सिटौलाको हठले झापामा कांग्रेस संकटमा : राप्राले गठबन्धन तोड्यो
प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कांग्रेससँग तालमेल गरेको राप्रपाले झापामा भने तालमेल तोडेको औपचारिक घोषणा गरेको छ। पार्टी कार्यालयमा मंगलबार बसेको बैठकले कांग्रेस नेतृत्वको गठबन्धनबाट बाहिरिने निर्णय गरेको झापा जिल्ला सचिव केशव ओझाले जानकारी दिए।
झापा क्षेत्र नम्बर ३ मा कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उठाउने भएपछि गठबन्धन तोडेको राप्रपाका झापा जिल्ला अध्यक्ष अमरबहादुर विष्टले बताए। बैठकले कांग्रेसबाहेक अन्य दलसँग गठबन्धनका लागि ढोका खुला राखेको उनको भनाइ थियो।
उनले भने, ‘कांग्रेसले लिखित सम्झौता उल्लंघन गरेकाले आफूहरू बाध्य भएर अलग्गिएको घोषणा गर्नुपरेको हो।’ झापा जिल्लाको सन्दर्भमा मात्र कांग्रेससँगको गठबन्धन तोडिएको उनले बताए। बैठकले अन्य दलसँग गठबन्धनका लागि महामन्त्री राजेन्द्र लिङदेन, सहमहामन्त्री राम थापा र अध्यक्ष विष्टलाई जिम्मेवारी दिएको छ।
कांग्रेसका पूर्वमहामन्त्री सिटौलाले झापा क्षेत्र नम्बर ३ नछाड्ने भएपछि गठबन्धनबाट बाहिरिएको राप्रपाका महामन्त्री लिङदेनले बताए। एउटै गठबन्धनबाट दुई जना उम्मेदवार नहुने उनले बताए। भने, ‘राजनीतिक इमानदारी कांग्रेसमा देखिएन, पहिला झापा क्षेत्र नम्बर ३ हामीलाई दिने सहमति भएकोमा अहिले अचानक उल्टो निर्णय भयो।’ उनले कांग्रेसबाट धोका भएको बताए।
झापा ३ मा भद्रपुरका १ देखि ८ वडा र बिर्तामोड नगरपालिकाको १० नम्बर वडा पर्दछ। केचनाकवल, हल्दीबारी र बाह्रदशी गाउँपालिका पनि ३ नम्बर क्षेत्रमै पर्दछन्। यो क्षेत्रमा स्थानीय तह निर्वाचमा एमालेले २० हजार दुई सय ९६, कांग्रेसले १८ हजार दुई सय ६०, राप्रपाले १२ हजार आठ सय ८१ र माओवादीले १० हजार चार सय ४४ मत पाएका छन्।
कांग्रेस झापाका जिल्ला सभापति उद्धव थापाले भने राप्रपालाई क्षेत्र नम्बर ३ दिनेबारे पार्टीमा छलफल चलेको भए पनि सहमति भइनसकेको दाबी गरे। क्षेत्र नम्बर ३ का कार्यकर्ताले नेता सिटौलालाई उठ्न दबाब दिएसँगै सिटौलाले प्रत्यक्षबाटै चुनाव लड्न खोजेको उनले बताए।
लिङदेनलाई वाम गठबन्धनले सघाउने
कांगे्रेससँगको लोकतान्त्रिक गठबन्धन तोडेको घोषणा गरेको राप्रपा वाम गठबन्धनसँग तालमेलको नजिक रहेको राप्रपा स्रोतले जनाएको छ। मंगलबार बसेको बैठकले अन्य गठबन्धनसँग चुनावी तालमेलका लागि ढोका खुला राखेको निर्णय गरेसँगै वाम गठबन्धनसँग तालमेलको अन्तिम तयारी भइरहेको सचिव ओझाले जानकारी दिए।
लिङदेनलाई वाम गठबन्धनले सघाउने तयारी गरिरहेको छ। एमाले झापा जिल्लाका सचिव मदन अधिकारीका अनुसार लिङदेनलाई वाम गठबन्धनले सहयोग गर्ने विषयमा चर्चा चले पनि आधिकारिकता पाइसकेको छैन। मंगलबार र बुधबार बिहान तालमेलको विषयमा थप छलफल गरेर अपराह्नतिर एमालेले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी औपचारिक घोषणा गर्ने तयारीसमेत गरेको छ।