ट्वीटरमा २८० क्यारेक्टरको हिसाबकिताब

फेसबुककै झल्को दिने शैलीमा हिजोआज ट्वीटरको वाल खुल्न थालेको छ । लामो-लामो स्ट्याटस देखिन्छ । फोटो हाल्नेहरू पनि उत्तिकै छन् । पानको पत्ता छँदा ‘लाइक’ देखाउँछ, ‘फेभरेट’ हुँदैन । च्याट गरेकै शैलीमा ‘मेन्सन’ र ‘डीएम’ हुन्छ ।
नोभेम्बर ७ तारिखका दिन ट्वीटरले २८० क्यारेक्टरसम्म पोस्ट गर्न सकिने आधिकारिक जानकारी बाहिर ल्यायो । ट्वीटरले अक्षर संख्या बढाउँदै छ भन्ने हल्ला त पहिलेदेखि चलेकै थियो । अब, त्यो हल्लामात्र रहेन । सन् २००६ मा स्थापना भएदेखि नै ट्वीटरले १४० क्यारेक्टरसम्म पोस्ट गर्न सकिने सुविधा दिएको थियो । अहिले आएर यो सुविधाको मात्रा झनै बढेको छ । सदुपयोग पनि भई नै रहेको छ । मान्छेहरू लामा-लामा स्टाटस पोस्ट गर्न थालेका छन् । चाइनिज, कोरियन र जापानिज भाषाबाहेक अन्य भाषामा पनि यो सुविधा उपलब्ध हुने ट्वीटरले जनाएको छ । १४० क्यारेक्टरमा ट्वीट गर्न गाह्रो हुने भन्दै अक्षर संख्या बढाउनु परेको बाध्यता सुनाएको छ, उसले ।
मन लागेको कुरा मज्जैले भन्न सकिने भएपछि यसको प्रशंसा चुलिनुपर्ने हो । तर, त्यसो भएको छैन, बरु तीव्र आलोचना भइरहेको छ । २८० क्यारेक्टर खुला हुनेबित्तिकै यसले ट्वीटरलाई भद्दा बनाएको भन्दै विरोध थालियो । धेरैले ट्वीटर र फेसबुक चलाउनुको भिन्नता नै भेट्टाएनन् । यो संख्या घटाएर पहिलेकै स्थितिमा ल्याउनुपर्ने भन्दै ‘ह्यासट्याग’ नै चलाइयो । ट्वीटरमार्फत ट्वीटरकै विरोध भयो । आफूहरू १४० क्यारेक्टरमै आनन्द मान्ने भन्दै केहीले १४० अक्षर नबढाई ट्वीट हाने । ट्वीटरको सौन्दर्यतामा प्रश्न उठाइयो ।
केहीले ट्वीटरको भविष्यमाथि नै प्रश्न उठाउन पनि भ्याए । बाहिरी देशमा मात्र हैन, नेपालमा पनि यसको आलोचना गर्नेहरू प्रशस्तै देखिए । कतिपयले अब राजनीतिक दलको घोषणापत्र नै ट्वीटरबाट आउने हो कि भनेर खिल्ली उडाए । जे होस्, क्यारेक्टर हिसाबकिताबले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई केही समयका लागि खुराक तयार पारिदियो । पक्ष विपक्षमा आ-आफ्ना तर्क राखिए । केहीले फाइदा देखे, केहीले सुन्दरता घटेको पाए । त्यसो त आलोचनामात्र हैन, प्रशंसा गर्नेहरू पनि प्रशस्तै छन् । भन्न खोजको कुरालाई खुम्च्याउनुभन्दा लम्ब्याउनै पाएपछि किन गाली गर्नु ! ट्वीटरको पछिल्लो कदम ठीक र लेखकहरूको पक्षमा रहेको भन्दै सराह्रना गरियो । विरोध गर्नेहरूको खोइरो खनियो । ट्वीटर प्रयोगकर्ताहरू स्पष्ट दुई धारमा विभाजित भए, सही भन्ने र गलत ठहर्याउने ।
क्यारेक्टर बढाइएपछि धेरैले ट्वीटर र फेसबुक चलाउनुको भिन्नता नै भेट्टाएनन् । यो संख्या घटाएर पहिलेकै स्थितिमा ल्याउनुपर्ने भन्दै ‘ह्यासट्याग’ नै चलाइयो । ट्वीटरमार्फत ट्वीटरकै विरोध भयो।
