हरिश्चन्द्र निर्देशनको साँचो कथा

हरिश्चन्द्र निर्देशनको साँचो कथा

विद्यार्थीकाल/स्कुले जीवनमा सामान्यज्ञान हाजिर जवाफमा अत्यधिक रुचि भएका कारण प्रथम नेपाली चलचित्र र त्यसका निर्देशकबारे उत्तर कण्ठस्थ भएसँगै त्यो सिनेमाबारे जान्ने, बुझ्ने र सिनेमा हेर्ने जिज्ञासा मनमा रहिरहनु स्वाभाविक थियो । समयक्रममा स्नातकोत्तरमा आमसञ्चार र पत्रकारिताको विद्यार्थी हुँदा रत्नराज्य लक्ष्मी क्याम्पसमा सिनेमाबारे विशेष कक्षा लिन निर्देशक लक्ष्मीनाथ शर्मा आइपुग्नुभएको थियो । त्यसपछि लक्ष्मीनाथ शर्माले लेख्नुभएको पुस्तक ‘चलचित्र कला' पढेपछि प्रथम नेपाली चलचित्रबारे धेरै जानकारी पाइयो तर सिनेमाको कपी सुरक्षित संग्रह नभएको थाहा पाउँदा मन खिन्न भएको थियो ।

त्यसो त २०५७ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको नाट्य विभाग प्रमुख केशवप्रसाद उपाध्यायको तत्वावधानमा निर्देशक प्रकाश सायमीले एक कार्यपत्र प्रस्तुत गर्दा जिज्ञासु श्रोताका रूपमा म पनि सहभागी हुन पुगेको थिएँ । ‘रेडियो सगरमाथा'मा प्रसारण हुने प्रकाश सायमीद्वारा चलाइने कार्यक्रम ‘अजम्मरी गीत-संगीत'ले ‘भावक अभियान' जन्माइसकेको थियो ।

त्यस मानेमा म एउटा भावकका रूपमा त्यो कार्यक्रममा पुगेको भए पनि सायमीले नेपाली सिनेमालाई कसरी पञ्चायती व्यवस्थाले उपयोग गर्ने कोसिस गरेको थियो भनेर सविस्तार व्याख्या गरेको आजसम्म दिमागमा ताजै छ । जे होस्, पहिलो नेपाली सिनेमाको चर्चा गर्दा लक्ष्मीनाथ शर्माले आफ्नो किताबमा उल्लेख गरेको तथ्य नै सबैले उद्धरण गर्ने गरेको पाइएको छ, चाहे आलोचना होस् वा तारिफ ।

२०६६ सालमा भारतको महाराष्ट्र वर्धास्थित ‘इन्स्टिच्युट अफ गान्धियन स्टडिज'बाट आठमहिने पोस्ट ग्य्राजुएट डिप्लोमाको अध्ययन सकेपश्चात् भारत जाने/आउने क्रम ह्वात्तै बढ्न पुग्यो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली नेताहरूले भारतमा आ श्रय लिएकाले र पुराना सामग्री सुरक्षित संग्रह गर्ने समृद्ध परम्परा भारतमा भएकाले भारतका सहरी केन्द्र र विभिन्न पुस्तकालयमा अनुसन्धानका लागि पुग्ने क्रम जारी छ ।

२०७२ सालमा दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)मा एमफिल/पीएचडीको विद्यार्थीका रूपमा दर्ज हुनुभन्दा दुई वर्षपहिले नै म नेहरू मेमोरियल म्युजियम एन्ड लाइब्रेरीको सदस्य भइसकेको थिएँ । स्वतन्त्र अनुसन्धानका सिलसिलामा बीपी कोइरालामाथि खोज गर्दै गर्दा ‘भोला चट्टर्जी पेपर्स'मा अकस्मात् डीबी परियारले लेखेको ६० पृष्ठ लामो (एफोर साइजको) सामग्री भेटिन पुग्यो । (भोला चटर्जी पेपर्स के हो, भोला चटर्जी को हुन्, मैले कसरी त्यो भोलाको परिवारलाई भेटेर ती कागज हेर्ने बन्दोबस्त गर्न सकेँ, आदि बारेको लामो कथा कुनै अर्को लेखमा लेखौंला ।)

