यस्तो छ मध्य उपत्यका नगर यातायातको रुट
काठमाडौं : मध्य उपत्यका नगर यातायात सेवा समितिले २०७४ मंसिर २८ गतेबाट ठूला बस सञ्चालनमा ल्याएको छ। यो समितिका सिल्भर रङका १३ वटा बस छन्। उक्त बसमा चालकसहित ३९ वटा सिट रहेका छन्।
यो यातायातले भक्तपुरबाट कोटेश्वर, गौशाला, नारायणगोपाल चोक, स्वयम्भू हुँदै कंलकीसम्म सेवा दिन थालेको छ। अशक्त, महिला र ज्येष्ठ नागरिकका लागि छुट्टाछुट्टै सिटको व्यवस्था रहेको छ।
बसमा मनोरञ्जनका लागि टीभीको सुविधा छ। सहज रूपमा यात्रु उक्लन र ओर्लन बसमा सेमी–लो–फ्लोर ढोकाको व्यवस्था रहेको समितिका कोषाध्यक्ष सुरेश खत्रीले बताए। बिहान ६ देखि बेलुकी ६ बजेसम्म उक्त नगर बसले यात्रुलाई सेवा दिँदै आएको छ। मध्य उपत्यका यातायातको भाडा १३ रुपैयाँबाट सुरु हुन्छ।