पाब्लो नेरुदाका चार कविता

पाब्लो नेरुदा प्रेम र क्रान्तिका कवि हुन् । सम्भवतः संसारभरि नै सबैभन्दा बढी अनूदित र पढिएका कवि उनै हुन् । विश्वप्रसिद्ध आख्यानकार मार्खेज भन्थे, ‘नेरुदा कुनै पनि भाषाका बीसौँ शताब्दीका महानतम कवि हुन् ।' रसियाली कवि येभ्गेनी येभ्तुशेन्कोले ‘नेरुदालाई सन्देशपत्र' कवितामा लेखेका छन् :
‘...विनाविचलन
चुपचाप र सरल ढङ्गले
उनले कवितालाई
पाउरोटीझैँ
जनतासम्म पुर्याए ।'
बीस वर्षकै उमेरमा सन् १९२४ मा उनको पहिलो कवितासङ्ग्रह ‘बीस प्रेम कविता र एउटा विषाद गीत' प्रकाशित भयो । यसले उनलाई रातारात प्रसिद्धि दिलायो । ‘द पोएट्री अफ पाब्लो नेरुदा'का लेखक रेने दे कोस्ता भन्छन्, ‘प्रेम कविताले स्त्रीलाई प्रकृतिको समान बनाएको छ । नेरुदाले तुलनाको यो स्थापित मान्यतालाई ब्रह्माण्डीय तहमा पुर्याइदिए । उनले महिलालाई ब्रह्माण्डको सच्चा शक्तिमा रूपान्तरण गरिदिए ।'
‘विश्वकवि', ‘कविहरूका कवि', ‘कविताको पाब्लो पिकासो', ‘दक्षिणका ह्विटम्यान' आदि अनेक उपनाम दिइएका नेरुदाको काव्ययात्रा पचास वर्षभन्दा बढी जारी रह्यो । उनको काव्ययात्राका विभिन्न चरण र मोड थिए । एउटा कालखण्डमा उनी प्रेमको प्रवक्ताजस्ता लाग्छन् भने अर्काे कालखण्डमा प्रतिबद्ध कम्युनिस्ट कवि, जो पुँजीवाद र साम्राज्यवादको धुवाँदार विरोध गर्छ । उनकै देश चिली तथा सम्पूर्ण ल्याटिन अमेरिकाले भोगेको शोषण र दुर्भाग्यहरूलाई उनले लिपिबद्ध मात्र गरेनन्, उनका कविता संसारभरिका उत्पीडितहरूका सुस्केरा र आक्रोशका प्रतिनिधि पनि हुन् । उनका ‘इस्ला नेग्रा', ‘रेजिडेन्स अन अर्थ', ‘कान्टो जेनेरल', ‘द ह्यान्ड्स अफ द डे', ‘द बुक अफ क्वेस्चन्स', ‘द एलो हार्ट' लगायत दर्जनौँ सङ्ग्रह र एउटा संस्मरणात्मक किताब ‘मेम्वार्स' प्रकाशित छन् ।
यहाँ प्रस्तुत नेरुदाका चार कविता विनोदविक्रम केसीले अनुवाद गरेका हुन् ।
१.
युनाइटेड फ्रुट कम्पनी
बिगुल बज्यो जब
धर्तीमा सारा बन्दोबस्त मिलाइसकिएको थियो
ईश्वरले
कोकाकोला, एनाकोन्डा
फोर्ड मोटर्स र अन्य कम्पनीलाई
बाँडिदिए यो पृथ्वी ।
युनाइटेड फ्रुट कम्पनीले
आफ्ना लागि सुरक्षित गर्यो
सबैभन्दा रसिलो
मेरो देशको केन्द्रीय तट
अमेरिकाको नाजुक कम्मर ।
यहाँको भूभागलाई
कम्पनीले दियो नयाँ नाम– ‘बनाना रिपब्लिक'
र, निद्रामा लीन मृतकहरूमाथि
उद्विग्न नायकहरूमाथि
जसले दिलाए मुक्ति र महानता
र, गाडे झन्डाहरू
उनीहरूको चिहानमाथि
उसले खडा गर्यो हास्यास्पद नाचघर ।
कम्पनीले
उन्मूलन गरिदियो स्वतन्त्र राज्यहरूलाई
तिनका सामुन्ने राखिदियो सिजरका मुकुटहरू
म्यानबाट निकाल्यो ईष्र्या
र, लोभ्यायो झिङ्गाहरूको अधिनायकत्वलाई
अनेक अनेक झिङ्गाहरू
त्रुहियो१ जस्ता झिङ्गा, त्याचोजस्ता झिङ्गा,
कारियासजस्ता झिङ्गा, मार्तिनेसजस्ता झिङ्गा,
उबिकोजस्ता झिङ्गा
र, विनीत रगत र सुन्तलाको रसले भरिएका