डीबी परियार मेरो लागि नौलो नाम नभएकाले मैले तत्काल लाइब्रेरीका निर्दिष्ट प्रक्रिया पूरा गरेर उक्त सामग्री फोटोकपी गर्ने प्रबन्ध मिलाएँ । डीबी आफैंले उक्त ६० पृष्ठको पाण्डुलिपिलाई ‘डिगिङ डाउन र मेमोरी लेन' शीर्षक राखिदिएका थिए । उक्त पाण्डुलिपि मसँग केही वर्ष यत्तिकै थन्कियो । यसबीचमा हामी निवर्तमान स्वास्थ्यमन्त्री गगन थापा, म र प्रताप पौडेल भएर पब्लिक पोलिसी पाठशालाबाट प्रकाशित ‘नेपाली कांग्रेस - ऐतिहासिक दस्तावेज'को दोस्रो संस्करण निकाल्न लागिपरेका थियौं ।

अनुसन्धानले के देखायो भने पहिलो नेपाली चलचित्र बनाउने डीबी परियार र नेपाली कांग्रेसको माउ पार्टी नेपाली राष्ट्रिय कांग्रेसको संस्थापक मन्त्री रहेका देवव्रत परियार एकै व्यक्ति हुन् । नेपाली सिनेमाले डीबी परियारलाई बिर्सेको छ तर नेपाली कांग्रेस पार्टीका नेताले विशेष गरी २०६२/०६३ सालयता आरक्षणको बहस उभारमा पुगेपश्चात् भाषणमा डीबीको नाम लिने गरेको तर उनको जन्म, मृत्यु र एक प्रति फोटो पनि फेला नपारेको लाजमर्दो स्थिति छ ।

डीबी परियारले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान विस्मृतिको गर्भमा लामो समय रहन उचित नहुने देखेर मैले उक्त पाण्डुलिपि चाँडै प्रकाशन गर्नुपर्ने अठोट गरेँ । डीबी परियार नेपाली सिनेमाको इतिहास र नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहाससँग समानान्तर रूपमा जोडिएकाले किताब प्रकाशित गर्दा मैले मेरो सम्पादकीय टिपोटका लागि धेरै थोक खोज्नुपर्ने भयो । सोही कारणले म डीबीको परिवार बस्ने कलकत्ता पुगेँ, नेपाली सिनेमासम्बन्धी पुरानो पत्रिका ‘कामना'को पुस्तकालय पुगेँ र अन्नपूर्ण पोस्ट्को शनिवारीय परिशिष्टांक ‘फुर्सद'मा मंसीर १२, २०७२मा प्रकाशित अविनाश श्रेष्ठको लेख ‘को थिए हरिश्चन्द्रका निर्देशक ? ' पनि छिमल्न पुगेँ ।

 डीबी परियार

डीबीको सिनेमासँगको संलग्नता र सम्बद्धताबारे पहिलो नेपाली सिनेमा कुनलाई मान्ने र डीबी परियार ‘सत्य हरिश्चन्द्र'का निर्देशक हुन् कि होइनन् भन्नेबारे चेतन कार्कीले २०६७ वैशाखमा प्रकाशित ‘कामना'को २५० औं विशेषांकमा लेखेको लेख ‘चलचित्र उद्योगसँग कामनाको साइनो' र माथि उल्लिखित अन्नपूर्ण पोस्ट्मा प्रकाशित अविनाश श्रेष्ठको लेखले केही गम्भीर प्रश्न उठाएका छन् ।

चेतन कार्कीका तर्क यसप्रकार छन्, ‘कसैले ‘सत्य हरिश्चन्द्र'लाई पहिलो चलचित्र मानेका छन् भने कसैले ‘आमा'लाई । म मेरो गुरु हीरा सिंहले बनाएको चलचित्र भएको दृष्टिकोणले भएर होइन केही कारणहरूले ‘आमा'लाई पहिलो नेपाली चलचित्र भन्छु । ‘सत्य हरिश्चन्द्र' जुन नेपालभित्र बन्दै बनेन, जसको सुटिङ नेपालभित्र भएन, जसमा नेपाली प्राविधिकको संलग्नता भएन, नेपाली कलाकारको संलग्नता भएन, जसको नेपालभित्र प्रोसेसिङ, प्रिन्टिङ भएन अर्थात् निर्माणको कुनै पनि पक्ष नेपालसँग सम्बन्धित नभएपछि त्यसलाई हामीले नेपाली चलचित्र कसरी मान्ने ? ' ‘सत्य हरिश्चन्द्र' पहिलो नेपाली चलचित्र भनेर हामीले इतिहासमा लेख्ने अर्कै हो । तर, त्यो पहिला हिन्दी भाषमा छायांकन गरेर पछि नेपालीमा डबिङ गरिएको हो भन्ने मेरो मान्यता छ । त्यसमा अनुसन्धान आवश्यक छ ।'

