात्राले ज्ञान पनि दिन्छ । र, टमटमबाट ओर्लेपछि यस्तरी दौडियौं हामी मानौं हाम्रोपछाडि साक्षात् यमराजले भयानक सिङ भएको आफ्नो डरलाग्दो वाहन छोडिदिएको छ । यस्तरी दौडियौं- जस्तो कुनै भयानक सपनामा वा विपनामै भनूँ, मानिस आफ्नो ज्यान जोगाउने अन्तिम अस्त्र प्रयोग गरेर दौडिन्छ । यस्तरी दौडियौं मानौं नदौडेको खण्डमा हामीले धेरै कुरा गुमाउनु छ । धेरै कुरा ।

पर्नुपर्ने हो, तै असारकै महिना भए पनि पानी परेको छैन । बरु, टन्टलापुर घाम लागेको छ- चौपट्टै । खपिनसक्नु चर्को । अनि भर्खरै खाइएको छ खाना । त्यो पनि बल गरी गरी । दौडनु बाध्यता छ किनकि समयमा नपुगे रेल छुट्छ । हामी केही नबोली दौडिरहेछौं निकै अप्ठेरोसँग । भूपिनलाई खसीको मासु खुब मन पर्छ । खसीको मासु खाएको दिन ऊ राम्रोसँग हात पनि धुँदैन । भन्छ- हातबाट आउने मासुको वासना उसलाई प्रिय छ । निकै प्रिय । ऊ बेलाबेलामा हात पनि सँघ्दै छ । सुरुमा मलाई यो उसको ठट्यौली लागेको थियो तर पछि बुझ्दै जाँदा यो वास्तविकता रहेछ । उसैको स्वीकारोक्ति ।

२०७२ असार २८ गतेको बिहान । बाको तेह्रौंको काम सकेको हप्ता दिन पनि बितेको छैन । शरीरका सम्पूर्ण अवयव आफ्नो सनातन लयमा कमब्याक भइसकेका छैनन् । यस्तै एउटा अल्छी बिहान काखी च्यापेर उत्साही पाइला चाल्दै कवि साथी भूपिन र म हेटौंडास्थित घरबाट निस्कन्छौं बिहान सात बजेतिर । (भूपिन हिजै आएको हो मकहाँ) हाइवेमा पुगेपछि म झल्याँस्स हुन्छु- ‘लौ टिकटको प्रिन्ट बोक्न त बिर्सेछु ।' म सम्झन्छु । ‘के गर्ने त ? ' भूपिन आत्तिन्छ । फर्केर जाने जाँगर पटक्कै छैन र चेतन मनले नमाने पनि कतै अवचेतनमा लामो यात्रामा घरबाट निस्केपछि फर्कनुहुन्न, साइत बिग्रन्छ भन्ने रूढिग्रस्त मनोविज्ञान सक्रिय छ बिरालोले बाटो काटेको मनमा । घरमा फोन गरेर ल्याइदिनू भन्न पनि मन लागेको छैन । ‘पेन ड्राइभमा छ प्रिन्ट गरौंला ।' म भूपिनलाई आश्वस्त तुल्याउँछु तर ढाँटेको चाहिँ हैन ।

केही बेरकै प्रतीक्षापछि एउटा पक्कै पुग्न सक्छ भन्ने अनुमान गर्न मिल्ने सम्भवतः काठमाडौं सहरका लागि अयोग्य घोषित भइसकेको र त्यहाँबाट विस्थापन भएको हुनुपर्छ, एउटा बस समात्छौं हामी । बसमा चढ्दाचढ्दै बसको सहयोगी भाइले ‘कहाँ जाने हो दाइ ? ' भन्दा भूपिनले रवाफिलो ढंगमा ‘वीरगन्ज' भन्ने उत्तर दिइसकेको छ । रवाफिलो उत्तरको कारण बसको अन्तिम गन्तव्य वीरगन्ज हो भन्ने हुनुपर्छ । अनुमान गर्छु म, मनमनै ।

