यात्रामा निस्कनुअघि ध्यान दिनुपर्ने कुरा
काठमाडौं : कतै घुम्न जाँदै हुनुहुन्छ भने केही कुरामा ध्यान पुर्याउनुपर्छ। तयारी राम्रो गरिएन भने यात्रा कष्टकर हुनसक्छ। आनन्ददायी यात्राका लागि घरबाट निस्कनुअघि यी केही तयारी गर्नुपर्छः
बजेट
कहाँ जाने हो? कति जना जाने हो? कति दिन बस्ने हो? आदि विचार गरेर बजेट बनाउनुपर्छ। यात्राका क्रममा पैसाको अभाव भयो भने यात्रा अपुरो र खल्लो हुन सक्छ।
प्याकिङ
यात्रा अवधिभर चाहिने लुगाफाटा, ब्रस मञ्जन, साबुन आदि चिजबिज समेटेर राम्रो प्याकिङ गर्नुपर्छ। दैनिक आवश्यकताका स–साना चिज नछुटुन् भन्ने हेक्का राख्नुपर्छ। तर, अनावश्यक चिजहरू लिएर जानुहुँदैन। भारी ब्याग र सुटकेस बोकेर यात्रामा निक्लनु यात्रालाई बोझिलो र कष्टकर बनाउनु हो।
घुम्ने ठाउँको जानकारी
कहाँ घुम्न जाने हो, त्यस ठाउँको हावापानी, रहनसहन आदिबारे जानकारी लिनुपर्छ । यसका निम्ति इन्टरनेट तथा साथीभाइको अनुभवलाई प्रयोग गर्न सकिन्छ ।
औषधि
यात्रामा निस्कदा स्वास्थ्यको विशेष हेरविचार गर्नुपर्छ । कतिपय व्यक्तिलाई यात्रामा जाँदा वाकवाक लाग्ने, टाउको दुख्ने, पेट दुख्नेजस्ता समस्या हुनसक्छन् । जसले गर्दा यात्रा बोझिलो हुनसक्छ । यस्तो अवस्थामा साथमा पानी,जीवनजल, सिटामोल राख्न बिर्सनुहुँदैन ।
खाना
लामो यात्रामा निस्कनुभन्दा अघि सामान्य खाना खाना खानुपर्छ । बिर्सेर पनि चिल्लो अमिलोजस्ता खाना खानुहुँंदैन । फलफूल र प्रशस्त मात्रामा पानीको सेवन गर्नुपर्छ ।