यी गीतको प्रयोजन समाप्त भए ?

यी गीतको प्रयोजन समाप्त भए ?

होशियार... होशियार...
यसबखत समयको मुखलाई चिन
वरिपरिका भीडमा पहिले आफैलाई चिन...
यो बेला यस्तो बेला हो सँघार-साँधमा उभेको
छलीले अँगालो हाली पछाडि छुरी धसेको
जो रामको भेष धरेर रावणको कर्तुत गर्दछ
त्यो तिम्रो फूलबारीको विषालु सर्प हो चिन...

गायक भक्तराज आचार्यको आवाजमा रेकर्डेड यो गीत सम्भवतः आजको पुस्ताले सुनेकै छैन । सुनून् पनि कसरी ? जबकि यो गीत न रेडियो-एफएमबाट बज्छ न त सम्झेर कतै सभा-समारोहहरूमा कुनै गायकले नै गाउँछ ! सम्भवतः बिर्सिसकिएको छ यसलाई । वास्तवमा जब जन्म भयो यो गीतको, त्यही जन्म-समयदेखि नै विवादमा तानिइरहेको कथा छ यसको । विवाद मात्रै होइन अन्ततः सार्वजनिक रूपमै यो गीतलाई प्रसारणमा रोक लगाइएको थियो । कारण थियो, गीतमा प्रयोग भएका शब्दहरू । गीतमा केही त्यस्ता शब्द प्रयोग भए जुन सुन्दा सामान्य लाग्छन् तर तत्कालीन राज्यव्यवस्थाको नजरमा- ती शब्दहरूको प्रयोग गरिएका वाक्यहरू घोर आपत्तिजनक मानिए ।

गीतको पहिलो चरणमा ‘रामको भेष धरेर रावणको कर्तुत गर्दछ'को राम अर्थात् राजाले भेष धरेर रावणको कर्तुत गर्दछ जो पूmलबारीको सर्प हो भन्ने सम्भवतः अर्थ लगाइयो । अम्बर गुरुङ यो गीतका रचनाकार, जो तत्कालीन राजा महेन्द्रद्वारा नेपाल बोलाइएका व्यक्ति थिए । त्यसो त उनी यत्तिकै बोलाइएका थिएनन् । प्रवासमा रहेका नेपालीको पीडा व्यक्त गरेर उनले एउटा गीत गाएका थिए, जसका केही पंक्ति यस्ता थिए-
नौलाख तारा उदाए धरतीको आकाश हाँसेछ
शरद लाग्यो वनमा पूmलले प्रीति गाँसेछ...
नसम्झ आज नेपाली सञ्चोले यहाँ बाँचेको..
मुटुको रगत एउटै हो पीरको बह बेग्लै छ
हामीलाई यहाँ चिन्यौ कि मनको चोट बेग्लै छ...


आफ्नो सन्मुख यही गीत गाएपछि प्रभावित भएर राजा महेन्द्रद्वारा उनी नेपाल बोलाइए र समयक्रममा उनी यतैको बासिन्दा बनेका थिए । यस आधारमा यति त भन्न सकिन्छ कि उनले राजाकै विरोधमा यी शब्द पक्कै लेखेका थिएनन् । पछि नेपालमा लोकतन्त्रको स्थापनापश्चात् उनलाई ललितकला प्रज्ञाप्रतिष्ठानको कुलपतिसमेत बनाइनुबाट पनि यो तथ्य छर्लंग हुन्छ । त्यसैले यसो भन्न सकिन्छ— निरंकुश पञ्चायती प्रवृत्तिको एउटा अंगमात्रै कारक तत्वव थियो यो गीत प्रतिबन्धित हुनुमा । अवश्य पनि पञ्चायतका धुपौरेहरूको प्राकृतिक चरित्रको एउटा नमुना थियो त्यो । अन्यथा अन्य कारण के हुनसक्छ ? समयको यथार्थ वर्णन त थियो त्यो गीतमा ! मूलतः तत्कालीन राजनीतिको प्रतिविम्ब थियो । (आज पनि यही गीतले भनेभैmं समय उस्तै नै त छ, कहाँ मुक्त छ र यो विकृतिबाट आजको परिवेश पनि ? ) यस अर्थमा पनि आज गणतान्त्रिक भनिसकिएको हाम्रो नेपालमा यो र यस्तै खालका समयलाई उजागर गर्ने किसिमका गीतहरू बजाइनुपर्ने आवश्यकतामाथि कसैको ध्यान पुगेको देखिन्न । खोइ, यस्तो खुला वातावरणमा पनि कहाँ लुकाइएका छन् यस्ता गीतहरूका कार्टेज ?

बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो ।
पखेरुमा जन्मिई टाकुरामा खेल्ने
म झुक्दै नझुक्ने नेपालको छोरो ।
खोसेको रोटीले मेरो पेट भरिन्न
मागेको धोतीले मेरो लास छोपिन्न
घोटिएर हातपाउ झरिजाऊन् औंला
तर कोहीअगाडि यी हात जोडिन्न ।
म आगो सहन्छु अन्याय सहन्न
म तृष्णा सहन्छु तिरस्कार सहन्छु
मेरो शिर उडाऊ बरु त्यो सहन्छु
तर कोही परायाले टेके सहन्न ।

