नउड्ने जहाजका एयरहोस्टेज

नउड्ने जहाजका एयरहोस्टेज

हेलो एभ्रिवन, गुड आफ्टरनुन ! दिस इज एयरबस थ्री हन्ड्रेड थर्टी, विद् अ म्याक्सिमम् पेसेन्जर क्यापासिटी अफ सिट्स फोर हन्ड्र फोर्टीफोर...’, यति भनेर एयरहोस्टेज रिवा लिम्बु मुस्कुराइन् । यात्रुलाई अगाडि बढ्ने बाटो छाडिदिइन् । केही यात्रुलाई ककपिटतर्फ संकेत गरिन् । प्यासेन्जरहरू जहाजभित्र पसे । कोही ककपिटतर्फ लागे । प्यासेन्जरहरू जहाजभित्रका अन्य दर्जनौं साना जहाज हेर्दैै रमाउन थाले । अन्य एयरहोस्टेज ‘एटेन्सन प्लिज...’ भन्दै थिए । यात्रुहरू जाने–आउने क्रम चलिरहेकै थियो । तर, जहाज उडेन । किनकि त्यो सिनामंगलको एभिएसन म्युजियमको नउड्ने जहाज हो ।

म्युजियम हेर्न आउनेको उपस्थिति बाक्लो थियो । रातो युनिफर्ममा चिटिक्क सजिएका एयरहोस्टेज यात्रु व्यवस्थापनमा व्यस्त थिए । कोही जिज्ञासुका उत्तर दिइरहेका थिए । कोही म्युजियममा राखिएका अन्य साना जहाजबारे प्रश्नोत्तरमा व्यस्त थिए । कोही आगन्तुक भने पाइलट–सिटमा बसेर सिसाबाहिर हेर्दै थिए । युनिफर्ममा सजिएकी एयरहोस्टेजलाई विद्यार्थीको समूह सोध्दै थियो, ‘जहाज कसरी ग्राउन्डेड भएको हो यहाँ ? ’ एयरहोस्टेज हाँस्दै यथार्थ बताइदिन्थे ।

एयरहोस्टेज बन्ने सपना बोकेर राजधानी पसेका यी युवतीहरूको सपना एभिएसन म्युजियमबाट सुरु भएको छ । उनीहरूको एउटै आवाज छ, ‘यसले हाम्रो करियरमा सहयोग पुग्नेछ ।’


म्युजियममा परिणत भएको टर्किस ध्वजावाहक एयरबसले आठ महिनामात्रै उडान भ¥यो । ३५० मोडलको सो विमान २५ अर्ब ६४ करोड मूल्यको थियो । सो एयरबस २०७१ फागुन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो । त्यसपछि सो विमानको बाहिरी पार्टपुर्जा जोडजाम गरेर म्युजियम बनाउने आइडिया निकाले क्याप्टेन वेद उप्रेतीले ।

सिनामंगलस्थित नेपाल उडड्यन प्राधिकरणको आठ रोपनी जग्गा मासिक पाँच लाख तिर्ने गरी १० वर्षका लागि भाडामा लिए । जहाजको पाटपुर्जा खोल्नमात्रै एक लाख अमेरिकी डलर खर्च भयो । वेद उप्रेती ट्रस्टले सात करोड लागतमा निर्माण गरेको म्युजियम बन्न नौ महिना लाग्यो । नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत सहकार्य रहेको म्युजियम गत हप्ताबाट सर्वसाधारणका लागि खुला गरिएको छ ।

त्यही नउड्ने जहाजमार्फत उड्डयन क्षेत्रमा आफ्नो करियर बनाउने सपना देखिरहेका छन् केही एयरहोस्टेज । उनीहरू म्युजियममा आउने आगन्तुकको हरप्रश्नको उत्तर दिने प्रयास गरिरहेका छन् । विद्यार्थीका एकएक प्रश्नको उत्तर बनिरहेका छन् उनीहरू । सोही नउड्ने जहाजबाट करियर सुरु गरेर ती एयरहोस्टेज एकदिन म्युजियम माथिको आकाशमा उड्ने सपना सजाइरहेका छन् ।

