‘कमाऊ, खाऊ र उडाऊ’ मा रमाइरहेको छ अमेरिका
आख्यानकार राजव हाल अमेरिका बसेर कथा र उपन्यास लेखिरहेका छन्। उनका ‘इतर जिल्लावासी’, ‘कंगन खित्का’, ‘कामरेड ड्राइभर’ कथासंग्रह र ‘बेकारीमा उपन्यास’, ‘सोटिट’ उपन्यास प्रकाशित छन्। उनीसँग ‘सम्पूर्ण’का लागि दीपक सापकोटाले आख्यान र अमेरिकामा केन्द्रित भएर संवाद गरेका छन्।
तपाईं अमेरिकामा बसेर कथा–उपन्यास लेखिरहनुभएको छ। नेपाली साहित्यको स्तर कहाँनेर पाउनुहुन्छ ?
हाम्रोमा दैनिकजसो साहित्यिक र गैरसाहित्यिक पुस्तक बग्रेल्ती प्रकाशित भइरहेका छन्। तर, प्रकाशनको यस बगालमा स्तरीय लेखन सिला खोज्नुपर्ने हदसम्म कम देखिन्छ। कतिपय पुस्तक त लहडबाजीका प्रकाशन देखिन्छन्। यस्तो हाम्रोमा मात्र हैन, विश्का अन्य प्रकाशनमा पनि देखिन्छ। तर, त्यसको मात्रामा भने फरक छ। हाम्रोमा कमसल प्रकाशनको भीड बढी छ। नेपाली प्रकाशनको यस्तो भीड र गन्जागोलमा एकाध स्तरीय उपन्यास, कवितासंग्रह, कथासंग्रह, शोधग्रन्थ हात परे भने त्यसलाई सुखद मान्नुपर्छ।
अनि नेपाली साहित्यको भविष्य चाहिँ कस्तो देख्नुभएको छ ?
नेपाली साहित्यको भविष्य प्रचुर स्तरीय प्रकाशन, विश्वका विभिन्न भाषामा तिनको स्तरीय अनुवाद र तिनको विश्वव्यापी बिक्री–वितरणसँग जोडिएको छ। अझ योभन्दा पनि महत्वपूर्ण कुरो नेपाली भाषाको विकास र विस्तार हो। नेपाली भाषालाई जति उदारता र आस्थापूर्वक विस्तार गर्न सकियो, त्यति नै यसको साहित्यको पनि विस्तार हुन्छ।
तपाईं, कवि विमल निभा, कवि श्यामल र आख्यानकार नारायण ढकाललाई नेपाली साहित्यको ‘गोल्डेन जेनरेसन’ पनि भनिन्छ। तर, तपाईंहरू टिकिरहन सक्नुभएन भन्ने केही पाठकको मूल्यांकन छ। यसमा तपाईंको आफ्नै मूल्यांकन चाहिँ के छ ?
विमल निभा, नारायण ढकाल र श्यामल निरन्तर उचाइको लेखनमा छन्। विमल निभाको पछिल्लो कवितासंग्रह ‘एउटा बाहुला नभएको बुसर्ट’, नारायण ढकालका उपन्यास ‘प्रेतकल्प’, ‘वृषभ वध’, कथासंग्रह ‘इन्द्रजाल’ र श्यामलको कवितासंग्रह ‘हतारमा यात्रा’ र निबन्धसंग्रह ‘रित्तो गाउँ’ यसका भव्य उदाहरण हुन्।
आत्ममूल्यांकन गर्नुपर्दा तपाईं नेपाली लेखनमा कहाँ, कुन स्थानमा हनुहुन्छ ?
आफ्नो मूल्यांकन म आफैँ के गरौँ ? यो आदरणीय पाठकहरूको अधिकार र दृष्टिको कुरा हो। यत्ति भन्न सक्छु– नवीन र स्तरीय लेखन मन पराउने अधिसंख्यक पाठकहरू मलाई पढ्छन्।
नेपाली आख्यान निरन्तर प्रकाशन भइरहेका छन्। तर, ‘क्वालिटी’मा चाहिँ आख्यान निरन्तर खस्किरहेको छ भनिन्छ। नेपाली साहित्य किन खस्किरहेको छ त ?
