राजधानीका ज्यानमारा भ्वाङहरू

राजधानीका ज्यानमारा भ्वाङहरू

काठमाडौं : मुलुककै राजधानी रहेको काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाका जनप्रतिनिधिले नगरलाई अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउनेलगायत मीठा कुरा गरेका छन् । कसैले 'स्मार्ट सिटी' र 'स्याटेलाइट सिटी' त कसैले 'मोनोरेल' सञ्चालन र फ्लाइओभर निर्माण, कसैले निशुल्क वाइफाईको व्यवस्थाजस्ता आश्वासन दिएर नगरलाई सुविधासम्पन्न बनाउने सपना बाँड्न भ्याइसके । तर, काठमाडौं महानगरपालिकाकै बासिन्दा धूवाँ-धूलो, हिलो र ढलबाट मुक्त हुन सकेका छैनन् ।

ढल व्यवस्थित गर्न नसक्दा पानी पर्नासाथ सडक नै पोखरीजस्तो बन्ने अनि यात्रु नालीमा डुब्ने मात्र होइन, ज्यानै जानेसम्मका घटना भइरहेका छन् । सडक निर्माणका क्रममा महिनौंदेखि त्यत्तिकै राखिएका ठूल्ठूला भ्वाङ नागरिकका लागि 'एम्बुस'जस्ता बनेका छन् । विद्यालयबाट फर्किंदै गरेकी छात्रा सत्या सापकोटा सडककै भेलमा झुक्किएर नालीमा पसिन् । झन्डै सय मिटर परसम्म लेदोपानीसँगै बगेकी सत्याले हात हल्लाएपछि स्थानीयले उद्धार गरे । सत्या त बाँच्न सफल भइन् तर खेल्दा-खेल्दै ढलमा परेकी नेपालटारकी ११ वर्षीया विनीता फुयाँलले ज्यानै गुमाउनुपर्‍यो । शुक्रबारका यी दुई घटना राजधानीभित्रका प्रतिनिधि मात्र हुन् । यस्ता दर्जनौं घटना बर्सेनि भइरहेका छन् तर स्थानीय निकायदेखि केन्द्र सरकारसम्म मूकदर्शक बनिरहेका छन् ।

विगतमा कर्मचारीले मात्र थेगेको स्थानीय निकाय अहिले तह भएपछि जनप्रतिनिधि निर्वाचित भएर आइसकेका छन् । उनीहरूले जनतालाई विकासका थुप्रै आश्वासन बाँडिसकेका छन् । तर, सडकका खाल्डाखुल्डीसम्म नपुर्दा ज्यानै गुमाउनुपर्ने नगरवासीको पीडामा मह्लम लगाउन जनप्रतिनिधि पनि चुकेका छन् । सपना ठूल्ठूला देखाउने तर बजेट छुट्ट्याएका योजनासमेत समयमै पूरा नगर्ने प्रवृत्तिले नागरिक मारमा परिरहेका छन् ।

'शुक्रबार जे घटना भए त्यस्ता विषयमा अभिभावक, टोल सुधार समिति, स्थानीय क्लब, विद्यालय र सरोकारवाला सबै जिम्मेवार हुनुपर्छ ।' -ज्ञानेन्द्र कार्की प्रवक्ता, काठमाडौं महानगरपालिका

पछिल्लो समय मेलम्ची खानेपानी आयोजनाका लागि सडकमा खन्ने तर तत्काल नपुर्ने वा कालोपत्रे नगरेका कारण घाम लागे धूलोले र पानी परे हिलोले हिँड्न सक्ने अवस्था छैन । यसको असर यति मात्र होइन, उक्त माटो पसेर ढल थुनिने, त्यसपछि सडकभरि पानी जम्ने अवस्था छ । तीनकुने, पुतलीसडक, जमल, बौद्ध, त्रिपुरेश्वर, कालिमाटीलगायत दर्जनौं ठाउँ केही वर्षयता पानी पर्नासाथ पोखरीजस्तै जलमग्न हुने गरेका छन् । मेलम्ची खानेपानीका लागि खनिएका ठाउँमा जम्ने पानीले पनि यात्रु र सवारी साधन थुप्रै पटक समस्यामा परेका छन् ।

