रित्तिन थाले पहाडका बस्ती
आजभन्दा करिब ३० वर्षअघिसम्म जिल्लाका अधिकांश गाउँमा झुरुप्प परेका बस्ती थिए। तर, पछिल्लो समय पहाडी बस्तीहरू पातलिँदै गएका छन्। पहाडका मानिसह अनवरत रूपमा तराई झर्दै गएपछि पहाडका बस्ती रित्तिन थालेका हुन्। कलात्मक ढंगले बनेका घर जीर्ण भइसकेका छन् भने धेरै घर भत्किसकेका छन्। अवसरको खोजीमा धेरै मानिस पहाडबाट तराई बसाइँ सर्ने गरेका छन्।
जिल्लाको सुर्नया गाउँपालिको वडा नं ६ स्थित बगुवाड गाउँमा अब तीन–चार परिवार मात्रै बाँकी छन्। अन्य सबै परिवार तराईमा बसाइँ सरिसकेका छन्। ‘हाम्रो गाउँका सबै परिवार तराई झरिसकेका छन्,’ बगुवाडका खेमराज अवस्थीले भने, ‘पुराना घर बाँझा र जीर्ण भइसकेका छन्। खेत बाँझै छन्।’ ‘आफन्तजति तराईमा बसाइँ सरेकाले पहाडमा न्यास्रो लाग्न थालेको छ,’ खेमराजले थपे, ‘गाउँका सबै घर खण्डहर बनेका छन्।
गाउँ नै उजाड देखिन्छ।’ पहाडी क्षेत्रमा उब्जाउ पनि कम हुने र कमाइ गर्ने स्रोतसमेत नहुँदा यहाँका धेरै बासिन्दा तराई झरेको स्थानीयवासी बताउँछन्। ‘रोजगारी भएका अधिकांश नागरिक तराई झरिसकेका छन्,’ दशरथचन्द नगरपालिका, पौडाका गणेशदत्त भट्टले भने, ‘गाउँ नै रित्ता भइसकेका छन्। गाउँमा बस्ने धेरै कम छन्।’
पहाडभन्दा तराईमा अवसर र उब्जनी हुने जमीन बढी भएकाले पनि पहाडबाट तराई जानेहरूको संख्या बढेको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए। ‘पहाडी क्षेत्रमा अपेक्षाकृत विकास नहुनु, रोजगारीका अवसर प्राप्त नहुनुलगायत कारणले पहाडबाट बसाइँ सर्नेको संख्या बढेको हो,’ उनले भने, ‘अहिले त धेरै गाउँ रित्ता भइसकेका छन्। मैदानी फाँटसमेत बाँझो जमिनमा परिणत भइसकेका छन्।’
बैतडीबाट तराईमा बसाइँ सरेर जाने परिवार धेरै छन्। कुनै गाउँमा त तीनचार परिवार मात्रै रहेका छन्। गाउँमा जीर्ण घर र बाँझा पाटा मात्रै छन्। गाउँ नै उजाड देखिन्छ।
उच्च शिक्षा अध्ययनका लागि पनि तराईमा सुविधा हुने गरेकाले पहाडका मानिस जसरी भए पनि तराई जाने होडमा रहेको जगन्नाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थी बताउँछन्। ‘विकास निर्माणका सबै काम तराईमै केन्द्रित भए,’ उनले भने, ‘यसले गर्दा पनि पहाड रित्तिँदै गएको छ। यहाँ भएका सम्भावनाहरूको खोजी गर्नतर्फ कसैको ध्यान गएन। त्यसले पनि पहाड रित्तिने अवस्थामा पुगेको हो।’
पहाडी क्षेत्रबाट निरन्तर बसाइँसराइ भइरहेकाले यो क्षेत्रका सम्भावनाहरूको खोजी हुन नसकेको उद्यमी इन्द्रदेवशरण भट्टले बताए। ‘पहाडमा सम्भावना धेरै छन्,’ उनले भने, ‘तर, ती सम्भावनाहरूको खोजी नहुँदा समस्या भएको छ। पहाडबाट बसाइँ सर्ने दर बढी भएकाले विकास पनि कम भएको छ।’पहिला–पहिला पहाडमा सबै मानिस जम्मा भएर सामाजिक काम हुने गरेकोमा अहिले गाउँमै मानिस भेटिन मुश्किल हुने गरेको सुर्नया–६ का नन्दराम अवस्थीले बताए। ‘आर्थिक अवस्था सबल भएका सबै तराईतिर गए,’ उनले भने, ‘विपन्न परिवारका नागरिक रोजगारीका लागि भारत छिरे। गाउँमा मानिस पाउनै मुश्किल छ।’