तिनैमध्येकी एक हुन् धरानकी १८ वर्षीया रिवा लिम्बु । उनले दुई महिनाको एयरहोस्टेज कोर्स सिकेकी छिन् । भन्छिन्, ‘हामी तीन सय जनामा सेलेक्ट भएर १८ जना यहाँ आएका हौं ।’ एयरहोस्टेजका रूपमा काम गर्न पाउँदा खुसी लागेको उनले सुनाइन् । उता कोर्स पनि पढ्दै गरेकी उनी म्युजियममा काम गर्दागर्दै एकदिन कुनै एयरलाइन्समा काम गर्ने योजनामा छिन् ।

टिपटप भएर छेउमै उभिइरहेकी जनकपुरकी मोनालिसा पाख्रिन एयरहोस्टेज ट्रेनिङ इस्टिच्युटमा तीन महिनाको कोर्स गर्दैछिन् । उनले पनि करियरको सुरुवातमा म्युजियममा काम गर्न पाउँदा खुसी लागेको सुनाइन् । एकदिन उड्ने जहाजमा एयरहोस्टेज बन्ने सपना उनीसँग छ ।

उनीहरू अन्तर्वार्ताबाट छानिएर आएका हुन्, जसमा उनीहरूले आईक्यू टेस्ट, गु्रप डिस्कस, लेक्चर, स्पिच सबै पास गरे । क्लासमा थ्योरीमात्रै सिकाइ हुने र म्युजियममा प्राक्टिकल नै सिक्दै छन् । प्लान, अनप्लान इमर्जेन्सीजस्ता विमान क्षेत्रको शब्दावलीबारे उनीहरू जानकार छन् । प्लेनमा युनिफर्म लगाएर पाइलट पनि बस्छन् । युनिफर्म लगाएर को–पाइलटको टे«निङ लिइरहेका मानिस नै बस्छन् । पैसाका लागि भन्दा पनि अनुभवको लागि म्युजियममा काम गरिरहेको उनीहरू बताउँछन् । चितवनकी १८ वर्षीया विकल्प गुरुङ भन्छिन्, ‘नट फर स्यालरी बट फर इक्स्पिरिएन्स ।’

एयरहोस्टेज बन्ने सपना बोकेर राजधानी पसेका उनीहरूको सपना एभिएसन म्युजियमबाट सुरु भएको छ । उनीहरूको एउटै आवाज छ, ‘यसले हाम्रो करियरमा सहयोग पुग्नेछ ।’ उनीहरू उडिरहेको विमानको जस्तै सम्पूर्ण नियम फलो गर्छन् । उडिरहेको प्लेनमा जस्तै बेलाबेलामा अनाउन्समेन्ट गर्छन् । भक्तपुरकी २३ वर्षीया अनिता फोजू भन्छिन्, ‘यात्रुलाई प्लेनमा गर्नुपर्ने व्यवहार सबै गर्छौं ।’ कपनकी २४ वर्षीया जमुना तामाङले आजसम्म उडिरहेको जहाजमा यात्रा गरेकी छैनन् । तर, उनको पनि सपना एयरहोस्टेज बन्ने हो । उनी हाँस्दै सुनाउँछिन्, ‘आजसम्म प्लेन चढेकी छैन । तर, एयरहोस्टेज बनेर जहाजमा चढ्ने सपना छ ।’ उनीसँगै प्रायः सबैले अहिलेसम्म विमानमा यात्रा गरेका छैनन् ।

नउड्ने जहाजमा एयरहोस्टेज बन्न पाउँदा रमाइलो लागिरहेको सुनाउँछिन्, चितवनकी १८ वर्षीया सुजना थापा । भन्छिन्, ‘करियरको सुरुवात राम्रो भएको छ हाम्रो । धेरै सिक्ने अवसर आएको छौं ।’ काभ्रेकी सरिता लामाको पनि धारणा उस्तै छ । भन्छिन्, ‘नउड्ने जहाजमा हामी काम गरिरहेका छौं भन्ने नै ‘फिल’ हुँदैैन । हाम्रो काम सेवा दिने हो, जुन दिइरहेका छौं ।’

उनीहरू म्युजियममा एक वर्षका लागि अनुबन्धित भएका हुन् । त्यतिन्जेल उनीहरू अन्य एयरलाइन्समा जान पनि सक्नेछन् । उनीहरूले आफ्नो समयावधि सकाएपछि अर्को समूह त्यहाँ आउँछन् । इटहरीकी १८ वर्षीया दीक्षा थापा आफू एक वर्षको लागि ‘कन्ट्राक्ट’मा भएको बताउँछिन् । उनी भन्छिन्, ‘यहाँभन्दा ‘बेटर अप्सन’ आयो भने छाड्न पनि पाइन्छ ।’