चेतन कार्कीले उल्लेख गरेका तथ्यलाई खण्डन गरे अर्का निर्देशक लक्ष्मीनाथ शर्माले आफ्नो पुस्तक ‘नेपाली चलचित्रको इतिहास'मा । उनले उक्त पुस्तकमा यस्तो लेखेका छन्, ‘अत्यन्त विचारणीय कुरा के छ भने इतिहासमा कहिल्यै पनि ‘अर्कै कुरा' लेखिँदैन र लेखिनु हुन्न । इतिहासमा त कुनै पनि कुराको ‘वैज्ञानिक प्रमाण' हुनैपर्छ । व्यक्तिगत धारणा, मान्यता र कल्पनाका कुराहरू प्रमाणबिना ‘ऐतिहासिक तथ्य' बन्न सक्दैनन् । भारतमा निर्माण गरिँदैमा तथा भारतीय प्राविधिकहरू प्रयोग हुँदैमा नेपाली चलचित्र भन्नु हुँदैन भने ‘आमा', ‘माइतीघर', ‘हिजो, आज, भोलि' र ‘परिवर्तन'का कामदार र प्राविधिकहरू पनि सबै नेपाली थिएनन् । ...वास्तवमा नेपालमा संवत् २०२२ सालदेखि बनेका कुनै पनि चलचित्र २०४९ सालसम्म नेपालमै धुलाइएनन् पनि तथा धपाइएनन् पनि । नेपालमा त्यसको प्रबन्ध हुन सकेकै थिएन ।'

लक्ष्मीनाथ शर्मा थप अगाडि लेख्छन्, ‘चलचित्र ‘सत्य हरिश्चन्द्र'मा नेपाली कलाकारको संलग्नता थियो कि थिएन भन्ने कुरामा विश्लेषण गरेर हेर्नुपर्ने हुन्छ । दार्जिलिङ, कालिम्पोङ र कलकत्तामा बसोबास गर्ने नेपाली मूलका मानिसलाई हामीले नेपाली नै भन्ने गरेका छौं । सुप्रसिद्ध निर्देशक प्रताप सुब्बा, तुलसी घिमिरे, शम्भु प्रधान, बन्नी प्रधान, उग्र्य छोयेलजस्ता व्यक्तित्वलाई अथवा देहरादुनवासी हीरासिंह खत्री र बीएस थापालाई पनि हामीले नेपाली निर्देशक नै मानेका छौं । ‘सत्य हरिश्चन्द्र'मा दार्जिलिङ, कालिम्पोङ र कलकत्तामा बसोबास गर्ने नेपाली मूलका कलाकारहरूले अभिनय गरेका थिए ।'

यसप्रकारले हेर्दा ‘सत्य हरिश्चन्द्र'को ऐतिहासिकता र त्यसलाई नेपाली चलचित्र क्षेत्रको आदि सिनेमा मान्नुमा केही संशय बाँकी रहेन । त्यसो त डीबी परियारको जन्म काठमाडौँको बसन्तपुरमा भएको र उनी चार वर्षको हुँदा राजनीतिक कारणले राणाहरूको कोपभाजनमा परेर उनको परिवार दार्जिलिङ पुगेको परियारले नै लेखेका छन् ।

