'निर्लज्ज' आमाहरूको पक्षमा

'निर्लज्ज' आमाहरूको पक्षमा

काठमाडौँ, डिल्लीबजारस्थित मम पसलकी दिदी आफ्नै पसलअगाडि बसेर दुईवर्षे छोरीलाई स्तनपान गराइरहेकी थिइन् । स्तनपान गराउँदा उनले कुर्ताको सल अथवा कुनै कपडाले स्तन र छोरीलाई छोपेकी थिइनन् । उनी त निर्धक्क स्तनपान गराइरहेकी थिइन् । त्यो देखेर मेरो एकजना साथीले भनिन्, 'छ्या, यो दिदी जहिले पनि छोरीलाई यस्तै खुलासँग दूध खुवाउँछिन् । बीच बजारमा यसरी दूध खुवाउँदा यिनलाई किन लाज नलागेको होला ? ' सँगै रहेका साथीका भद्र-भलाद्मी मार्काका श्रीमानले मम पसले दिदीको 'अभद्र व्यवहार'माथि थप टिप्पणी गरे, 'गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तो।'

sangita-shresthaमम पसले दिदीको सार्वजनिक स्तनपान उनका ग्राहक र वरिपरिका छिमेकी पसलेलगायत धेरैको टाउको दुखाइ बनेको छ । तर, उनलाई यी कुराको वास्ता छैन । उनी त धक नमानी त्यसरी नै दूध खुवाउँछिन्, खुला रूपमा । आमाले सन्तानलाई स्तनपान गराउनु सामान्य कुरा हो, प्राकृतिक कुरा हो । स्तनपान गराउँदा कतिपय महिलाले स्तन र बच्चालाई कपडाले ढाक्ने गर्छन् । हाम्रो सभ्य सहरिया समाजले स्तनपान गराउँदा त्यसरी ढाकेकोलाई नै उचित ठान्छ । तर, गाउँमा भने यो बन्देज हुँदैन । ग्रामीण महिला अप्ठ्यारो नमानी जहाँ पनि, जता पनि आफ्ना सन्तानलाई स्तनपान गराइरहेका हुन्छन् ।

'महिलाले सार्वजनिक रूपमा स्तनपान गराउनु हुन्छ कि हुँदैन ? ', अन्तर्राष्ट्रियस्तरमै बहसको विषय बन्ने गरेको छ । कतिपय यसका पक्षमा छन् भने कतिपय विपक्षमा । खुला रूपमा स्तनपान गराउन मिल्छ भन्नेहरू 'स्तनपान गराउँदा बच्चालाई कपडाले ढाक्नु भनेको खाना खाँदा हामीले ब्ल्यांकेट ओढेजस्तै हो' भन्ने तर्क गर्छन् भने विपक्षीहरू खुला स्तनपानलाई असभ्य, अशिष्ट, अनुचित र अश्लील प्रदर्शनसम्मको संज्ञा दिन्छन् ।
भारतको झारखण्ड राज्यका केही रेलवे स्टेसनमा 'फिडिङ बुथ' राखिएका छन् । आमाहरूले सन्तानलाई लुकेर दूध खुवाऊन् भन्ने उद्देश्यले ती बुथ बनाइएका हुन् । महिला प्रतीक्षालयमा बनाइएका ती बुथ बाथरुम÷ट्वाइलेटजस्तै अपारदर्शी छन् ।

मेलापातमा होस् वा चौतारोमा, बसमा होस् वा बजारमा, गाउँका आमा निर्धक्क जुनसुकै ठाउँमा पनि स्तनपान गराउँदै गरेका देखिन्छन् । सन्तानलाई सबैको सामु स्तनपान गराउँदा उनीहरूलाई लाज लाग्दैन ।

