पहिले भारतको असल मित्र, अहिले होइन भन्नु दृष्टिदोष
मधेसविरोधी पहिचान बनेको पार्टी एमालेको लागि तेस्रो चरणको निर्वाचन कति चुनौतीपूर्ण होला ? एमाले अध्यक्ष केपी ओली पहिलो र दोस्रोमा जस्तै पुनः धेरै स्थान जित्ने आत्मविश्वास प्रकट गर्छन् । अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गत अन्नपूर्ण पोस्ट, एपीवान टेलिभिजन र रेडियो अन्नपूर्णसँग कुराकानी गर्दै बिहीबार बिहान बालकोट निवासमा उनले भने, ‘एमाले पहिलो पार्टी बन्छ ।’ प्रस्तुत छ, टीकाराम यात्रीले लिएको अन्तर्वार्ताको संक्षेप । यो अन्तर्वार्ता शनिबार बेलुका ९ बजे एपीवान टेलिभिजनबाट प्रसारित हुने तमसोमा ज्योतिर्गयम कार्यक्रममा पनि प्रसारण हुनेछ ।
आसन्न तेस्रो चरणको स्थानीय तहको चुनावमा तपाईंहरूको आकलन के छ ?
पहिलो र दोस्रो चरणको निर्वाचन परिणामले नै प्रस्ट पारिसकेको छ । तीन चरणमा चुनाव गर्नु एमालेविरुद्धकै ‘डिजाइन’ हो । विभिन्न ठाउँमा हमला किन गरिए ? एमालेलाई जित्न नदिन, एमालको विजय अभियान रोक्न र सीमित गर्न त्यसो गरिएको हो । तर पछिल्ला दुई निर्वाचनले एमालेको विजययात्रा नियन्त्रण गर्न नसकिने र अलिकति घटाउन सकिए पनि त्यसलाई पूरै सीमित गर्न र पराजित गर्न नसकिने यात्रा हो भन्ने स्पष्ट भइसकेको छ । नेपाली जनता लोकतन्त्रको लागि लडेका छन् र बलिदान दिएका छन् । जनता त्यसको प्रतिफलको रक्षा गर्न चाहन्छन् र त्यसलाई प्रक्रियामार्फत समृद्ध गर्न चाहन्छन् । राष्ट्रिय एकता खल्बल्याउने, साम्प्रदायिक र क्षेत्रीयतावादी विद्वेष भड्काउने र नेपाललाई द्वन्द्वको स्थितिमा फसाउने र भड्काउने प्रयास भए, तर ती प्रयास हितकर छैनन् । त्यो नेपाली जनताले बुझेका छन् । यसकारण एमाले जनताको छनोटमा परेको छ । नेपालमा शान्ति, स्थिरता र स्थायित्व चाहिएको छ । अब समृद्धितर्फ जान लागेको एमालेको यो विजय यात्रा कसैले रोक्न सक्दैन ।
अघिल्ला दुई चुनावको ५० वटा जोडेर पहिलो शक्ति कि निरपेक्ष रूपमा प्रदेश २ का आठवटा जिल्लामा मात्र ?
मैले राष्ट्रिय स्तरमा पहिलो शक्तिको कुरा गरिनँ । त्यसमा पहिलो शक्ति रहने कुरा त निश्चितै भो । असोज २ मा हुने चुनावमा एमाले पहिलो शक्ति हुन्छ ।
संविधान जारी भएयता मधेसविरोधी शक्तिका रूपमा एमाले र एमालेभन्दा पनि ठूलो परिमाणमा अध्यक्ष केपी ओली मधेसविरोधी पात्रका रूपमा चित्रित हुने गरिएको छ ? यो छवि चिर्न चुनावमा के लिएर मधेस गइरहनुभएको छ ?
लाहानमा मनोनयनको दिन एमाले उम्मेदवारको निवासमा बम आक्रमण भयो । लाहान कहाँ पर्छ ? हिमाली भेगमा पर्छ कि मधेसमा ? मुनी शाह को हुन् ? पहाडी हुन् कि के हुन् ? मधेसमा हिंसा, अराजकता, अलोकतान्त्रिक र आपराधिक क्रियाकलाप सञ्चालन भइरहेका छन् । अहिलेसम्ममा अरू प्रदेशले बजेट निर्माणलगायतका काम अगाडि बढाइसके । प्रदेश दुईमा चुनावै हुन सकेको छैन । यो प्रयासको झल्को तपाईं त्यहाँ देख्न सक्नुहुन्छ ।
विशेषगरी एमाले नै किन लक्षित हुन्छ ? तपाईंहरूको अभिव्यक्ति र व्यवहारले त्यस्तो भएको हो कि ?