ओसिला झिङ्गाहरू,
साधारण जनका चिहानमाथि
भुनभुन गर्ने मदहोश झिङ्गाहरू,
अनि, सर्कसका झिङ्गाहरू,
तानाशाहीमा उत्तम प्रशिक्षित बुद्धिमान झिङ्गाहरू ।
रक्तपिपासु झिङ्गाहरूको माझमा
कम्पनीले उतार्यो आफ्ना जहाजहरू
लुटेर लग्यो कफी र फलफूल
हाम्रो जलमग्न भूखण्डका खजाना
थालमा पोखिएसरी पोखिए उसका जहाजमा ।
यतिखेर, ठीक यतिखेर
इन्डियन आदिवासीहरू
बन्दरगाहका गुलिया भड्खालामा खसिरहेछन्
बिहानको कुहिरोमा
अन्त्येष्टिका निम्ति वेष्टित छन् उनीहरू ।
गुल्टिन्छ एउटा शरीर, एउटा वस्तु
जसको कुनै नाम छैन, कुनै पराजित मामुली मान्छे
फोहोरको खाल्डोमा फालिएको
मृत फलफूलको एउटा थुप्रो ।
फुटनोटः
डोमिनिकन गणतन्त्रका तानाशाह राफाएल त्रुहियो, त्याचो भनेर सम्बोधन गरिने निकारागुवाका शासक अनास्तासियो सोमोजा गार्सिया, होन्डुरसका राष्ट्रपति तिबुर्सियो कारियास, एल साल्भाडोरका राष्ट्रपति म्याक्सिमिलियानो एर्नान्देज मार्तिनेस र ग्वाटेमालाका तानाशाह होर्खे उबिको । यी सबै संयुक्त राज्य अमेरिकाका कठपुतली थिए ।
२.
प्रश्न
बताऊ मलाई, गुलाब नाङ्गो हुन्छ
या, नग्नता उसको एकमात्र पहिरन हो ?
रूखहरू किन लुकाउँछन्
जराको कान्ति ?
कसले सुन्छ होला
चोरीको गाडीका पछुतोहरू ?
झरीमा उभिएको रेलभन्दा उदास
अर्काे के होला यो दुनियाँमा ?
३.
जलपरी र जँड्याहाहरूको दन्त्यकथा
पूर्णतः नग्न
उनी त्यहाँ आइपुग्दा
तिनीहरू त्यहीँ भित्रै थिए
रक्सी खाइरहेका उनीहरू तब थुक्न थाले
भर्खरै नदीबाट आएकी उनी
बुझ्दिन थिइन् केही पनि
बाटो भुलेकी मत्स्यकन्या थिइन् उनी
उनको चम्किलो देहमाथि बग्न थाले अपमानहरू
अश्लीलताभित्र डुबे उनका सुनौला स्तन
आँशुबारे अञ्जान उनी
रोइनन् आँशु झारेर
लुगाबारे अनभिज्ञ उनी
थिइन् निर्वस्त्र
जँड्याहाहरूले गोल र चुरोटका ठुटाले
बनाइदिए कालाम्य उनलाई
र, भट्टीको भुइँमा हाँस्दै–रमाउँदै लडीबुडी खेले
जलपरी केही बोलिनन्
किनभने उनीसँग थिएनन् शब्द
सुदूर प्रेमको रङ थिए उनका आँखा
श्वेत पुष्पराजले बनेका थिए उनका पाखुरा
सिपी प्रकाशमा चले उनका ओठ, मौन
र, अकस्मात्
भट्टीको ढोकाबाट निक्लिइन् जलपरी
नदीमा पसिन् र सुकिली भइन्,
झरीमा टल्कने सेतो पत्थरसमान
चहकिली भइन्
र, पछाडि नफर्की पौडिइन् पुनः
पौडिइन् शून्यतिर, मृत्युतिर ।
४.
तिम्रा खुट्टा
जब हेर्न सक्दिनँ म तिम्रो अनुहार
हेर्छु तिम्रा खुट्टा ।
गुम्बजाकार हाडका खुट्टा
कडा र साना खुट्टा ।
मलाई थाहा छ
तिमीलाई बोक्छन् तिनले
तिम्रो सुन्दर भार उभिएको छ तिनमाथि ।
तिम्रो कम्मर र तिम्रा स्तन,
र स्तनका बैजनी मुन्टा,
तिम्रा आँखाका खोपिल्टा
जो बगेका छन् भर्खर,
तिम्रो चौडा रसिलो मुख,
तिम्रो रातो चुल्ठो
मेरी सानी स्तम्भ !
तर, म माया गर्छु तिम्रा खुट्टालाई
मात्र, किनभने
मलाई नभेटुन्जेल
ती हिँडे
यस धर्तीमा
हावामा
र, नदीमा ।
प्रतिक्रिया दिनुहोस !