जहाँसम्म ‘हरिश्चन्द्र' दादा साहेब फाल्केकेले बनाएको ‘सत्य हरिश्चन्द्र'लाई डबिङ गरेर बनाइएको हो भन्ने दलिल छ, त्यो निम्न कारणले झूठो साबित हुन पुग्छ । सन् १९१३ मा फाल्केले हिन्दी ‘सत्य हरिश्चन्द्र' निर्माण गर्दा महिला कलाकारले सिनेमामा अभिनय गर्दैनथे, महिलाको भूमिका पनि पुरुषले नै अभिनय गर्थे । डबिङ गर्दा आवाजमात्र फेरिए पनि कलाकार नै फेर्न सकिँदैन । अर्को ऐतिहासिक तथ्य ‘सत्य हरिश्चन्द्र' सुटिङ भइरहँदा कामविशेषले कलकत्ता पुगेका बालकृष्ण सम सुटिङस्थल पुगेर फिल्मको सम्पूर्ण टोलीसँग खिचेको सामूहिक तस्बिर ‘कामना'को २०४६ सालको वर्ष ५ अंक ४ मा प्रकाशित हुनुले पनि पुष्टि गर्छ । उक्त तस्बिरमा महिला कलाकार पनि उपस्थित छन् ।

‘सत्य हरिश्चन्द्र' हिन्दीबाट डबिङ गरिएको भन्ने तर्क दिइएको छ । तर, तथ्यहरुले त्यो तर्कलाई गलत साबित गर्छन् । सो सिनेमा हेरेका र तत्कालीन शाही नेपाली चलचित्र संस्थानको लागि ‘सत्य हरिश्चन्द्र' को प्रिन्ट आफ्ना मित्र केशव लामिछानेसँग किनेर अर्काइभमा राखेका निर्देशक यादव खरेल भन्छन्, ‘मैले हेरेको प्रिन्टमा ‘सत्य हरिश्चन्द्र' डबिङ गरिएको चलचित्र हो भन्ने कुनै आधार थिएन । किनकि डबिङ गरिएका चलचित्रमा विशेषगरी क्लोज सटमा लिप सिन्कको जो समस्या देखापर्छ, त्यस्तो समस्या ‘सत्य हरिश्चन्द्र' मा थिएन ।

कलाकारका संवाद र ओठ, अनुहार र हाउभाउमा तादाम्यता थियो, सिन्क्रोनाइजेसन थियो ।' अविनाश श्रेष्ठले आफ्नो लेखमा विशेषगरी चारवटा तर्क गरेका छन्, त्यो पनि ‘सत्य हरिश्चन्द्र'को उपलब्ध एक पोस्टरलाई आधार मानेर । एक— चलचित्र हरिश्चन्द्र बनेकै थियो र यो नेपाली भाषामै बनेको थियो भन्ने प्रमाण यो पोस्टर आफँं हो । दोस्रो महत्ववपूर्ण तर्क— प्रथम नेपाली चलचित्रको नाम कसैले ‘सत्य हरिश्चन्द्र' त कसैले ‘राजा हरिश्चन्द्र' भनी बारम्बार उल्लेख गर्दै आएको पाइए पनि वास्तवमा चलचित्रको नाम ‘हरिश्चन्द्र'मात्र हो भन्ने पुष्टि पोस्टरले गर्छ । त्यस्तै तेस्रो तथ्य, हल्लैहल्लाको भरमा डीबी परियारलाई ‘हरिश्चन्द्र'को निर्देशक हुन् भन्ने गरिएको अयथार्थको खण्डन पनि यस पोस्टरले पुष्टि गर्छ । पोस्टरमा प्रस्टसँग निर्देशकको नाम ‘संघ रथी' भनी लेखिएको पढ्न सकिन्छ ।

अविनाश श्रेष्ठले उक्त लेख आफैं सम्पादक भएको ‘ श्री-सिने मासिक'का लागि तयार पारेको तर पत्रिका अकस्मात् बन्द गर्ने प्रकाशकहरूको निर्णय भएकाले लामो समयपश्चात् ‘अन्नपूर्ण पोस्ट्'मा छापेको उल्लेख गरेका छन् । अविनाशले आधार मानेको तेस्रो तर्क ‘संघ रथि' हरिश्चन्द्रको निर्देशक रहेको उल्लेख छ । त्यसलाई पुष्टि गर्न उनले बनावटी पटकथाको सहारा लिएको प्रमाणित हुन्छ । ‘संघ रथि' डीबी परियारको उपनाम रहेको उनका भाइ मंगलदेव परियारले ‘कामना'को वर्ष ५, अंक ४, २०४६ मा सविस्तार वर्णन गरेका छन् ।