अभिव्यक्ति भनेर केलाई भन्नुभएको ? मैले अघि नै भनें नि, नेकपा एमाले राष्ट्रियता, सार्वभौमसत्तासम्पन्नता, स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितहरूका पक्षमा छ । उक्त अभिव्यक्तिको कारण हमला हुन्छ भने त्यसको सामना एमालेले गर्छ । एमाले क्षेत्रीय, जातीय, भाषिक कुनै नामको आस्थागत, साम्प्रदायिक र विद्वेषजन्य कुरा र परस्परमा घृणा फैलाउने कुरा र असमानताको विपक्षमा छ । यो स्पष्ट अभिव्यक्ति हो नेकपा एमालेको । यसबाट कोही उत्तेजित हुन्छ भने त्यसको हामी सामना गर्छौं । हामीले बलिदानपूर्ण संघर्ष गरेका छौं र उपलब्धि पनि ल्याएका छौं । तिनको रक्षा र व्यावहारिक प्रयोगको निम्ति अब प्रक्रियागत ढंगले तिनलाई समृद्ध बनाउने कुरा हो । यस अभिव्यक्तिले हामीविरुद्ध लाग्ने हो भने हामीलाई मञ्जुर छ ।
चीनको कुनै अखबारले मलाई चीनको असल मित्र भनेको छ भने सही भन्यो । कुनै भारतको कुनै पत्रिका या अखबारले भारतको असल मित्र भनेको छ भने त्यो सही हो । पहिले भारतको असल मित्र र अहिले होइन भनेर कसैले लेख्छन् भने त्यो दृष्टिदोष हो ।
अर्को कुरा, हाम्रा कामका कारण पनि त्यसो भएको हुन सक्छ । हामीले तराईका बाँझा खेतमा सिँचाइ पुर्याउनुपर्छ भनेर सुनकोसी मरिन कमला डाइभर्सनलगायतका काम गर्यौं । राजमार्गलाई चौडा गर्ने भन्यौं । दुई दशकदेखि कुरामै सीमित हुलाकी राजमार्गलाई आफैं बनाउने भनेर टेन्डर र ठेक्का लगाएर त्यसलाई अघि बढायौं । गत आर्थिक वर्षमा हामीले गरिबका लागि २० हजार घरको योजना बनायौं । तर हामीलाई हटाएर त्यो असफल बनाइयो।
तराईमा डोम जातिको २० प्रतिशत र मुसहरको २१ प्रतिशत साक्षरता छ । तिनका छोराछोरीलाई उच्च शिक्षासम्म सबै विषयमा निःशुल्क गर्ने योजना एमालेले ल्यायो । गाउँगाउँमा सडक पुर्याउने, बत्ती पुर्याउने क्षेत्र र प्रदेशप्रदेशमा उद्योग, औद्योगिक क्षेत्र, विश्वविद्यालय, मेडिकल कलेजको स्थापना गर्ने काम ल्यायौं । पूर्वपश्चिम रेल तराईबाटै हिँड्ने हो । मेची-महाकाली विद्युतीय रेलको कुरा हामीले ल्यायौं र त्यसको कार्यान्वयन अगाडि बढ्दैछ ।
तपाईं कहीं न कहीं घोचपेचजन्य र अरूलाई कटाक्ष गर्नुहुन्छ, त्यस्तो अभिव्यक्ति नगरे हुँदैन ?