सन्दर्भ ः भानुजयन्ती । नेपाली जनकल्याण समिति कोलकाताले २०२औं भानु जयन्ती मनाउने सन्दर्भमा हामी निम्त्याइएका छौं । वीरगन्जमा बसबाट झरेपछि बाटोका लागि औषधि, फलफूल, ‘पानी' इत्यादि किनेर खाना खाई टमटम चढ्दा बिहानको साढे ९ नाघिसकेको हुन्छ । रेल समात्नु छ १० बजे । वीरगन्ज नाकाबाट पहिलोपटक विदेश छिर्दै गरेको भूपिन र उसको आइफोन दुवै उत्साहित छन् फोटो खिच्न । अनि, जाम सुरु हुन्छ नेपाल-भारत मितेरी पुलबाट । झर्ने कि जाने सोच्दासोच्दै १० मिनेट जति बिनसित्तिमा चिप्लन्छ हामीबाट । सुरुमा पुर्‍याउँछु भन्ने टमटमवाला पनि अब त भ्याउन्न हिँडेर जानुस् भन्न थाल्छ । हामी हस्याङफस्याङ गर्दै भीड छिचोल्दै अघि बढ्छौं । रेलवे फाटकमा पुग्दा मात्र पाँच मिनेट समय बाँकी हुन्छ ।

लगभग डेढ किलोमिटर अगाडि उभिएको रेल आँखाले त देखिन्छ तर जति दौडँदा पनि कहिल्यै भेटिन्न । रक्सौलको धूलो, चर्को घाम, गर्मी र भर्खरै खाना खाएको अवस्था । एउटा भयानक युद्ध जितेजसरी जेनतेन हामी स्टेसन पुग्छौं । सिट पत्ता लगाउन कुनै समस्या हुँदैन । सिटमा गएर बस्छौं । आश्वस्त हुन्छौं।



गहिरो अभिरुचिका साथ रवीन्द्रनाथ टेगोरको संग्रहालय अवलोकन गर्‍यौं । हाम्रो देशले राष्ट्रिय व्यक्तित्वका बारेमा केही गर्न नसकेको सम्झेर मन खल्लो पनि भयो ।

‘खोइ त टिकट प्रिन्ट गरेको ? '
भूपिनको प्रश्नले फेरि मेरो सातो खानु र रेलले लामो सिटी मारेर स्टेसन छोड्नुबीच केही सम्बन्ध कि छैन म बुझ्दिनँ । कुरो के हो भने आयोजकहरूले टिकट काटेर स्क्यान गरी मेलमार्फत हामीलाई अगाडि नै पठाएका थिए । मैले अघिल्लै दिन टिकट र रेलको रुट प्रिन्ट गरेर राखेको थिएँ तर बोक्न बिर्सियो ।
‘ए मेरो मोबाइलमा सेभ गरेको छ नि त टिकट ।' मैले ठूलै बाजी जितेको अनुभव गरेँ । टीटीई पनि त्यसै बेला आइपुग्यो । मैले मोबाइल स्क्रिनमा रहेको टिकट देखाएँ । उसले त्यसको खासै वास्ता गरेन, आईडी माग्यो । मैले आईडी देखाएपछि ऊ गयो । हामीलाई बल्ल पो थाहा भो सिट कन्फर्म भएपछि, बर्थमा नामलिस्ट टाँसिएपछि टिकट जाबो त नभए पनि हुने रहेछ ।

अब हामीलाई कुनै समस्या थिएन । आरामसँग कोलकाता पुगिनेमा हामी ढुक्क भयौं । एउटै बोगीमा रहेका पर्वत, फलेबासका एकजना भारतीय सैनिक भाइ, जो मणिपुरमा कार्यरत रहेछन्- सँग गफिँदै हाम्रो याया निरन्तर रह्यो । यात्रामा भाषा, साहित्य अनेक विषयमा कुरा त हुने नै भए । रमाइलो यात्रालाई बिट मार्दै निर्धारित समय अर्थात् बिहान ५ बजे हामी हावडा स्टेसनमा ओर्लियौं ।