मंगलदेवका अनुसार ‘सत्य हरिश्चन्द्र'को छायांकनमा संलग्न रहेका क्यामेराम्यान सुरेशदास (जसले जर्मनीमा सात वर्षसम्म क्यामेरासम्बन्धी तालिम लिएर काम गरिसकेका थिए)ले डीबीलाई ‘संघ रथी'को उपाधि दिएका थिए । २००७ सालको जनक्रान्तिको जिम्मेवारी र सिनेमाको काम एकैपटक उत्तिकै लगन र कुशलताका साथ गरेकाले ‘संघ रथी' शब्दले सम्बोधन गरेका थिए उनले । ‘संघ रथी'को उपाधिमाथि सत्य हरिश्चन्द्रको सुटिङका क्रममा पुगेका महान् नाटककार बालकृष्ण समले समर्थन जनाएका थिए ।

अविनाशले सिनेमामा भएको एक प्राविधिक त्रुटिलाई इंगित गर्दै, एकल निर्देशक नभएको र धेरैजना निर्देशक भएकाले पौराणिक कथामा पृष्ठभूमिमा रेल कुदेकोलाई आधार मानेर कपोलकल्पित लेखेको देखिन्छ । एक से एक राम्रा चलचित्रमा पनि प्राविधिक त्रुटि हुने गर्छन् । धेरैजनाले निर्देशकीय काम गरेकाले संघ (समूह) र रथी (हाँक्ने काम) का शाब्दिक उल्था गरेर काल्पनिक दृष्टान्त खडा गर्ने अविनाशको कोसिसलाई आधिकारिकता दिने प्रामाणिक आधार भेटिँदैन । संयोगले डीबी परियारका भाइ मंगलदेव र अविनाशको जागिर थलो प्रज्ञा प्रतिष्ठान नै थियो । एउटै प्रज्ञाप्रतिष्ठानको छानामुनि त्यतिका वर्ष सँगै काम गरेका मंगलदेव परियारले कामनामा निरुपण गरिसकेको तथ्यलाई बेवास्ता गर्दै मंगलदेवको देहान्त भएको निकै वर्षपछि अविनाशको लेख छापिनु संयोग मात्र होला र?
...

अर्को तथ्य, अविनाशजीले आधार मानेको पोस्टर चलचित्रको आधिकारिक पोस्टर नभएर विहारमा रहेको वितरकले तयार पारेको पोस्टर हो । ‘सत्य हरिश्चन्द्र'को आधिकारिक पोस्टर हालसम्म अप्राप्य नै छ । ‘सत्य हरिश्चन्द्र' का निर्देशक डीबी परियार नै थिए भन्ने प्रमाण सन् १९५१ मा आसामबाट प्रकाशित हुने ‘पागल' सचित्र हिन्दी सिने मासिकको अक्टोबर अंकको अन्तिम पानामा छापिएको विज्ञापनले पनि प्रमाणित गर्दछ ।

विज्ञापन यस प्रकार छ-
‘क्या आपने सुना है ? नेपाली दुनियाँ की बडी खबर प्रथम नेपाली फिल्म सत्य हरिश्चन्द्र के लेखक, कलाकार, निर्देशक श्री डीबी परियार के चेष्टा से ‘नेपाली फिल्म कम्पनी' के स्थापना हुई है । नेपाली भाषामे कइ एक चित्र की घोषणा इस कम्पनी ने की है । उस मे श्री मंगल की सारंगी (सामाजिक) और सावित्री सत्यवान (धार्मिक) प्रधान है निर्माण कार्य सुरु होगा । नेपाल, दार्जिलिङ, आसाम और बर्मा मे बसे हुए नेपाली साझीदार इस कम्पनी मे धन लगावे और नेपाली साहित्य, कला के साथ इस बहुत बडे फिल्म व्यवसायको आगे बढावें ।

- डाइरेक्टर, नेपाल फिल्म कम्पनी
- ९/१ ए. जस्टिस चन्द्र माधव रोड, कलकत्ता-२० ।'
ठीक यस्तै प्रकृतिको विज्ञापन काठमाडौंबाट प्रकाशित हुने ‘प्रगति' मासिकमा २००८ मा छापिएको विज्ञापनबारे अनुसन्धाता दीपक शर्माले मार्टिन चौतारीद्वारा प्रकाशित ‘मिडिया अध्ययन- ६' मा चर्चा गरेका छन् । यी दुई विज्ञापनले पनि डीबी परियार नै प्रथम नेपाली चलचित्रका निर्देशक भएको निसन्देह पुष्टि गर्छन्।