घोचपोचको कुरा कहाँबाट आयो ? जस्तो- हालसालै शेरबहादुरजीले दिल्लीमा बेमतलबको गीत गाउनुभयो । उहाँले त्यो केको लागि भन्नुभयो ? नेपालको संसद्को फैसलाको, नेपालको आन्तरिक मामलाको कुरो किन त्यहाँ भन्नुभयो ? आफूलाई निर्वाचित गरेको आफ्नो संसद्बारे रोनाधोना गर्ने ठाउँ दिल्ली थिएन । त्यसमा अलिकति राम्रो भएन भन्दा घोचपेच भो । चित्त दुख्यो । नेपालको चित्त दुख्छ कि दुख्दैन, उहाँले ख्याल गर्नुपर्छ कि पर्दैन ? उहाँले कसलाई सोधेर बोल्नुभयो ? सोध्नुपर्दैन, तर ठीकचाहिँ बोल्नुपर्छ । आचारसंहिता बनाऔं रे, संहिता लेखिरहनुपर्छ, बनाइरहनुपर्छ ? पदीय जिम्मेवारीअनुसारका अनुशासन हुन्छ । मध्यकालीन जमानामा शास्त्रमा लेखेपछि प्रमाण हुन्थ्यो ।
सत्यता पुष्टिको लागि शास्त्रलाई मान्ने प्रचलन थियो । आन्तरिक कुरा विदेशमा गएर गर्नुहुन्न भनेर कहाँ लेखिएको छ ? हाम्रो संसद्को विरोध विदेशमा गएर गर्नु हुन्न भनेर कहाँ लेखिएको छ ? राष्ट्रिय गौरव र प्रतिष्ठाको विरुद्धमा बोल्नुहुन्न भनेर कहाँ लेखिएको छ ?
तपाईं भारतमा जाँदा राम्रो आतिथ्यता भयो, तर संयुक्त विज्ञप्ति जारी भएन । के कारणले होला ?
एउटा सन्दर्भमा मात्र संयुक्त विज्ञप्ति आवश्यक हुन्छ । दुई देशबीच सम्झौता भए तर सम्झौताको तहमा पुर्याउन सकिएन । काम गर्ने एक खालको सैद्धान्तिक, एक खालको मौखिक सहमति भएको छ र हामी दुवै प्रतिबद्ध छौं । यस्ता कुरा ‘रिफ्लेक्ट’ हुने गरी त्यस्तो विज्ञप्ति जारी गरिन्छ । मोदीजी र मैले संयुक्त प्रेस सम्मलेन गर्यौं । मोदीजीले भन्ने कुरा उहाँले भन्नुभयो, मेरा कुरा मैले भनें । सम्झौता जे भए, दुनियाँ र प्रेसका अगाडि भए । त्यसभन्दा अरू बताउनुपर्ने कुरा वा संयुक्त विज्ञप्तिमा भनिने कुरा केही बाँकी थिएन ।
२०७२ मा जारी भएको संविधानको अस्वीकार्यताको विषय अथवा संशोधनको गुन्जायसका कारण पनि विज्ञप्ति नआएको हुन सक्छ नि ?
एउटा देशको संविधान त्यो देशको लागि हो र अर्को देशले मान्ने र अनुमोदन गर्ने कुराको कुनै अर्थ छैन । त्यहाँ यो विषय उल्लेख पनि थिएन । तर नेपालको संविधानको सन्दर्भमा निर्माण समयदेखि घोषणाको समयदेखि भारत त्यसमा कुनै न कुनै प्रकारले रुचि, चासो र विवादजस्ता कुरामा रह्यो । यद्यपि आफ्नो मन्तव्यमा सुष्मा स्वराजले आफ्नो मन्तव्यमा भन्नुभएको थियो, ‘भारतले नेपालको संविधानालई स्वागत गरिसकेको छ ।’ त्यही कुरा औपचारिक ढंगले उल्लेख गर्नु वाञ्छनीय हुन्थ्यो।
महाकाली पञ्चेश्वर सन्धिताका सोही कारण एमाले टुक्रियो । त्यतिखेर भारतपरस्त मसिहाका रूपमा पनि केपी ओलीलाई चित्रित गरियो । तर संविधान जारी भएपछि या नाकाबन्दीको समययता राष्ट्रियताको एउटा मसिहाको रूपमा चित्रित गरियो । पछिल्ला दुई कालखण्ड कहिले असन सकिएर भोटाहिटी सुरु भयो ?
