महोत्सवमा टिकट पाएनन् दर्शकले
धनगढी : सुदूरपश्चिम महोत्सवमा शनिबार थेगिनसक्नु भीड जम्मा भएपछि आयोजक कैलाली उद्योग वाणिज्य संघले टिकट बिक्री बन्द गरेको छ। टिकट बन्द गरेपछि धनगढी आसपासका गाउँबाट महोत्सव हेर्न आएका दर्शक आक्रोशित भएका छन्। धनगढीको पार्क मोडदेखि बसपार्कसम्मको सडकमा यातायातका साधन बन्द गरिए पनि महोत्सव अवलोकनकर्ता भरिएपछि धनगढीको मुख्य बजार आवागमन तीन घन्टा अवरुद्ध भयो।
दिउँसो १ बजेदेखि महोत्सव स्थल भरिएकाले आयोजकले त्यसपछि टिकट बिक्री बन्द गरेपछि अवलोकनकर्ता आक्रोशित भएका हुन्। शनिबार परेकाले बालबालिकासहित धनगढी र आसपासका गाउँबाट महोत्सव हेर्न ठूलो संख्यामा दर्शक आएका थिए। महोत्सवस्थल बाहिर टिकट नपाएका अवलोकनकर्ताको भीड लागेपछि प्रहरीले चारैतिरबाट महोत्सवस्थल जाने बाटो बन्द गरेको थियो। प्रत्येक वर्ष महोत्सवमा पर्ने शनिबारमा यस्तै ठूलो भीड हुने भए पनि आयोजकले व्यवस्थापन गर्न नसकेको महोत्सव हेर्न नपाएर फर्किंदै गरेका स्थानीय हरिश जोशीले भने, ‘आयोजकले अहिलेसम्म धनगढीमा प्रदर्शनीस्थलको व्यवस्था नगरेकाले यस्तो भएको हो।'
०६३ सालमा धनगढी रंगशालाबाट सुरु गरिएको महोत्सवमा दैनिक ५० हजार मानिस आउने गरेका छन्। हरेक वर्ष मंसिर २२ गते एउटै क्यालेन्डरमा हुने भएकाले महोत्सव हेर्न आउनेको भीड हुने गरेको हो। यसपालि मात्रै मंसिर २१ मा चुनाव परेकाले एक हप्ता सारेर मंसिर २९ गतेदेखि महोत्सव सुरु भएको हो।
महोत्सवको अन्तिम शनिबार परेकाले भीड धेरै भएको हो। ‘धनगढीका नेताले पनि अबको महोत्सवका लागि प्रदर्शनीस्थल खाज्नुपर्छ', महोत्सव हेर्न नपाएर फर्किंदै गरेका लक्ष्मणसिंह जाग्रीले भने। धनगढी रंगशालामा प्यारापिट बनेपछि पछिल्ला ५÷६ वर्षदेखि सेती अञ्चल प्रहरीको खेल मैदानमा महोत्सव आयोजना हुँदै आएको छ।
प्रत्येक वर्ष धनगढीमा लाग्ने सुदूरपश्चिम महोत्सवमा शनिबार यस्तै भीड हुने गरेको छ। शनिबार विद्यार्थी, सरकारी तथा विभिन्न गैरसरकारी संस्थाका कर्मचारीको बिदा हुने भएकाले महोत्सव अवलोकन गर्न आउनेको संख्या धेरै हुने गर्छ। सेती अञ्चल प्रहरी कार्यालयको मैदान साँघुरो हुनुका साथै धेरै स्थान स्टल र रमाइलो मेलाका लागि समेत स्थान प्रयोग गरिएपछि दर्शक उभिने ठाउँ अभाव हुन थालेको हो। तर, आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीले भने धेरैले महोत्सव हेर्न नपाएकाले महोत्सवको अवधि दुई दिन थपिने बताए। ‘सोमबार महोत्सव समापन गरिने भनिए पनि यसपटक बुधबार मात्रै समापन हुनेछ', उनले भने। शनिबार ५० हजार अवलोकनकर्ताले टिकट काटेको र त्यसको दोब्बर फर्केर गएको उनले बताए। महोत्सवस्थलको बाहिर लागेको भीडभाडमा स-साना नानीबाबु बोकेर गएका महिलालाई प्रहरीले उद्धार गर्नुपरेको थियो।