त्यस्तै, तीनकुनेबाट माइतीघरसम्म फराकिलो सडक बने पनि बागमती र धोवीखोलाका कारण यात्रु र चालकले सास्ती पाइरहेकै छन् । बागमतीमा हाल बनाइरहेको पुलमा सावधानी अपनाउन नसक्दा एक लेनको सडकसमेत खाल्डो परेको छ । यसै साँघुरो, त्यसमाथि एक लेन सडकमा खाल्डो परेपछि अहिले सवारी जामले यात्रु आक्रान्त छन् । जामका अतिरिक्त रातको समयमा यात्रा गर्नेका लागि सावधान गराउने काम पनि भएको छैन । यसले चालक र यात्रु खाल्डोमा पर्ने खतरा बढेको छ ।

काठमाडौं महानगरपालिकाले महानगरभित्रका सबै ढल आफ्नो जिम्मेवारीभित्र नपर्ने जनाएको छ । 'सडक विभागले सडकको धूलो बढारेर छेउमा थुपार्छ तर उठाउँदैन, जुन पानी पर्दा ढलमै जम्छ । इन्जिनियरिङ हिसाबले सबै काम पूर्ण नगर्दा सडकमा पटक-पटक समस्या आइरहेको हो', प्रवक्ता ज्ञानेन्द्र कार्कीले अन्नपूर्णसँग भन्नुभयो । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ढलमा समस्या देखिएर यात्रु र स्थानीयवासीलाई सास्ती भएको भन्दै तत्काल ढल खोल्ने प्रबन्ध मिलाउन आइतबार निर्देशन दिएको प्रवक्ता कार्कीको भनाइ छ । 'शुक्रबार दुई बालिकाका विषयमा जे घटना भए त्यस्ता विषयमा अभिभावक, टोल सुधार समिति, स्थानीय क्लब, विद्यालय र सरोकारवाला सबै जिम्मेवार हुनुपर्छ', उहाँले भन्नुभयो ।

ढल व्यवस्थापनमा रहेको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का प्रवक्ता लीलाप्रसाद ढकालले नदी किनारामा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृतको कार्यालयले पनि हेर्ने जानकारी दिँदै ढलको सञ्जालमा भइरहेको अवरोध र त्यसलाई खुलस्त पार्ने विषयमा अध्ययन भइरहेको जानकारी दिनुभयो । 'अध्ययनको प्रतिवेदन आएपछि सरकार र एडिबीसँग मागेको बजेट पनि आएपछि तुरुन्त ठेक्कामा जाँदैछौं यसपछि ढलमा देखिएका समस्या समाधान हुनेछन्', उहाँले भन्नुभयो ।

खाल्डा देख्न नपरोस् : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सडक, खानेपानी, विद्युत्, सडक विस्तार आयोजनालगायत सरोकारवाला निकायका मन्त्रीहरू, मुख्यसचिव, सचिव, विभागीय प्रमुखलाई राजधानीभित्रका सडकका खाल्डाखुल्डी तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न निर्देशन दिनुभएको छ ।

'सरकार जनताका लागि बनेको हो । जनताको समस्यालाई हामीले कुनै पनि हालतमा समाधान गर्नुपर्छ । काठमाडौंमा सडक कि पोखरी हो चिन्न नसक्ने भएका छन् । स्कुलका विद्यार्थी हिँड्दा-हिँड्दै ढलमा पसेका छन्', प्रधानमन्त्री देउवाले निर्देशन दिँदै भन्नुभयो, 'खाल्डाखुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ । तपाईंहरू के गरिरहनुभएको छ ? काठमाडौं उपत्यकाका खाल्डाहरू तत्काल पुर्नुहोस्, त्यसका लागि थप बजेट चाहिए म उपलब्ध गराउँछु ।'

उहाँले सरोकारवाला निकायका प्रमुखलाई तत्काल फिल्डमा खटिएर समस्या समाधान गर्न पनि निर्देशन दिनुभएको थियो । 'तपाईंहरूले आजै फिल्डमा गएर निर्देशन दिनुस्, बढीमा १५ दिनभित्र काठमाडौंका खाल्डाहरू पुर्नुहोस्, फुटेका ढलहरू बनाउनुहोस् । ढलेका बिजुलीको पोल गाँड्नुहोस्', उहाँले भन्नुभयो, 'मैले अबको १५ दिनभित्र काठमाडौंमा खाल्डाखुल्डी देख्न नपरोस् । मलाई रिपोर्ट गर्नुहोस् । अबदेखि एकीकृत योजना बनाएर समन्वय र सहकार्यमा काम गर्नुहोस् ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.