यो विल्कुल गलत चित्रण हो । राजनीतिमा विचारको हिसाबले नीति र आदर्शका हिसाबले अथवा नीतिहरूमा बहस हुँदैन, तब आरोपित गरिन्छ । तर्क हुन्जेल मान्छे तर्क गर्छ, तर्क नभएपछि मान्छे के गर्छ ? नेपाली कांग्रेससँग एमालेको विरुद्धमा कुनै वैचारिक, राजनीतिक, कार्यक्रमिक नीतिगत कुनै मुकाबिला गर्ने, केही टिप्पणी गर्ने हैसियत छ ? केही पनि छैन । काग्रेसको प्रचार हेर्नुस् न । अब जनवरीभन्दा यतै मेलम्ची खानेपानी ल्याउने र खानेपानी विभागले पाइप ओछ्याउने कामलाई तीव्रता दिएकाले पानी तुरुन्त आउने खबर माथि छ । तर तलतिर के लेख्या छ ? एमालेको मेयरले सारा बाटो बिगारेर, हिलो र धुलो बनाएर काठमाडौं सहर खाल्डाखुल्डी बनायो भन्ने आरोप छ । सरकारले पाइप बिछ्यायो, यो सरकारको सफलता भयो । बाटो भत्किएको छ, यो काठमाडौंको मेयरले गर्दा भयो । मैले प्रचारशैलीको कुरा गरेको हुँ, माओवादीले पनि त्यस्तै गरेको छ ।
एमालेकै अर्को तप्काले पनि त्यसरी प्रचार गथ्र्यो नि । त्यही कारणले उहाँहरू पार्टी छोडेर जानुभयो र पछि फर्कनुभयो पनि । आज पनि सुषुप्त रूपमा गरिरहेछन् नि ?
महाकाली सन्धि र पञ्चेश्वरका कारण पार्टी फुटेको होइन । पार्टी फुट्नाका अरू कारण थिए । त्यो कारण यथावतै रहँदारहँदै पनि पार्टी एकीकरण भयो । त्यतातिर म जान्न । तर न म कहिल्यै भारतपरस्त थिएँ, न कहिल्यै भारतविरोधी थिएँ । अहिले पनि संविधान निर्माण क्रमममा जारी भएपछि पनि म भारतविरोधी बनेको होइन । भारतविरोधी हुनुपर्ने कारण पनि छैन । नेपालले किन भारतविरोधी हुने ? यो त बलजफ्ती आफ्नो राजनीति गर्नको लागि र केही एजेन्सी र तिनका कर्मचारीलाई लाभ लिनको लागि लगाइएको आरोप हो । नाकाबन्दी भयो, अनुचित भयो । त्यो त साँचो हो नि ।
त्योभन्दा पनि खोक्रो राष्ट्रवाद, नक्कली राष्ट्रवाद, महेन्द्रीय राष्ट्रवाद भनेर प्रश्न गरिन्छ । अनि कांगे्रसीय र माओवादीय राष्ट्रवाद कस्तो हुन्छ ? शेरबहादुरी र प्रचण्डीय राष्ट्रवाद कस्तो हुन्छ ? त्यसो हो भने नाकाबन्दी पनि ठीक छ । खान नपाएको नि राम्रो छ । छिमेकीले गर्ने व्यवहार यस्तै हो भन्ने हुन्छ कि के हुन्छ ? टनकपुर एकलौटी हुँदै आयो । त्यहाँ त नेपाललाई थाहै नभई त्यतिबेला राजतन्त्रले स्वतः दियो नि । त्यसलाई हामीले सच्याउनुपर्यो । सच्याउने क्रममा हामीले त्यहाँसम्म पुर्याउन सक्यौं । म नेपाली हुँ । नेपालको हितलाई प्राथमिकता दिन्छु र खास गरेर दुई ठूला छिमेकीका बीचमा भएका सानो देशले राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्छ । त्यसमा अड्नुपर्छ । समग्रमा भन्नुपर्दा अन्तर्राष्ट्रिय परराष्ट्र सम्बन्ध सञ्चालन गर्दा राष्ट्रिय हितलाई ध्यान दिनुपर्छ । न्यायोचित हुनुपर्छ सम्बन्ध । तीनवटा कुरालाई ध्यान दिनुपर्छ । राष्ट्रिय हित, न्यायोचितता र अन्तर्राष्ट्रिय उत्तरदायित्व । मेरो सदैव त्यसमा दृढ अडान रहेको छ ।
नेपालभित्रका कसले के भन्यो अलग कुरो तर भारत सरकारको नेपालसम्बन्धी औपचारिक धारणा राख्ने अखबार र चीनको ग्लोबल टाइम्सजस्ता अखबार पढ्दा केपी ओली भारतविरोधीका रूपमा अथवा चीनको असल मित्रका रूपमा व्याख्या भइरहेको देखिन्छ । उनीहरूले पनि त्यही रूपमा चित्रित गरिराखेका छन् नि त ?
