मेसी- द म्यान एट बार्सा

 मेसी- द म्यान एट बार्सा

विश्वचर्चित फुटबल खेलाडीको नाम लिँदा अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तान एवं स्पेनिस क्लब बार्सिलोनाका आइकल लियोन मेसीलाई छुटाउने जमात कमै भेटिन्छ । पाँचपटक फिफा वर्ष खेलाडीको ताज पहिरिएका मेसी अहिले चर्चाको शिखरमा छन् । उनै मेसीका नेपालमा समेत लाखौं फ्यान पाइन्छ ।
मेसीका लाखौं नेपाली फ्यानमध्येका प्रतिनिधि पात्र हुन्- पत्रकार किरण मरहठ्ठा । किरण अहिले मेसीको फ्यानमा मात्र सीमित छैनन् । उनले मेसीको क्लब बार्सिलोनामै पुगेर आफ्ना मनपर्ने खेलाडी मेसीको डकुमेन्ट्री बनाउन सफल भए ।

‘म सानैदेखि बार्सिलोनाको फ्यान हुँ । मेसी मलाई असाध्यै मनपर्ने । मलाई उनी यो संसारको सबैभन्दा प्रतिभावान् खेलाडी लाग्छ । त्यस्तो स्टारसँग काम गर्ने चाहना जो कोहीको हुन्छ । मलाई पनि मेसीको बारेमा केही गरेर छाड्ने चाहना भयो । टेलिभिजन पत्रकारिता गरिरहेको मैले मेसीको बारे डकुमेन्ट्री बनाउने सोच राखेँ । यस्तो डकुमेन्ट्री निर्माण गर्न पाए नेपाली फुटबल र पर्यटन प्रवद्र्धनमा समेत योगदान हुनेथियो भन्ने मलाई लागेको थियो', किरणले डकुमेन्ट्री बारेको सोच सुनाए ।

किरणले सन् २०११ मा बार्सिलोना पुग्दा नै डकुमेन्ट्री बनाउने विचार गरेका थिए । तर, उनको त्यहाँ कुनै सम्पर्क थिएन । उनले विभिन्न स्रोतमार्फत क्लबको सञ्चार विभागमा सम्पर्क स्थापित गर्न खोजे । तर, उनीहरूले यो विषयलाई एक कानले सुनेर अर्काे कानले उडाइदिए । ‘पहिलो पटकमा मेरो योजना सफल भएन । तर, म निरन्तर सम्पर्कमा थिएँ र प्रयत्न पनि जारी राखेँ । सन् २०१५ अप्रिलमा उनिहरूले नै मलाई यो डकुमेन्ट्री निर्माणको लागि बोलाए । यसमा मेरो टेलिभिजन करियरकै कारणले सम्भव भएको हो', किरण भन्छन् ।


पत्रकार किरण मरहठ्ठाले क्लब बार्सिलोनामा पुगेर आफ्ना प्रिय खेलाडी आइकल लियोन मेसीको डकुमेन्ट्री बनाएका छन् ।

‘मलाई सगरमाथाको बारेमा थाहा छ', विख्यात फुटबलर जेरार्ड पीकेको यही भनाइबाट सुरु हुन्छ, किरणको डकुमेन्ट्री- ‘मेसी द म्यान एट बार्सा ।' विश्वविख्यात फुटबल क्लब बार्सिलोना र स्टार फुटबलर मसीबारे डकुमेन्ट्री बनाउन पहिलो नेपाली पत्रकारको रूपमा बार्सिलोना पुगेका पत्रकार किरणले बार्सिलोना र त्यहाँका खेलाडीलाई नेपालसँग जोड्न भरपुर प्रयास गरेका छन् । यो डकुमेन्ट्री नेपालको फुटबलमात्र होइन पर्यटन प्रवद्र्धनमा समेत उपयोगी हुनेछ ।
‘डकुमेन्ट्रीमा पीके, नेयमार जाभ र मेसिले नेपालको बारेमा खुलेर प्रशंसा गरेका दृश्य छन् । यस विषयले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो महत्वव राख्छ,' उनी भन्छन् ।

