ओली र म आलोपालो प्रधानमन्त्री : प्रचण्ड
चितवन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब बन्ने सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको बताएका छन्।। प्रचण्डले वाम गठबन्धन गर्ने समयमै एमाले र माओवादीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताए।
प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र आफू पालैपालो प्रधानमन्त्री बन्ने सैद्धान्तिक सहमति भएको खुलासा गरेका हुन्।
पार्टी एकता संयोजन समितिको बैठक बसेर यसको टुंगो लगाउने समेत उनले प्रष्ट पारे। ‘प्रधानमन्त्रीका लागि आलोपालोको तरिका अपनाउने भन्ने सहमति सिद्धान्तत भएकै हो’, प्रचण्डले भने, ‘पार्टी एकता संयोजन समितिको छलफलबाट अन्तिम टुंगो लाग्छ।’
शुक्रबार प्रधानमन्त्री निवासमा भएको पाँच दलको बैठकमा राष्ट्रिय सभाको गठनको अध्यादेशको बारेमा कुरा नमिले पनि छलफलबाटै समझदारी कायम गर्न सकिने विश्वास प्रचण्डको छ। राजनीतिक सहमतिको प्रयासका लागि वाम गठबन्धन भित्र समेत छलफल भएको भन्दै छिट्टै निकास निस्कने दाबी उनले गरे।
राष्ट्रिय सभाको गठन गर्न विगतमा एकल संक्रमणीय विधिबाट गर्ने भन्ने संविधानमा उल्लेख भए पनि यसपटक त्यो नभएको पनि दाहालले बताए। ‘राजनीतिक निकास बनाएर नयाँ सरकार गठनको विषयमा छलफल भएको छ’, दाहालले भने, ‘अध्यादेशको बारेमा कुरा नमिले पनि कही न कही समझदारी बनाउन जरुरी भएको महसुस सबैलाई भएको छ।’
उनले प्रतिनिधिसभा र राष्ट्रियसभा गठनको पाटो भिन्नै भएकाले सरकार गठनमा कुनै समस्या नभएको प्रष्ट पारे।