इतिहास बंग्याउनुहुँदैन : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले थारू समुदायको उत्थानमा आफू निरन्तर रहने प्रतिबद्धता जनाउनुभएको छ। ब्याकवार्ड सोसाइटी एजुकेसन (बेस)को आयोजनामा नेपाल टेलिभिजनद्वारा निर्मित ‘हामी थारू' वृत्तचित्र सार्वजनिकीकरण समारोहलाई सम्बोधन प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो।
‘नेपाल र नेपालीका लागि संघर्षरत थारूलगायत जातजाति, भाषाभाषी, धर्म, संस्कृतिको विकासमा निरन्तर प्रतिबद्ध रहनेछु', उहाँले भन्नुभयो। उहाँले इतिहास बंग्याउन नहुने धारणा पनि व्यक्त गर्नुभयो। ‘कमैया प्रथाको अन्त्य मैले नभएर कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा भएको हो ।
कमैयालाई मुक्त गराउनुपर्छ भन्ने आन्दोलनको पक्षमा म प्रतिबद्ध छु', उहाँले भन्नुभयो, ‘कमैयाप्रति मेरो सहयोग र समर्थन निरन्तर रहनेछ। मुक्त कमैयाको हकमा के कसो गर्न सकिन्छ, म गर्नेछु।' समावेशी र समानुपातिक सिद्धान्तअनुसार थारू उत्थानमा लाग्ने उहाँको भनाइ थियो।
बेसका अध्यक्ष एवं सांसद डिल्ली चौधरीले १७ वर्षअघि सरकारले मुक्त घोषणा गरेका ३५ हजार कमैयामध्ये केही मुक्त हुन बाँकी रहेको उल्लेख गर्दै मुक्त कमैयाको पुनःस्थापनाका लागि सरकारले तत्काल उच्चस्तरीय आयोग गठन गरी कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने माग गर्नुभयो। ‘थारू संस्कार र संस्कृतिको पहिचान राज्यले अन्तर्राष्ट्रिय जगत्मा गराउन सके पर्यटन व्यवसायको समेत प्रचुर सम्भावना हुनेछ', उहाँले भन्नुभयो।
५० मिनेट लामो वृत्तचित्रमा थारू जीवनशैली, धर्म, संस्कार, संस्कृति समेटिएको छ । वृत्तचित्र निर्माणमा इतिहासविद् अशोक चौधरीको महत्वपूर्ण योगदान रहेको छ ।