उनीहरू ग्याली, कक्पिटजस्ता शब्दहरूमा अभ्यस्त छन् । इमरजेन्सीको बेला के गर्ने भन्ने उनीहरूले सिकेका छन् । म्युजियमका काम गरेको अनुभव र सर्टिफिकेटले उनीहरूलाई अन्य
एयरलाइन्समा उडेसरह मान्यता हुन्छ । म्युजियम र अन्य एयरलाइन्सले पाउने तलब–सुविधामा समेत समानता रहेको उनीहरू बताउँछन् ।

अन्य दिन विद्यार्थीको बाक्लो उपस्थिति हुने म्युजियममा शनिबार सर्वसाधारणको पनि भीड लाग्छ । सबै आगन्तुकले राम्रो जिज्ञासा नै राख्छन् भन्ने छैन । विद्यालयबाट केही सिक्न आएका विद्यार्थीले जिज्ञासा राख्नेभन्दा बढी फोटो खिच्ने गरेको उनीहरूको अनुभव छ । अन्य आगन्तुकहरू सबैले जिज्ञासा नै राख्छन् भन्ने छैन । कतिपयले उनीहरूलाई जिस्क्याउँछन् । त्यस्ता आगन्तुकलाई उनीहरू भन्छन्, ‘डिस्टर्भ प्यासेन्जर ।’ त्यस्ता प्यासेन्जरप्रति कस्तो व्यवहार गर्ने भन्नेबारे उनीहरू जानकार छन् । अनावश्यक प्रश्न सोधिरहने आगन्तुकदेखि उनीहरूलाई सुरु रिस उठ्दैन । हाँसीहाँसी उत्तर दिइरहन्छन् । जब कसैले जिस्क्याउने र ‘भल्गर वर्ड’ प्रयोग गर्न थाल्छन्, त्यसपछि सेक्युरिटीलाई खबर गरिदिन्छन् । ‘कुनै विद्यार्थीले त्यसो गरे प्रिन्सिपललाई खबर गरिदिन्छौं,’ सरिता लामा भन्छिन् ।

उनीहरूले इन्स्टिच्युटमा भन्दा म्युजियममा धेरै कुरा सिकिरहेका छन् । रिवा भन्छिन्, ‘हामीले धेरै कुरा सिकिरहेका छौं । सर्भिस दिइरहेका छौं । इन्फरमेसन सिकिरहेका छौं । प्यासेन्जरलाई गर्नुपर्ने व्यवहार सिकिरहेका छौं ।’

नेपाली आकाशमा विभिन्न समयमा दुर्घटनाहरू भइरहेका छन् । तर, युवा पुस्ताको उड्डयन पेसाप्रतिको ‘क्रेज’ लोभलाग्दो र उदाहरणीय छ । उनीहरू सबैले परिवारबाट साथ र सहयोग पाएका छन् । एयरहोस्टेज नै रोज्नुको कारण उनीहरू एकै स्वरमा भन्छन्, ‘हाइप्रोफेसनल र ग्ल्यामरस जब हो । फरक–फरक देश घुम्न पाइन्छ । सुविधाहरू छन् ।’

‘धर्तीमा त जसले पनि सर्भिस गर्न सक्छ । तर, आकाशमा सर्भिस गर्न सक्नु ठूलो कुरा हो,’ मोनालिसा मुस्कुराउँछिन्् । उनीहरू त्यहाँ काममा अभ्यस्त हुँदैछन् । बाहिर सार्वजनिक गाडी चढ्दा र घरमा पनि विनम्र व्यवहार गर्छन् । भन्छन्, ‘विनम्र भएर बोल्दाबोल्दै सबैलाई सर म्यामभन्दा रहेछौं ।’

म्युजियमका सञ्चालक उपे्रती म्युजियम बनाउनुको उद्देश्य विद्यार्थीलाई हौसला दिनु रहेको बताउँछन् । उप्रेती भन्छन्, ‘एभिएसन म्युजियम एउटा पर्यटकीय गन्तव्य बनोस् भन्ने हो । यसको लक्षित समुदाय विद्यार्थी वर्ग हो । विद्यार्थीलाई मोर्टिभेसन र इन्पाइरेसन गर्न बनाएका हौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.