नेपाली जनकल्याण समितिका अध्यक्ष बद्रीविक्रम थापा फोन गरेको लगभग एक घन्टापछि हामीलाई लिन आइपुगे । सिन्धुली मूल घर भएका यिनी ४० वर्षदेखि यतै रमेका रहेछन् । उनको स्कुल सञ्चालित रहेछ भारतीय साथीहरूसमेतको संयुक्त लगानीमा । उनले हामीलाई ट्याक्सीमार्फत बस्ने होटलमा पुर्‍याए । होटलमा कवि हेमन र कान्तिपुरका पत्रकार प्रदीप मेन्याङ्बो अघिल्लै दिन पुगिसकेका रहेछन् । भेटघाट तथा भलाकुसारी भयो ।

त्यसै दिन दिउँसो कार्यक्रम भएका कारण र यात्राको थकानका कारण खाना खाएर हामी आराम गर्नतिर लाग्यौं । दिउँसो तीन बजेतिर नेपाली जनकल्याण समितिले आयोजना गरेको भानुभक्त जयन्तीको कार्यक्रम आरम्भ भयो । कार्यक्रममा नेपाली महावाणिज्य दूत तथा प्रसिद्ध कवि चन्द्र घिमिरेको मुख्य आतिथ्य रहेको थियो । कार्यक्रममा नेपालीको उत्साहजनक उपस्थिति त थियो नै, विभिन्न ओहदामा रहेका भारतीयको समेत उल्लेख्य उपस्थिति थियो । एक कवि भएका नाताले त्यो हाम्रा लागि हर्षको विषय थियो नै ।

हामी सबैले भानुभक्तमाथिका संक्षिप्त धारणासहित कविता वाचन गर्‍यौं । मूल कार्यक्रमपछि सांस्कृतिक कार्यक्रम आरम्भ भयो । विभिन्न गीत तथा नृत्यहरूको प्रस्तुतिले कोलकातामा सानो नेपालकै झल्को दिएको थियो । कार्यक्रम अझै लम्बिने छाँट देखेपछि राति नौ बजेतिर हामी नेपाली महावाणिज्य दूतावासका ध्र्रुव भट्टराईजीको गाडीमा फर्कियौं । कोलकातामा भानुभक्तको जन्मजयन्ती वास्तवमै भव्यतापूर्वक सम्पन्न गरिएको हामीले महसुस गर्‍यौं । नेपाली भाषा र साहित्यप्रति विदेशमा बस्ने नेपालीको प्रेम र सद्भावको भावनाले हामीलाई आनन्दित तुल्यायो ।

भोलिपल्ट खाना खाएपछि कोलकाता घुम्ने विचारले हामी निस्कियौं । हामी बसेको होटलनजिकैका ठूला पर्खालहरूमा बनाइएका कला देखेर भूपिन निकै उत्साहित बन्यो । उसले यस्तो कला अमेरिकामा पनि देखेको रहेछ । त्यहीँबाट चितवनमा पनि पर्खालमा कला बनाउने भूत उसमा सवार भएको थियो । भूपिन, ईश्वर कँडेल लगायतका साथीहरूले दुई चरणमा चितवनको जिल्ला विकास समिति (हाल जिल्ला समन्वय समिति)को पर्खालमा सुन्दर कलाकृति सिर्जना गराएका छन् । ती सिर्जना चितवन जाने कवि कलाकारका लागि एउटा रुचि र चासोको विषय बन्दै आएका छन् ।