नेपालको बामे सर्दै गरेको फुटबल विकासका पनि यो डकुमेन्ट्री सहयोगी हुन सक्छ । क्लबका अध्यक्ष जोसेफ मारियो बार्तमेउले एक संवादमा भनेका छन्, ‘नेपाल जस्तो फुटबलमा रुचि राख्ने एसिया र अफ्रिकाका मुलुकहरूलाई सहयोग गर्न हामीसँग विशेष कार्यक्रम छ । त्यसको लागि नेपालको सरकारी निकायमार्फत जानुपर्ने हुन्छ ।' डकुमेन्ट्रीमा मेसीले नेपालका खेलप्रेमीलाई दिएको विशेष सन्देशमा आफू नेपाल घुम्न इच्छुक रहेको र समय मिलाएर नेपाल आउने पनि बताएका छन् । मेसी र पीकेले नेपालको प्राकृतिक सुन्दरताको समेत प्रशंसा गरेका छन् ।

‘एक नेपाली पत्रकारले बार्सिलोनाजस्तो क्लबको बारेमा डकुमेन्ट्री निर्माणको अवसर पाउनु मेरा लागि ठूलो गर्वको कुरा हो', उनले भने । नितान्त फरक र विश्वस्तरीय विषयमा बनेको हुनाले यो डकुमेन्ट्री नेपालका अन्य डकुमेन्ट्री मेकरका लागी पनि ठूलो प्रेरणा हुने किरणको विश्वास छ । यो ३० मिनेटको डकुमेन्ट्री हो । डकुमेन्ट्री चारवटा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भइसकेको छ । ‘२०१५ को अप्रिलमा छायांकन गरिएको डकुमेन्ट्रीलाई विश्वका विभिन्न देशबाट च्यारिटी सोको लागि अफर आइरहेको छ,' किरण भन्छन् ।

डकुमेन्ट्री बार्सिलोना क्लब र यसका मुख्य खेलाडी मेसीको वरपर घुमेको छ । क्लब र खेलाडीलाई नेपालसँग जोड्ने प्रयास पनि हो- डकुमेन्ट्री । यसमा नेपालसम्बन्धी धेरै प्रसंग पनि छन् । मेसी, नेयमार, पीके, जाभी र क्लबका अध्यक्षको मुख्य दृश्य यसमा समावेश छन् । बार्सिलोनाको प्रगतिको कथालाई पनि डकुमेन्ट्रीमा समेटिएको छ । क्यामनु, बार्साको प्रशिक्षण केन्द्र, म्युजियमलगायत अन्य रमाइला ठाउँको दृश्य पनि कैद गरिएको छ ।

बार्सिलोनाको प्रगतिको कथा र मेसीजस्ता खेलाडीलाई नजिकबाट बुझ्न यो डकुमेन्ट्री फलदायी हुनेछ । नेपालीका लागि अझै यो विशेष छ । मेसी, नेयमार, पीके, जाभीले नेपाली ढाकाटोपी लगाएर नेपालबारे व्यक्त गरेको विचार वास्तवमै संवेदनशील छन् । नेपालको सम्झनामा नेपाली झन्डा क्यामनुमा राखिएको छ । उक्त झन्डा किरणले नै क्लबका अध्यक्षलाई उपहार दिएका थिए ।

‘बार्सिलोनाजस्तो विश्वस्तीरय संस्थासँग जोडिन पाउनु हरेकको लागि गर्वको कुरा हो र यस्तो अवसर पाउने म पहिलो भाग्यमानी नेपाली थिएँ । तसर्थ त्यहाँ रहँदाको अनुभव ज्यादै स्वर्णिम रह्यो । विशेषगरी खेलाडीसँगको भेट अविस्मरणीय छ । उनीहरूसँग करिब दुई साता सँगै रहँदा मैले तीनवटा कुरा अनुभव गरेँ । पहिलो विश्वविख्यात खेलाडीहरूको सरलता, अनि खेलाडीको आत्मीयता र अर्को मेसीप्रतिको उनीहरूको सम्मान', किरण भन्छन् ।

‘मलाई उनीहरूले ठूलो प्रेम दर्शाए । त्यसैले म आज पनि उनीहरूसँग नियमित सम्पर्कमा छु । डकुमेन्ट्री निर्माणपश्चात् पनि मैले उनीहरूसँगको भेटघाटलाई निरन्तरता दिएको छु । बार्साको आतिथ्यमा क्यामनुमा बिताएका क्षण मेरो जीवनको सर्वाधिक सुन्दर समय हुन्,' किरणले भने ।
किरण अहिले बार्सासँगको आफ्नो सहकार्य र मेसीसँगको रोचक क्षणलाई लिएर पुस्तक पनि लेखिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.