देशभक्तिमाथिको योभन्दा महान् शब्द अरू के हुन सक्छ ? गोपाल योञ्जनले आपैmंले लेखेर आफ्नै संगीतमा गाएको गीत हो यो । भौगोलिक रूपले साना राष्ट्रहरूमाथि ठूला राष्ट्रले गर्ने अन्याय-अत्याचारको विरोधमा एउटा स्वाभिमानी राष्ट्रको नागरिकले दिएको यो चुनौती हामी नेपालीको सन्दर्भमा अत्यन्तै सुहाउँदो छ । गीतका एक-एक शब्दहरू समसामयिक छन् । देश भनेको माटो मात्रै होइन, देशलाई केवल भूमि वा माटोको रूपमा मात्रै बुझिनु हुन्न, देश भनेको माटोभन्दा माथि उठेको मातृभूमि हो । मातृभूमि चाहे जस्तोसुकै होस्, बिग्रेको होस्, भत्केको होस्, मान्छेको लागि त्यो अत्यन्तै प्रिय हुन्छ । यत्तिकै लेखेका थिएनन् नाट्यसम्राट् बालकृष्ण समले, ‘देशभक्ति त मर्दैन चुत्थै देश भए पनि...।'



समयको धार नै उल्टो छ । यतिखेर हावा नै विपरीत दिशामा बहेजस्तो, आवश्यकीय विषयवस्तुहरू पलायन हुँदै छन्, अनावश्यकीय विषयहरू मात्रै दृश्यमा छन् ।

अविकसित होस्, देशले केही खान-पिउन नदेओस्, अर्थात् चुत्थै होस् देश, तर देश भनेको देश हो, कुनै पनि अर्थमा देशलाई घृणा गर्न सकिन्न । देश भनेको नागरिकको स्वाभिमान होे । त्यसैले त गोपाल योञ्जनले आगो सहने तर आपूmमाथिको अन्याय नसहने, बरु तृष्णा सहने तर तिरस्कार नसहने स्वाभिमानी उद्घोषण गरे गीतमा । शिर काटिमाग्न तैयार छन् उनी, तर पराधीनता स्वीकार्न कदापि तयार छैनन् । के आजको परिस्थितिमा प्रत्येक नागरिकले गाउँदै हिँड्नुपर्ने गीत होइन यो ? तर कसले गाउँछ यस्तो गीत आजकल ? कसले लेख्छ ? कथित राष्ट्रप्रेमको नाममा कविता लेखेको आत्मरति बोकेर नाम कमाउने धुनमै व्यस्त छन् हाम्रा चर्चित कविहरू । सायद समयको धार नै उल्टो छ । यतिखेर हावा नै विपरीत दिशामा बहेजस्तो, आवश्यकीय विषयवस्तुहरू पलायन हुँदैछन्, अनावश्यकीय विषयहरू मात्रै दृश्यमा छन् ।
०००
गाउँ-गाउँबाट उठ
बस्ती-बस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ...
हातमा कलम हुनेहरू कलम लिएर उठ
बाजा बजाउन जान्नेहरू बाजा लिएर उठ ।
हातमा औजार हुनेहरू औजार लिएर उठ
साथमा केही नहुनेहरू आवाज लिएर उठ ।
झिल्का-झिल्का बाल्नेहरू ज्वाला लिएर उठ
देशका लागि लड्नेहरू एकजुट भएर उठ ।


राल्फा समूहका रायन, रामेश, मञ्जुलका आवाजको यो गीत बज्नु कति जोखिमपूर्ण थियो तत्कालीन राज्य-व्यवस्थामा ! गाउँदागाउँदै पक्राउ पर्ने डरले लुकी-लुकी गाएर हिँड्नुपथ्र्यो । तर, आजको समय पूर्ण रूपमा परिवर्तित भइसकेको छ । जहाँ-जता जेसुकै भनेर हिँडे पनि गाएर हिँडे पनि फरक पर्दैन । एक अर्थमा, अराजकता छ समाजमा । सबैतिर, स्वतन्त्रताको दुरुपयोग भएको छ । यसभित्र पनि केचाहिँ प्रस्ट देखिन्छ भने, चन्द्र-सूर्य अंकित झन्डा उठाएर देशभक्तिको केवल नारा लाउनेहरूको ओइरो छ यतिखेर ।

जताततै, आडम्बरको खोल ओढेर नक्कली स्वाभिमानको गीत गाउनेहरूको जगजगी छ । ‘हामी केवल गाइने भयौं । मादल बजाउने मादले मात्रै भयौं । हाम्रै गीतमा नाची-नाची हामीलाई भर्‍याङ बनाएर धेरै माथि पुगे राजनीतिज्ञहरू । तर हाम्रो गीतका शब्दहरूलाई भने फोस्रा बनाइदिएका छन् तिनले । अर्को शब्दमा भन्ने हो भने, हाम्रा गीतहरूको घाँटी रेटिदिएका छन्,' रामेश आक्रोश पोख्छन् । रायन थप्छन्, ‘हामीसँसँगै हाम्रै गीतमा नाच्नेहरू त साह्रै पाखण्डी रहेछन् । सत्तामोहले यति नराम्रोसँग तिनीहरूलाई गाँजेको छ कि नैतिकता भन्ने शब्द नै तिनीहरूको शब्दकोशबाट मेटिइसक्यो।'

जनताको माझबाट उठेका यस्ता गायकहरूको गुनासो सुन्ने कसले ? सरसर्ती हेर्ने मात्रै हो भने पनि वाकस्वतन्त्रताको यो परिवेशमा यस्ता बोलीहरू केवल बोल्नकै निमित्त मात्रै प्रयोग भएका देखिन्छन् । होइन भने, गणतन्त्र स्थापना भइसकेको भनिएको यो समयमा त्यसको मूल्य कायम हुनु पर्दैनथ्यो र ? यस्ता गायकका गीतको गरिमालाई समेत देशको तथाकथित राजनीतिले गुमनाम पारिराखेको स्थिति छ अहिले । प्रश्न उठ्छ— देशका कुना-कन्दराबीचका मनमस्तिष्कमा चेतना छर्ने यो र यस्ता गीतको प्रयोजन के समाप्त भइसकेको हो त अब ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.