घुमिएका स्थानमध्ये नोबल पुरस्कार विजेता सुप्रसिद्ध कवि रवीन्द्रनाथ टैगोरको संग्रहालय तथा संगीत स्कुल विशेष महत्ववको लाग्यो । हामीले गहिरो अभिरुचिका साथ यस स्थानको अवलोकन गर्‍यौं । हाम्रो देशले राष्ट्रिय व्यक्तित्वका बारेमा केही गर्न नसकेको सम्झेर मन खल्लो पनि भयो । त्यहाँको भ्रमणपछि हामीलाई शान्ति निकेतन जाने इच्छा जागृत भयो तर त्यो ठाउँ टाढा रहेको र भोलिपल्टै हामीले फर्कनुपर्ने भएकाले उक्त इच्छालाई अर्को पटकका लागि थाती राख्न बाध्य भयौं । आयोजक मित्रहरूले कोलकाताको बडा बजारमा खुवाएको मटन बिरयानी र कोकातास्थित तत्कालीन महावाणिज्यदूत तथा कवि चन्द्र घिमिरेले एक साँझ आत्मीयतापूर्वक दिनुभएको डिनर सम्झनामा ताजै छन् । र, ताजै छन् घिमिरेबाट प्राप्त कोलकातासम्बन्धी विविध रोचक जानकारी र उहाँले सुनाउनुभएका सुन्दर कविताहरूको मिठास ।

सम्झन्छु- कोलकाता पहिले भारतको राजधानी सहर । सन् १९१२ मा भारतको राजधानी दिल्ली सारिएको हो । यो सहर पुरानो भईकन पनि निकै व्यवस्थित छ । फोर्ट विलियय, विक्टोरिया मेमोरियल, नाखोदा मस्जिद, पारसनाथ जैन मन्दिर, बेलुर मठ, दक्षिणेश्वर काली मन्दिर, काली मन्दिर, मदर टेरेसा होम्स, बोटानिकल गार्डन्स, कलकत्ताको काल कोठरी, कोलकाता पोर्ट ट्रस्ट, मार्बल पैलेस, निवेदिता सेतु, हावडा ब्रिज आदि यहाँका प्रमुख दर्शनीय स्थलहरू हुन् । र, पनि हामी खासै घुम्न सकेनौं । समयाभाव र अत्यधिक गर्मीका कारण ।

कोलकाताको पुरानो नाम कालीकाता रहेछ- गुगल गर्दा थाहा पाएँ । पछि यो कलकत्ता हुँदै हाल कोलकाता बनेको रहेछ । ब्रिटिस शासनकालमा लन्डनपछिको ठूलो सहरका रूपमा यसलाई लिइन्थ्यो । यो सहर हुग्ली नदीको तटमा अवस्थित छ । यहाँ विभिन्न विषयसँग सम्बन्धित ३० वटाभन्दा बढी संग्रहालय छन् । सन् १८१४ मा स्थापित इन्डियन म्युजियम भारतकै सबैभन्दा ठूलो संग्रहालय मानिन्छ ।

कोलकातालाई ब्रिटिस कालमा पूर्वको मोती भन्ने गरिन्थ्यो रे । सन् १९४७ मा भारत-पाकिस्तान विभाजनपछि कोलकाताको दुर्दिन सुरु भएको रहेछ । तत्कालीन समयमा शरणार्थीहरूको व्यापक प्रवेश भएपछि यहाँको अर्थव्यवस्था नराम्रोसँग प्रभावित भएको इतिहासमा पढ्न पाइन्छ ।

बौद्धिक राजधानीको गौरव प्राप्त कोलकाताको भारतीय स्वाधीनता आन्दोलनमा पनि केन्द्रीय भूमिका छ । भारतीय राष्ट्रिय कांग्रेसका साथै कतिपय प्रमुख राजनीतिक एवं सांस्कृतिक संस्थानहरू जस्तै हिन्दू मेला र क्रान्तिकारी संगठन, युगान्तर, अनुशीलन आदिको स्थापना यसै सहरमा भएको हो । यो सहरमा भारतका धेरै महान् हस्तीहरूले जन्म लिएका छन् । अरविन्द घोष, इन्दिरा देवी चौधरानी, विपिनचन्द्र पाल, रामकृष्ण परमहंश र उनका शिष्य स्वामी विवेकानन्द, भारतीय राष्ट्रिय कांग्रेसका प्रथम अध्यक्ष व्योमेश चन्द्र बैनर्जी र स्वराजको वकालत गर्ने सुरेन्द्रनाथ बैनर्जी, प्रख्यात बाङ्ला साहित्यकार बंकिमचन्द्र चटर्जी, नेताजी सुभाषचन्द्र बोस, राष्ट्रकवि रवीन्द्रनाथ टैगोरजस्ता महान् रचनाकार तथा सैकडौं स्वाधीनताका सिपाहीहरूको घर हुने गौरव यस सहरलाई प्राप्त छ।

