बेलायतमा चरालाई रूखमा प्रतिबन्ध
काठमाडौं : रूख चराहरूको घर हो। तर, बेलायतको एउटा सहरमा चराहरूलाई रूखमा बस्न प्रतिबन्ध लगाइएको छ। यससम्बन्धी समाचार सार्वजनिक भएपछि यस्तो कार्यको अहिले सर्वत्र विरोध भइरहेको छ। बेलायती सहर ब्रिस्टोनका केही बासिन्दाले दुई वटा रूखमा चराहरूलाई बस्न नमिल्ने गरी धराप थापेका छन्। ‘चरा बस्ने रूखका हाँगामा तिखो सियोको लहर ठड्याइएको छ,’ समाचारमा भनिएको छ, ‘रूखमा बस्दा सियोले खुट्टामा घोच्ने भएकाले चरा सो रूखमा आउनै छोडेका छन्।’
सियो बिछ्याउने काममा संलग्न एक स्थानीयवासीले रूखमा बस्ने चराहरूले दिसा गरेर वाक्क लगाएकाले यस्तो कदम चालिएको बताए। ‘रूखको तल पार्किङ गर्ने ठाउँ छ,’ उनले भने, ‘चराले गरेको दिसा लागेर कार दिनदिनै फोहोर हुने भएकाले सबैको मिलोमतोमा हाँगामा सियो बिछ्याइएको हो।’ पशु अधिकारवादीले रूखमा बस्न पाउने चराहरूको नैसर्गिक अधिकार हनन् गरिएको भन्दै यसप्रति आपत्ति जनाएका छन्।