जब २८० क्यारेक्टर पोस्ट हुन थाल्यो, यसको साइड इफेक्टहरू तत्काल देखिन थाले । मान्छेहरूले लामा-लामा भावनाहरू लेखेर ट्वीट गर्न भ्याए । गाली गर्नेहरूले लम्बेतान शब्दमा आक्रोश पोखे । कविहरूले आफ्ना कविताहरू नै पोस्ट गरे । कतिले चुट्किला हाल्न थाले, मानौं यो जोक्स संग्रह हो । प्रेमीहरूले बतासेमै प्रेमपत्र लेखे । ट्वीटरका वाल हेर्दा यस्तो लाग्थ्यो, मान्छेहरूलाई वर्षौंपछि बोल्न दिइएको छ । उनीहरू हतारहतार आफ्ना कुरा भनिरहेछन्, मानौं केही समयपछि बोल्न पाइने छैन । ट्वीटेहरू निर्धक्कसँग लामालामा वाक्यमा आफ्नो कुरा सुनाइरहेका छन् । यसैलाई व्यंग्य गर्दै भिक्टर डग नामक साथीले ट्वीट गरे, ‘ट्वीटरद्वारा सबै प्रयोगकर्ताका लागि २८० क्यारेक्टर खुला गरिएको छ । यससँगै ट्वीटरमा लघुकथा, गजल तथा दलको घोषणापत्रसमेत उल्लेख गर्न सकिने । साथै चुनाव प्रचारप्रसार गर्न दललाई सजिलो हुने ।’
ट्वीटरले फेसबुकको शैली अपनाएको धेरैको आरोप छ । लामो लेख्न फेसबुक नै भएको भन्दै ट्वीटरलाई आफ्नो निर्णय फिर्ता लिन आग्रह गर्नेहरूको जमात पनि ठूलै छ । १४० क्यारेक्टरलाई प्रेम गर्नेहरू दुःखी देखिए । विगत एक सातादेखि ट्वीटरको वालमा निराशा पोख्नेहरूको कमी छैन । ट्वीटर यस्तो किन भयो त ? ट्वीटेहरूको तर्क छ- थोरै शब्दमा अर्थपूर्ण कुरा भन्ने ट्वीटरको जुन सुन्दरता थियो, गायब भयो ।
हुन पनि ट्वीटरलाई सुन्दर बनाएको क्यारेक्टरको सीमितताले नै हो । छोटा र चोटिला वाक्यले धेरैलाई मोहनी नै लगाएको थियो । अनावश्यक कुरालाई जोडेर धेरै लेख्न नपाइने हुनाले मान्छेहरू यसप्रति आकर्षित हुन्थे । नयाँ घोषणासँगै यसप्रतिको ‘चार्म’ घट्छ कि भन्ने धेरैको शंका हो । यसको फरकपना (युनिकनेस) नै ध्वस्त भएको ट्वीटेहरूको आरोप छ । पढ्न पनि सजिलो, थोरै अक्षरमा अर्थपूर्ण कुरा र चर्का बहस हुने भएकाले ट्वीटलाई प्यारो सामाजिक सञ्जालको रूपमा लिइँदै आएको थियो । क्यारेक्टर बढेपछि अब अनावश्यक कुराहरूले ठाउँ नपाउँला भन्न सकिन्न । त्यो चरित्र पनि देखिसकिएको छ । थोरै शब्दमा भन्न सकिने कुरालाई पनि लम्बेतान गरिएको छ ।
थोरै शब्दमा धेरै भन्न सक्नु क्षमता÷खुबीको कुरा हो । ट्वीटरमा विचारमात्र हैन, क्षमता पनि पोस्ट गरिन्थ्यो । त्यसैले त अन्य सामाजिक सञ्जालभन्दा यसलाई रुचाइएको थियो ।
क्यारेक्टर बढाएर ट्वीटर सम्पूर्ण रूपले सकियो भन्ने चाहिँ हैन । अहिले पनि एउटा सीमितता छ । तर, एकपछि अर्को गर्दै ‘फिचर’ परिवर्तन गरिरहँदा यसको आकर्षण गुम्दै जाने हो कि भन्ने डर मात्र हो ।
कहिलेकाहीँ एक, दुइ अक्षर बढी राख्न नपाउँदा भन्न खोजेका कुरा अपुरो भएको अनुभव प्रायः प्रयोगकर्तासँग होला । अब यो समस्या रहेन । यतिमात्र हैन, आफ्ना रचनाहरू ट्वीटरमा राख्न अक्षर बाधक नहुने भयो । आफूलाई ‘एक्सपोज’ गर्ने वातावरण पनि तयार भयो । त्यसैले, २८० क्यारेक्टर भएसँगै खुसीका ट्वीटहरू पनि उत्तिकै देखिएका छन् ।
सजिलो बनाउने नाउँमा ट्वीटरलाई खाली पानाजस्तो नबनाइयोस्, जसले जे पनि लेख्न सक्ने । थोरै शब्दमा सबैले बुझ्ने गरी राखिएका विचारहरू नै पढ्न मज्जा आउँछ ।
प्रतिक्रिया दिनुहोस !