कोलकाता जानका लागि रक्सौलबाट प्रत्येक दिन बिहान १०ः१५ मा मिथिला एक्सप्रेस र हरेक हप्ताको बिहीबार र शनिबार बेलुका ८ः४५ मा रक्सौल हावडा एक्सप्रेस नामको ट्रेन पाइन्छ । त्यस्तै गोरखपुरबाट हरेक दिन बाघ एक्सप्रेस र अरू पाँचवटा ट्रेन पाइन्छन् । जोगबनीबाट एउटा र न्यु जलपाइगुडीबाट ३० भन्दा बढी रेल पाइन्छन् ।

कार्यक्रम सकिएको साँझ हल्का रमाइलो गर्ने मुड बन्यो । भूपिन, म र प्रदीपजी हार्डतिर लाग्यौं । हेमन यात्री बियरले चित्त बुझाउनेतिर लाग्यो । होटलको रुममै सुरु भयो कार्यक्रम । हामीसँग वीरगन्जबाट बोकेको स्याउ बाँकी नै थियो । भूपिनसँग अत्यन्त धारिलो स्विस आर्मी नाइफ थियो । हामी स्याउ काटेर खाँदै थियौं । हेमनले त्यही नाइफले घोचेर स्याउ खाने क्रममा धारले उसको जिब्रो भेटेछ । मुखबाट रगत निस्केको देखेर हेमनलाई एक्कासि के भयो, ऊसले नाइफको धार बसेको बेडमा चलाएछ ।

माथिको सेतो तन्ना त काटियो नै त्यसभन्दा तल रहेको म्याट्रेस पनि काटियो । म्याट्रेस निकै महँगोजस्तो देखिन्थ्यो । अब के गर्ने ? हाम्रो नसाअघि नै रफुचक्कर भइसकेको थियो । मलाई कहाँबाट सुझ्यो थाहा छैन हतारहतार म्याट्रेस पल्टाएर ओच्छ्याएँ र होटलको केटालाई बोलाएर तन्ना काटिएको बताएँ । हामीसँग तिर्नका लागि पर्याप्त पैसा पनि थिएन । बडो डरैडरमा त्यो रात बितायौं । हाम्रो ट्रेन भोलिपल्ट दिउँसो थियो । हेमन र प्रदीपजीको चाहिँ पर्सिपल्ट । तै कसैले पल्टाएर हेरेनछ र हामी बच्यौं ।

जे होस्, त्यो यात्रा धेरै हिसाबले प्रभावकारी र उपलब्धिमूलक रह्यो । आदिकवि (? ) भानुभक्तले दुई सय वर्षपछि हामीलाई कोलकातासँग जोड्ने काम गरे । कतिपय सन्दर्भमा भानु विवादित पनि छन् । खासगरी उनको ‘बधूशिक्षा' खण्डकाव्यमा रहेका केही विवादित हरफका कारण पछिल्लो समय उनको निकै आलोचना गरिएको छ । ‘हाँस्न्या हुन्न कदापि नारीजनले वेश्या हुन्या हाँस्तछन्' जस्ता अभिव्यक्तिले भानुभक्तले नारीको अपमान गरेको सन्दर्भ जोडिएर आएको छ । त्यसैले भानुलाई देवत्वकरण गर्नुको पनि अर्थ छैन र उनको योगदानलाई धुलीसात गर्न खोज्नुको पनि अर्थ छैन । हामीले केही कमीकमजोरीसहितका भानुलाई स्वीकार गरे के बिग्रन्छ र ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.