गणनाको हिसाबले अन्य विधाको दाँजोमा आश्चर्यजनक रूपमा आख्यानका किताब बढी प्रकाशित भइरहेका छन्। आख्यानमध्येमा पनि कथासंग्रहको दाँजोमा उपन्यास बढी प्रकाशित भइरहेका छन्। तर, आख्यानात्मक संरचना, कथ्यगत नवीनताको हिसाबले कथासंग्र्रहको दाँजोमा उपन्यासको स्तर एकदम कमजोर देखिन्छ। कतिपय उपन्यास त फिचर लेखनजस्तो देखिन्छ। कमसे कम कमजोर नै भए पनि उपन्यास भनेर लेखेपछि त्यसको स्वरूप भरिपूर्ण आख्यानको होस् न। तर, यता प्रकाशित थोरै उपन्यासले मात्र पाठकको औपन्यासिक चाह पूरा गरेका छन्। समकालीन नेपाली साहित्य खस्कँदो छ भन्ने मान्न चाहिँ सकिन्न। किनभने, नितान्त भीडबीच थोरै संख्यामा भए पनि स्तरीय र राम्रा पुस्तक प्रकाशित भइरहेका छन्।
हाम्रोमा असल किताब निस्कन छोड्यो भन्ने पाठक बढिरहेका छन्। यसमा तपाईंको मूल्यांकन के छ ?
नेपाली पुस्तक प्रकाशन जत्तिको द्रुत गति र संख्यामा भइरहेको छ, त्यति नै यसको दुर्गति पनि देखिन्छ। दुर्गति स्तरको मात्र हैन, बिक्री–वितरण र प्रचारप्रसारमा पनि छ। तिनको समीक्षा उत्तिकै पनपक्षे, चालू, विकृत र हास्यास्पद देखिन्छ। यसले गर्दा हाम्रा कतिपय पाठक कमसल किताबहरूको भीडमा अलमलिन बाध्य छन्। असल पाठकले असल किताब बढी प्रकाशित होस् भन्ने चाह राख्नु र त्यस्तो किताब उपलब्ध नहुँदा निराश हुनु स्वाभाविक हो। नेपाली साहित्यको भरोसा र भविष्य असल पाठक नै हुन्।
हाम्रोमा कस्ता विषय साहित्यमा लेखिनुपथ्र्यो ? किन लेख्न सकिएन ? कस्तो लेखिइरहेको छ ?
साहित्यमा विषयभन्दा पनि सम्प्रेषण र त्यसको कलाको शर्त बढी हुन्छ। आफूले रोजेको कथ्य वा विषयले पाठकको स्वीकृति पाउन सफल हुने आधार मर्मभेदी कलात्मक सम्प्रेषण नै हो। तर, समकालीन साहित्य धेरैजसो चालू विषय र कमजोर शिल्पले भरिएको छ। हिम्मतका साथ राजनीतिक, सामाजिक, यौनजनित र इतिहाससम्मत विकृति उजागर गर्ने कथ्यहरूमा प्रशस्त उपन्यास, नाटक लेखिनु जरूरी छ।
हाम्रा लेखकले कत्तिको अध्ययन–अनुसन्धान गरिरहेका छन् ? आख्यान लेख्नुअघि तपाईं आफू चाहिँ कति अनुसन्धान गर्नुहुन्छ ? हाम्रा लेखनका सीमा के–के हुन् ?
अनुसन्धान नै गरेर लेखिनुपर्ने गैरआख्यानात्मक पुस्तक लेखनको भर र माग अनुसन्धान नै हो। तिनको सन्दर्भमा अनुसन्धानको विकल्प छैन। तर, साहित्यमा अझ आख्यान लेखनको सन्दर्भ अलि भिन्न छ। आख्यानमा केही सत्यतथ्य र इतिहाससम्मत कुराहरूको प्रवेश गराउनु प¥यो भने निश्चय नै आफूले सम्प्रेषण गर्न चाहेको त्यस्तो कथ्यगत विषयको अनुसन्धान गर्नैपर्छ। समकालीन आख्यानमा नारायण ढकाल, नयनराज पाण्डे, बुद्धिसागर आदिमा यो प्रवृत्ति पाइन्छ। म पनि कथ्यको मागअनुसार अनुसन्धान गर्छु नै। मेरो पछिल्लो उपन्यास ‘सोटिट’ यसको उदाहरण हो। तर, हाम्रोमा अपेक्षित विषयको अनुसन्धान सामग्री पाउन कठिन भने छ।
नेपाल छोडेपछि तपाईं नया“ संस्कृतिमा प्रविष्ट हुनुभयो, नया“ पात्र भेट्नुभयो, नया“ किताब लेख्नुभयो, अमेरिकी परिवेशमा लेखिएका ‘रिटर्न टिकट’, ‘लन्ड्री प्रेम’, ‘किबुका’, ‘बेबी सिटर’जस्ता कथा निकै चर्चित छन्। तर, ती कथा कत्तिको यथार्थनजिक छन् ?