चीनको कुनै अखबारले मलाई चीनको असल मित्र भनेको छ भने सही भन्यो । कुनै भारतको कुनै पत्रिका या अखबारले भारतको असल मित्र भनेको छ भने त्यो सही हो । पहिले भारतको असल मित्र र अहिले होइन भनेर कसैले लेख्छन् भने त्यो दृष्टिदोष हो । म भारतका बुद्धिजीवी, सञ्चारमाध्यम र ब्युरोक्र्याट्सका अभिव्यक्ति खुलेआम देखिराख्या छु । हस्तक्षेपपूर्ण छ । यथार्थमा भन्दा ती ठू्लो राष्ट्रका अहंकारका कुरा हुन् । २१ शताब्दी लागिसक्यो, उहाँहरूको मानसिकता ब्रिटिसकालीन छ । नेपाल सानो छ भनेर जे पनि गर्न पाइन्छ ? जे पनि बोल्न पाइन्छ ? जसो पनि बोल्न पाइन्छ ? उहाँहरू बिगार्दै हुनुहुन्छ सम्बन्ध । उहाँहरूले हामीलाई विरोधी भनिरहनुहुन्छ । हामी विरोधी होइनौं भनेको भन्यै छौं । म भन्दैछु- भारत हाम्रो मित्रराष्ट्र हो । भारतका कतिपय सञ्चारमाध्यम र बुद्धिजीवी भनिरहेका छन्- केपी ओली भारतविरोधी हो । मलाई कुनै अर्को देशको विरोधी हुने कुरासँग कुनै सोख छैन । अर्को देशको विरोधी मलाई किन हुनुपर्या छ ? म नेपालभक्त हुँ, देशभक्त हुँ ।
बिमस्टेकको बैठकमा सुष्मा स्वराज आउँदा उहाँसँगका बैठक छल्न अथवा भारतीय पक्षले गरेको बेवास्तालाई मुस्ताङ गएर हावाबाट बिजुली निकाल्ने परियोजनाको आकस्मिक रूपमा एउटा उपकरण जोड्नुभयो ?
त्यो नियोजित थिएन । मुस्ताङको कार्यक्रम महिनौंअघिको कार्यक्रम थियो । उहाँले मलाई भेट्न चाहनुभएको भए म त्यो कार्यक्रम क्यान्सिल गराउन सक्थें । उहाँहरूको कार्यक्रम राजपाका नेतासँग भेट्ने कार्यक्रम थियो । अरू नेतासँग भेट्ने कार्यक्रम थियो । मसँग हुलमा गएर परैबाट प्रणाम गरेर चिया खाने कार्यक्रम थियो । सानो देशको भए पनि म देशको प्रधानमन्त्री भइसकेको मान्छे हुँ ।
सातैवटा प्रदेशमा एमालेले प्रदेश सरकार बनाउँछ । संघीय सरकार पनि नेकपा एमालेले बहुमतका साथ बनाउँछ । अब एमाले नगएर सरकारमा को जान्छ ?
सानो देशको भए पनि विपक्षी दलको नेता हुँ । सानो देशको भए पनि उमेरले ६० होइन, ६५ काटिसकेको मान्छे हुँ । म यस्ता कुरा बुझ्छु । देवकोटाले सुलोचना महाकाव्यमा लेखेका छन्, ‘म आफ्नो झोपडीको राजा सानै देश भए पनि ।’ मेरो कार्यक्रम पूर्व निर्धारित हो । मैले त्यो रद्द नगरेको हो । मैले कूटनीतिक रूपमा त्यो निर्णय जानीजानीकन नगरेको हुँ । भेट्ने कार्यक्रम नै थिएन त, मैले कताबाट भेट्थें ? यस्तो अफवाहका पछाडि नलागौं । चिया खान आउनु भन्ने मात्र निम्ता थियो । प्रधानमन्त्री, सुष्माजी र राजदूतहरू मञ्चमा बस्नुहुन्थ्यो, सुष्माजी ‘साह्रै सुहाउने तिमी दुईको जोडी’ भनेर गीत गाउनुहुन्थ्यो । मैले तल पछाडि कतै बसेर श्रवण गर्नुपथ्र्यो । एक कप चिया खाएर म हिँड्थें । यसले के सम्बन्ध साँच्चै सुध्रिन्छ ? म के मात्रै भन्न चाहन्छु भने एक्काईसौं शताब्दीमा राष्ट्रहरू समान छन् ।
पूर्व प्रधानमन्त्रीका रूपमा एउटा प्रश्न, चीनसँग कनेक्टिभिटीको लागि चीनले अबको बढीमा पाँच वर्षमा नेपालका पाँचवटै नाकासम्म रेल ल्याउला तर नेपालले आधारभूत रूपमा त्यसलाई जोड्न पूर्वाधार निर्माण गर्या छ ?