खुला स्थानमा दिसापिसाब गर्नु हुन्न अथवा नुहाउनु हुन्न भनेजस्तै सार्वजनिक ठाउँमा आमाले बच्चालाई दूध खुवाउनु हुन्न भन्ने अर्थ ती अपारदर्शी फिडिङ बुथले दिने गरेको कुरा भारतीय लेखक प्रियंका ओमले आफ्नो ब्लगमा लेखेकी छन् । 'महिला प्रतीक्षालयमा बनेकाले दूध खुवाउँदा महिलाले पुरुषबाट मात्र होइन, महिलाबाट पनि लुकाएर खुवाउनुपर्छ भन्ने अर्थ यी बुथले दिन्छन्', उनले लेखेकी छन्, 'पुरुषले कुदृष्टिले हेर्छन् भन्ने सोच राखेर स्तनपान गराउँदा महिलाले छोप्नुपर्छ भन्ने तर्क होला । तर, महिलाले महिलाबाट छोप्नुपर्छ भन्दा महिला महिलाहरूबाटै सुरक्षित छैनन् भन्ने अर्थ सिमेन्टले बनेका यी फिडिङ बुथबाट झल्किन्छ ।'

सार्वजनिक स्थलमा स्तनपान गराउने महिलाले अभद्रताको आरोप खेप्दै आएका छन् । 'भद्र महिलाले सार्वजनिक स्थलमा स्तनपान गराउँदैनन्' भन्ने गर्छन्, समाजका भद्र मानिस । सुविधायुक्त 'एसी रुम'मा बसेर मोबाइल फोनमा अश्लील भिडियो हेर्नेहरू आमा र सन्तानको प्रेम र स्नेह झल्काउने स्तनपानमा भने अश्लीलता देख्ने गर्छन्।

सन् २०१६ को जनवरीमा 'ब्रेस्ट फिडिङ इन पब्लिक (सोसियल एक्सपेरिमेन्ट)' नाम दिइएको एउटा ठट्यौलो भिडियो युट्युबमा अपलोड गरिएको थियो । भिडियोमा सार्वजनिक स्थलमा स्तनपान गराउने महिला देखेर मान्छेहरू उठेर हिँडिरहेका थिए । महिलाले स्तनपान गराउँदा अरूहरू उठेर जानुको अर्थ यही लाग्छ— महिलाले सार्वजनिक ठाउँमा स्तनपान गराउनु हुन्न ।

जहाँ पनि, जसरी पनि स्तनपान गराउनसक्ने आफ्नो अधिकारका लागि विश्वभरिका महिला संघर्ष गरिरहेका छन् । विश्वका विभिन्न सेलिब्रिटी तथा राजनीतिक व्यक्तित्व कार्यस्थलमै आफ्ना सन्तानलाई स्तनपान गराएर महिलालाई सार्वजनिक रूपमा स्तनपान गराउन दिनुपर्छ भन्ने कुराको वकालत गरिरहेका छन् । हलिउड अभिनेत्री एन्जेलिना जोली, अमेरिकी गायिका बियोन्से, अमेरिकी अभिनेत्री तथा मोडल लिभ टाइलर, अस्ट्रेलियन मोडल मिरान्डा केर, ब्राजिलियन सुपरमोडल गिसेल बुन्डचेनलगायत थुपै सुप्रसिद्ध व्यक्ति सार्वजनिक स्थलमा स्तनपान गराउँदै देखिएका छन् भने केहीले सन्तानलाई स्तनपान गराउँदै गरेको तस्बिर इन्स्टाग्राममा पोस्ट् गरेका छन् । केहीले त विभिन्न म्यागजिनका लागि स्तनपान गराइरहेको फोटोसुटसमेत गरेका छन् ।

केही समयअघि ३२ वर्षीया ब्रिटिस मोडल तमारा एकलेस्टनले इन्स्टाग्राममा दुई वर्षीया छोरी सोफियालाई स्तनपान गराउँदै गरेको तस्बिर पोस्ट् गरिन् । उनले मानिसहरूलाई 'के नर्सिङलाई निजी घेराभन्दा बाहिर जानु हुँदैन' भनेर सोधेकी थिइन् । तमाराका केही प्रशंसकले उनको यस तस्बिरको निन्दा गरे । अभद्रताको आरोप लगाए ।