मेरो समग्र लेखन आफूले भोगेको, देखेको, अनुभूत गरेको र हृदयले छामेको जीवनको यथार्थले भरिएको छ। मानिसको जीवनसँग असम्बन्धित उडन्ते हावादारी कुरो मेरो लेखनमा पाउनुहुन्न। मेरो लेखन मानिसको संघर्ष र त्यसको खरो यथार्थसँग सम्बन्धित छ। चाहे त्यो यथार्थको परिवेश अमेरिकाको होस् वा नेपालको, त्यसभित्र पिल्सिन बाध्य मानिसहरू नै मेरो लेखनको सरोकार हो।
नेपालमा हुँदा तपाईंले लेख्नुभएका चर्चित कथा ‘कंगन खित्का’, ‘जिल्ला इतरवासी’हरूका सन्दर्भमा हेरौँ। अमेरिका पसेपछि माथि भनिएका अमेरिकी परिवेशका कथा रचनामा प्रवृत्त हुनुभयो। उहिले र अहिलेका आफ्ना कथाको कन्टेन्टमा कत्तिको फरक पाउनुहुन्छ ?
निरन्तर एउटै परिवेश र कन्टेन्टमा लेखिरहने कुरो हुँदैन। नयाँ–नयाँ कथ्य र सम्प्रेषणको कोण खोज्न आवश्यक हुन्छ। वास्तवमा समयको गति, सामाजिक, राजनीतिक परिवर्तन, जीवन भोगाइको क्रम र उमेरसँगसँगै मन पनि नयाँ–नयाँ कथ्य र अनुभूतिले भरिइरहने गर्छ। अमेरिका प्रवासपछि मैले नयाँ भूगोल, नयाँ संस्कृति, नयाँ समाजलाई नजिकबाट हेर्ने र भोग्ने अवसर पाएँ। त्यही भोगाइहरू मेरा थुप्रै कथाहरू, दुई उपन्यास ( एटलान्टिक स्ट्रिट र मोटेल अमेरिका) र कविताहरूको कथ्य बनेका छन्। लेखनमा नेपाली परिवेश र अमेरिकी परिवेशलाई हेर्ने मेरो राजनीतिक, आर्थिक, सामाजिक र दार्शनिक प्रतिबद्धता उही हो। अमेरिका बसोबास गर्न थाले पनि उताको परिवेशमा मात्र मेरो लेखन केन्द्रित छैन। म पूर्ववत् स्वदेशको परिवेशमा पनि उत्तिकै कथा, उपन्यास, कविता, नाटक लेखिरहेको छु।
जुन दृष्टिकोणले तपाईं नेपाली समाजलाई हेर्नुहुन्छ, अमेरिकामा रहेको नेपाली समाजलाई हेर्ने दृष्टिकोण पनि त्यही हो ?
मेरो शरीरले मात्र ठाउँ सरेको हो, चिन्तनले हैन। म जुन एंगलबाट नेपाली समाजलाई हेर्छु, अमेरिकी समाज र परिवेशलाई हेर्ने मेरो एंगल पनि त्यही हो। वास्तवमा म देब्रे सोचको व्यक्ति हुँ। मेरो लेखनको विषय, कथ्य र त्यसको सम्प्रेषणको कलात्मक र सौन्दर्यात्मक चेत मेरो देब्रे चिन्तनबाट प्रभावित हुन्छ।
नेपाली कम्युनिस्टहरू अमेरिकालाई देखिसहँदैनन्। उता अमेरिकीहरू पनि कम्युनिस्टलाई देखिसहँदैनन्। अमेरिकी जनमानस कम्युनिस्ट राक्षसकै अवतार हो भन्ने सोच्छ। अमेरिकामा तपाईंका कोही कम्युनिस्ट साथी छन् ? अमेरिकी वामपन्थी ध्रुवका लेखक कस्तो लेख्छन् ?