म के कुरा आग्रह गर्न चाहन्छु भने भारत र चीनसँगको हाम्रो कनेक्टिभिटी बढाउनुपर्छ । अबको जमाना भनेको कनेक्टिभिटीको हो । यो जमानामा बाटाभन्दा पृथक, सम्पर्क संवादभन्दा पृथक बसेर विकास गर्छु भन्ने कुरा हुँदैन । म भारत भ्रमणमा गएँ भने अर्को छिमेकीले चित्त दुखाउने, चीन भ्रमणमा गएँ भने अर्को छिमेकीले चित्त दुखाउने, एकातिरको बाटो बन्यो भने अर्को छिमेकीले चित्त दुखाउने यो सही होइन । म प्रधानमन्त्री हुँदा तीन अर्ब ६० करोड छुट्ट्याएर कोरला नाका जाने बाटो बन्दैछ, बेनीदेखि कोरला नाकासम्म । त्यसकारण हुँदै छैन, बन्दै छैन होइन ।
यता वेत्रावतीमाथिदेखि केरुङसम्म बन्दैछ, हामीले ठेक्का लगाएका छौं । उता किमाथांकामा हामी ट्र्याक खोल्दैछौं । दुई वर्षभित्र चीनले त्यहाँ पक्की बाटो ल्याइपुर्याउँदैछ । सिगात्सेबाट लगभग दुई घन्टामा त्यहाँ पुगिन्छ । त्यो बाटो सबै मौसममा चल्ने खालको बाटो हुनेछ । ओलाङचुंगोलाबाट अलिकति अग्लो छ कोरला नाकाजस्तै । जमिन एकदमै राम्रो छ । कार्यालय बसाउन उचित छ त्यो । हाम्रोपट्टि पनि त्यहाँ प्रशस्त जमिन छ । हामी विभिन्न ठाउँमा खोलिराखेका पनि छौं । र, यो खोल्नुपर्छ ।
हाम्रोमा प्रधानमन्त्री फेरबदल हुँदा अन्तर्राष्ट्रिय सम्बन्धमा किन त्यस्तो फेरबदल हुन्छ ? यो त राष्ट्रिय विषय होइन र ?
सरकार परिवर्तनले आर्थिक नीतिमा, विकासका नीतिमा पनि परिवर्तन हुनुपर्ने आवश्यकता छैन । किनभने संयुक्त राष्ट्रसंघले भनेको छ- दिगो विकासको लक्ष्य सन् २०३० मा पूरा गर्नेगरी । १५ वर्षमध्ये दुई वर्ष जान लाग्यो । दुई वर्षमा हामीले केही गर्न सक्या छैनौं । यसलाई हामीले तीव्रता दिनुपर्छ ।
चीन आज पनि त हामीसँग सशंकित नै देखिन्छ नि । नत्र तातोपानी नाका किन नखोल्या ? सबैभन्दा ठूलो नाका त त्यही नै थियो ।
त्यस सम्बन्धमा भौगर्भिक अध्ययन र भूगोलसम्बन्धी अध्ययनको कुरो छ । सामरिक र धर्मान्तरणको विषयचाहिँ होइन । त्यसमा ती कुरा पनि मिसिएलान् पछि । तर भुइँचालो गएकै दिनबाट ती कुरा पैदा हुने होइनन् नि । भुइँचालो गयो र पहाडहरू चर्केका छन् । चीनले भुइँचालो जानेबित्तिकै खासाबाट बस्ती नै उठायो । । जोखिमका कारण उठाइए ती बस्ती । त्यो ठाउँमा राख्न सकिँदैन भने कहाँ राख्ने ? हामीलाई क्वारेन्टाइन चाहिएला, भन्सार चाहिएला, ती कुरा कहाँ राख्ने ? उता राख्ने कि यता राख्ने ? बोर्डरमा ठाउँ छैन । बोर्डभन्दा उता लगेर राख्ने या यता ल्याएर राख्ने ? यो अलिकति छलफलको विषय हुनसक्छ । अर्को कुरो के छ भने यो बाटो नै चल्छ कि चल्दैन । मैले तिब्बत जाँदा कुराकानी गरें । भौगर्भिक हिसाबले खोल्न मिल्छ भने त्यो नाका खुल्छ भन्ने कुरामा म विश्वस्त छु ।
एमाले भारत र चीनसँग मात्र होइन, उत्तर कोरियासँग पनि सम्बन्ध बढाउन लागेको हो ?