स्तनपान वात्सल्य तथा पालनपोषणको सशक्त प्रतीक भएको बताउँदै उनले अर्को तस्बिर पोस्ट गरिन् र लेखिन्, 'वात्सल्यको प्रतीकलाई मानिसहरूले लज्जाको विषय बनाइदिएका छन् ।' यसपछि उनले झनै निन्दा खेप्नु पर्‍यो । निन्दा भइरहे पनि उनले एकपछि अर्को गर्दै स्तनपान गराइरहेका तस्बिर पोस्ट गरिरहिन् ।

एकताका ब्राजिलियन सांसद म्यानुएला दाभिला सामाजिक सञ्जालमा खुब छाइन् । संसद्मा स्तनपान गराइरहेको उनको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । धेरै फेसबुक प्रयोगकर्ताले आफ्नो वालमा उनको तस्बिर पोस्ट गरे । महिला सशक्तीकरण र स्वतन्त्रताको उदाहरणका रूपमा उनलाई प्रस्तुत गरे । पछिल्लो समय अस्ट्रेलियन सांसद लारिसा वाटर्स पनि स्तनपानकै कारण चर्चित भएकी छन् ।

संसद्मा छोरीलाई स्तनपान गराइरहेको उनको तस्बिर थुप्रै पत्रपत्रिकामा छापियो । अस्ट्रेलियाको संसद्मा स्तनपान गराउने उनी पहिलो महिला सांसद हुन् । यहाँको संसद्ले गत वर्षदेखि महिला सांसदलाई संसद्भित्र सन्तान ल्याउने र स्तनपान गराउने अनुमति दिएको थियो । यसअघि महिला सांसद आफ्नो सन्तानलाई संसद्भित्र ल्याउन सक्दैनथे । सुत्केरी बिदा सकिएपछि वाटर्सले थुप्रैपटक छोरीलाई संसद्मा लिएर आएकी थिइन् र स्तनपान गराएकी थिइन् । उनलाई मिडियाको भरपूर प्रशंसा प्राप्त छ । हालै उनको एउटा भिडियो सार्वजनिक भयो, जसमा उनी संसद्मा पहिलोपटक छोरीलाई स्तनपान गराउँदै उभिइन् र आफ्ना कुरा राखिन् । यसरी संसद्मा स्तनपान गराएर बोलिरहेको उनको भिडियो भाइरल भएको छ । कतिले उनको प्रशंसा गरेका छन् भने कतिपयले निन्दा ।

महिला अधिकारका लागि आवाज उठाउने महिला सांसदसमेत स्तनपानको मुद्दाबाट बच्न सकिनन् । धेरैले उनीमाथि अभद्रताको आरोप लगाएका छन् । वास्तवमा त्यो भिडियो आमा र सन्तानबीचको सुन्दर र अकृत्रिम सम्बन्ध तथा महिला अधिकारको प्रतीक हो । स्तनपान बच्चाको अधिकार र आवश्यकता हो ।नेपालको सन्दर्भमा यहाँ सार्वजनिक स्थलमा स्तनपानबारे गाउँ र सहरको सोचमा फरक पाइन्छ । सहरिया आमा छोपेर सन्तानलाई दूध खुवाउन खोज्छन् भने गाउँका आमा खुला स्तनपान गराउन रुचाउँछन् ।

आफूलाई अरूले हेरिरहेका छन् भन्ने कुराको उनीहरूलाई वास्तै हुँदैन । मेलापातमा होस् वा चौतारोमा, बसमा होस् वा बजारमा, गाउँका आमा निर्धक्क जुनसुकै ठाउँमा पनि स्तनपान गराउँदै गरेका देखिन्छन् । सन्तानलाई सबैको सामु स्तनपान गराउँदा उनीहरूलाई लाज लाग्दैन । किनकि, उनीहरू सन्तानको भोक बुझ्छन् । सन्तानको भोकका अगाडि उनीहरूलाई अन्य कुराको रौँजति पनि पर्वाह हुँदैन । यस्ता 'निर्लज्ज' आमाहरू जहीँतहीँ भेटिनुपर्छ । आखिर लज्जा पनि पुरुषले महिलाका लागि निर्माण र निर्धारण गरिदिएको नियम न हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.