अमेरिकी जनमानसमा कम्युनिजमको भूत पुस्तांतर हुँदै आजको अमेरिकी आमजनतामा पनि यथावत् छ। एसिया, अफ्रिका, युरोपबाट प्रवासिएर पछि अमेरिकी नागरिक भएका कम्युनिस्टप्रति सद्भाव राख्ने केही एसियन अमेरिकी मेरा साथी छन्। त्यसो त अमेरिकामा वैधानिक रूपमा कम्युनिस्ट पार्टी पनि कार्यरत छ। तर, त्यसको गतिविधि अमेरिकी समाजलाई प्रभाव पार्ने खालको छैन। त्यो आफ्नै ग्ल्यामरमा मक्ख छ। बहुसंख्यक अमेरिकी लेखक, कविहरू स्वतन्त्र चिन्तनका पक्षपाती छन्। सरकारको जनहित विपरीतका हरेक क्रियाकलापको खुलेर विरोध गर्छन्।
अमेरिका छिरेका अधिकांश नेपाली लेखक के गर्छन् ? नेपाली–नोस्टाल्जिया लेखिरहेका छन् कि अमेरिकी समाज पनि लेख्छन् ?
आफ्नो राष्ट्रियता, समाज, संस्कृति, विगतका सुखदुःखका भोगाइहरू सम्झिने प्रक्रियामा हरेक आप्रवासी नोस्टाल्जिक हुन्छ नै। छुटेको कुराप्रति नोस्टालजिक हुनु एक मानसिक प्रक्रिया हो। आप्रवासी लेखकहरू सिर्फ नोस्टाल्जिया लेख्छन् भन्नु चाहिँ गलत कुरा हो। नोस्टाल्जिक भएर भावुक हुन सजिलो छ। त्यसलाई लेखनको यथार्थ र कलामा राख्न गाह्रो छ। अरू के गर्छन्, मलाई त्यति बिघ्न थाहा छैन। तर, म अमेरिकी समाज र अमेरिकी नेपाली सामाजकै अध्ययन गर्छु र लेख्छु।
अमेरिकी संरचनाभित्र पसेको मानिसले पैसा त प्रशस्त कमाउँछ। तर, उसले कमाएको पैसा बजारले तत्काल थुतिहाल्छ। अमेरिकी बजार–समाजबारे केही भनिदिनुस् न।
पुँजीवादी उत्पादन र बजारनीतिले अमेरिकी समाजलाई तीव्र उपभोगवादी बनाएको छ। अमेरिकी समाजको हरेक कुरा बजारको नियन्त्रणमा छ। आम अमेरिकी ‘कमाऊ, खाऊ र उडाऊ’ मनोवृत्तिका छन्। खासमा अमेरिका ‘कमाऊ, खाऊ र उडाऊ’ मा रमाइरहेको छ। त्यहाँको हरेक मानवीय सम्बन्ध बजारको नियन्त्रणमा देखिन्छ। बाहिरबाट जस्तोसुकै स्वतन्त्र, खुला र अत्याधुनिक देखिए पनि भित्र–भित्र अमेरिकी समाज धार्मिक भीरुताले गाँजिएको छ।
अमेरिकाका सुन्दर र दुर्लभ पक्ष चाहिँ के–के हुन् नि ?
सर्वसुलभ ठूलठूला सुविधा सम्पन्न पुस्तकालयहरू अमेरिकाको सुन्दर पक्ष लाग्छ मलाई। आविष्कृत प्रविधिलाई तुरुन्तै सार्वजनिक उपयोगमा रूपान्तरण गर्नु यसको अर्को सुन्दर पक्ष हो। अमेरिकाको यस्ता अरू निकै राम्रा पक्ष छन्, जसको प्रशंसा गरिरहन मन लाग्छ। तर, अमेरिकामा गरिबका लागि उच्च शिक्षा दुर्लभ छ।