अब अविनाशजीले डीबी परियारका लागि उठाएको नैतिक पतनका बारेमा उल्लेख गरौं । उनले लेखेका छन्, ‘आफू ‘हरिश्चन्द्र'को निर्देशक होइन भन्ने थाहा हुँदाहुँदै पनि सन् १९८३ मा पहिलो नेपाली चलचित्र ‘हरिश्चन्द्र' निर्माण तथा निर्देशन गरेबापत पश्चिम बंगाल नेपाली अकादमी, दार्जिलिङले प्रदान गरेको भारु पचास हजार र सम्मानपत्र सहितको पुरस्कार डीबी परियारले ग्रहण गर्नुहुन्थ्यो कि हुँदैनथ्यो ? अनि ‘पश्चिम बंगाल नेपाली अकादेमी, दार्जिलिङ' जस्तो राज्य सञ्चालित संस्थाले उचित छानबिन नगरी हल्ला र हचुवाका भरमा पुरस्कार वितरण गर्नुलाई के भन्ने ? '

अविनाशले दावा गरेजस्तो नेपाली अकादमी दार्जिलिङले दिएको सम्मानसहितको ताम्रपत्रमा केही देखिँदैन । ताम्रपत्रमा उल्लिखित भाषा यसप्रकार छ— भारतीय नेपाली नाट्यकलाको संरक्षण र संवद्र्धनमा उल्लेखनीय योगदान दिए बापत श्री डीबी परियारलाई सम्मानार्थ अकादमी नाट्यकला पुरस्कार १९८३ प्रदान गरिन्छ । साथमा ज्योति बसु (पश्चिम बंगालका तत्कालीन मुख्यमन्त्री), अध्यक्ष, नेपाली अकादमी दार्जिलिङ लेखिएको देखिन्छ ।
माथि उल्लिखित तर्क र प्रमाणका आधारमा अविनाशले भनेजस्तो नेपाली चलचित्र ‘हरिश्चन्द्र' निर्माण तथा निर्देशन गरेबापत उक्त पुरस्कार दिएको धारणा निराधार देखिन्छ ।

फेरि अविनाशले उल्लेख गरेका केही पंक्ति ‘नेपाली अकादमी, दार्जिलिङको एउटा गलत निर्णयले गर्दा पनि पहिलो नेपाली चलचित्र ‘हरिश्चन्द्र'का निर्देशकबारेको भ्रम आजसम्म सर्वत्र कायम छ । अब भने यो भ्रम र भ्रान्तिको निवारण हुन जरुरी छ ।'

यतिका प्रमाण पेस गरिसकेपछि पक्कै पनि अविनाश श्रेष्ठले भनेको ‘भ्रम' र ‘भ्रान्ति'को निवारण हुन्छ होला । एउटै चलचित्रका लागि निर्माता, निर्देशक, गीतकार, कथा, पटकथा, संवाद, गायक तथा कलाकार भएर आठवटा विभिन्न विधामा काम गर्ने पहिलो व्यक्ति डीबी परियार हुन् । डीबी परियारले ‘सत्य हरिश्चन्द्र'मा कायम गरेको यो कीर्तिमान अहिलेसम्म कुनै पनि नेपालीले कायम गर्न सकेका छैनन् ।

डीबी परियार बहुमुखी प्रतिभाले सम्पन्न व्यक्ति थिए । उनले लन्डनस्थित फिल्म एजुकेसन एन्ड आर्ट अकाडेमी (एफईएए) र हलिउडस्थित फिल्म एजुकेसन एन्ड अडियो-भिजुअल सोसाइटी (एफईएएस)बाट सिनेमासम्बन्धी अध्ययन गरेका थिए । नेपाली चलचित्र निर्देशक समाजले आफ्नो कार्यकक्षमा सम्मानपूर्वक प्रथम नेपाली चलचित्र निर्देशकका रूपमा डीबीको तस्बिर राखेको छ ।

यो लेखको मूल ध्यय डीबी परियारको सिनेमासँग सम्बन्धित व्यक्तित्व भएकाले उनको राजनीतिक पाटोबारे यहाँ केलाइएको छैन ।

र यो पनि पढ्नुहोस् 

प्रथम नेपाली चलचित्र हरिश्चन्द्रका ‘निर्देशक' को थिए ?

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.