कोरियासँग हाम्रो कूटनीतिक सम्बन्ध छ । यो अहिले बढाउन खोजिएको नयाँ होइन, सम्बन्ध पहिल्यैदेखि थियो । उत्तर कोरियाले आणविक हतियार निर्माण गर्ने र परीक्षण गर्ने गरिरहेको छ, यस सम्बन्धमा हाम्रो कुनै लिनुदिनु छैन । हामी शान्तिको पक्षमा छौं र ‘न्युक्लियर वेपन फ्रि वल्र्ड’ को कुरा गर्छौं । न्युक्लियर वेपनको निर्माण, परीक्षण, भण्डारण र प्रयोगमा हाम्रो असहमति छ । नेपाल शान्तिको पक्षमा छ, न्युक्लियर वेपनको पक्षमा छैन ।
पार्टीको संस्थागत निर्णयबाटै माधवकुमार नेपाललाई पठाउनुभएको हो ?
माधव नेपालजी उत्तर कोरिया जानु भो । त्यो उहाँको व्यक्तिगत भ्रमण हो । त्यसमा पार्टी जवाफदेही हुँदैन ।
अब एमाले सत्तामा जान लागेको हो ?
असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एमाले पहिलो पार्टी बन्छ । १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा नेकपा एमाले बहुमतमा आउँछ । सातैवटा प्रदेशमा एमालेले प्रदेश सरकार बनाउँछ । संघीय सरकार पनि नेकपा एमालेले बहुमतका साथ बनाउँछ । अब एमाले नगएर सरकारमा को जान्छ ?
चुनाव पछाडि ?
हो, चुनाव पछाडि । चुनाबबाट जान्छ । जनताको अभिमतबाट जान्छ । नेकपा एमाले केन्द्रमा, सातै प्रदेशमा एमालेले सरकार बनाउँछ । यो देशको सार्वभौमसत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, स्वाधीनताको रक्षा र स्वाभिमानको रक्षा । अलिकति होचो छ, अलिकति सानो छ भन्दैमा त्यसको टाउको ङ्याक्नैपर्छ भन्ने छैन । देशको राष्ट्रिय एकता जोगाउन एमाले चाहिन्छ । वास्तविक अर्थमा लोकतन्त्रलाई प्रक्रियामार्फत समृद्ध गर्न र शान्तिपूर्ण समाज र सुशासन चलाउन एमाले चाहिन्छ।
अब केही संक्षिप्त विषयमा जाऊँ । तेस्रो चरणको चुनावमा तपाईंहरूले वीरगन्जमा बसुरद्दिन अन्सारीलाई मेयरको प्रत्याशी खडा गरेपछि नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज भयो भन्नुभयो । के छ, यसमा सम्बन्ध ? उनलाई दाउद इब्राहिमको मान्छेसमेत भन्दा रहेछन् नि ?
एमालेमा आएपछि दाउद इब्राहिमको मान्छे भयो । यस्ता फजुल कुरा गर्नु उचित हुँदैन । जोकसैले भनेको आधारमा कुरा गर्नु वाञ्छनीय होइन । एमालेमा नआउँदा, हिजो त अन्य पार्टीमा हुँदा र सांसदमा निर्वाचन लड्दा त यो केही पनि थिएन । एमालेमा प्रवेश नगर्दा र उम्मेदवार नहुँदा त सम्बन्धन प्राप्त भएको थियो । एमालेमा आएपछि सम्बन्धन खारेज हुने । म फेरि पनि भन्छु- राज्य आवेश उत्तेजनामा चल्नु हुँदैन । कहिले प्रधानन्यायाधीशविरुद्ध राज्य उल्टिएर खनिन्छ । सत्तासीनहरू क्रोध, आवेश र उत्तेजनामा हुन्छन् र खनिन्छन् । शक्ति पृथकीकरणका सिद्धान्त, सन्तुलन र नियन्त्रणका सिद्धान्त र स्वतन्त्र न्यायपालिका बिर्सन्छन् ।