पहाडमा मनाइने चाडपर्वमा पहिला गाउँभरि हर्षोल्लास हुने गर्दथ्यो। तर, अहिले धेरैले बसाइँ सरिसकेकाले न्यास्रो लाग्ने गरेको दशरथचन्द नगरपालिका–१ का जगदीश भट्टले बताए। ‘पहाडबाट तराई बसाइँ सर्ने क्रम रोकिएको छैन,’ उनले भने ‘यसले तराईमा समेत समस्या निम्त्याउँदैछ।’सरकारले पहाडमा समान हिसाबले विकास नगर्दा पहाड रित्तिँदै गएको डिलाशैनी गाउँपालिका गोकुलेश्वरका सुरेश श्रेष्ठले बताए। ‘पहाडको महत्वका बारेमा न नीति निर्माताहरूलाई थाहा भयो, न राजनीतिक दलहरूलाई,’ उनले भने, ‘त्यसैले अहिले पहाड रित्तिँदैछ। जसले गर्दा पहाडी क्षेत्रमा भएका विभिन्न सम्भावना पनि ओझेलमा पर्दै गएका छन्।’
अहिले राजधानीका कुरा पनि चलिरहेका छन्। पहाडबाट भइरहेको बसाइँसराइ रोक्न प्रदेश नम्बर सातको राजधानी पहाडमै राख्दा उपयुक्त हुने श्रेष्ठको भनाइ छ। ‘पहाडमा मानिसको बसोबास गराउन अब पहाडकेन्द्रित विकास गर्नुपर्छ,’ उनले भने, ‘यसका साथै प्रदेश राजधानी पहाडमै हुनुपर्छ।’शिक्षा र स्वास्थ्यका सुविधा पाउन तराई जानुपर्ने बाध्यता रहेकाले पहाडका मानिस तराई झर्ने क्रम बढ्दै गएको सामाजिक कार्यकर्ता प्रतापसिंह महराले बताए। ‘पहाडबाट हुने बसाइँसराइ रोक्न शिक्षा र स्वास्थ्य क्षेत्रको बहस हुन जरुरी छ,’ उनले भने, ‘पहाडमै गुणस्तरीय शिक्षाको प्रत्याभूति राज्यले गराउन सक्नुपर्छ।’
नागरिकले चाहेको जस्तो शिक्षा, स्वास्थ्य पहाडमै उपलब्ध गराउन सकियो भने बसाइँसराइको दर घटाउन सकिन्छ,’ उनले भने, ‘यसले तराईको खेतीयोग्य जमीन बच्छ भने पहाडमा भएका सम्भावनाहरूको पनि खोजी गर्न सकिन्छ।’
पहाडी क्षेत्रको बेरोजगारी समस्या समाधानका लागि राज्यका निकायबाट पहल हुनुपर्ने महरा बताउँछन्। ‘मानिसले जीविकोपार्जन गर्न सक्ने खालका कार्यक्रम ल्याउन आवश्यक छ,’ उनले भने, ‘जसले गर्दा सहजै मानिसले जीवनयापन गर्न सकोस्। पहाडमा भएका हरेक सम्भावनाको खोजी हुनु जरुरी छ। तराईमा पाइने सुविधा पहाडमै पाइने वातावरणको निर्माण गरिनुपर्छ।’
संस्कृति गुम्ने खतरा
पहाडी क्षेत्रमा आफ्नै किसिमका मौलिक संस्कृति रहेका छन्। तर, पछिल्लो समय ती संस्कृति पनि लोप हुँदै गएका छन्। पहाडी समुदायका मानिस निरन्तर रूपमा बसाइँ सरेर तराईकेन्द्रित हुँदा पहाडी संस्कृति मासिँदै गएको आचार्य घनश्याम लेखकले बताए। ‘एक ठाउँको रीतिरिवाज, चालचलनमा बसेका मानिस अर्कै ठाउँमा पुग्दा मौलिक संस्कृति गुम्ने खतरा हुन्छ,’ उनले भने, ‘सुदूर पहाडको संस्कृति अहिले त्यस्तै अवस्थामा पुगेको छ। पहाडका धेरै मानिस तराईमा झरे। पहाडी संस्कृति लोप हुँदै गएको छ।’
पहाडमा सामूहिक रूपमा मनाइने चाडपर्वलाई समेत बसाइँसराइले प्रभाव पारेको छ। संस्कृतिका विषयमा जान्नेहरू बसाइँ सर्दा संस्कृति नै लोप हुने अवस्थामा पुगेको महाकाली साहित्य संगम बैतडीका अध्यक्ष चन्द्रमोहन तिवारी बताउँछन्। ‘तराई बसाइँ सरेकाहरू पनि कहिलेकाहीँ पहाड आउँछन्,’ उनले भने, ‘पहाडमा जनसंख्या नै कम हुँदा पहिलाको जस्तो चाडबाड मनाउनसमेत पाइँदैन।’
आफ्ना मौलिक संस्कृति भुल्दै जाने क्रम बढेकाले कालान्तरमा संस्कृति नै लोप हुने खतरा रहेको स्थानीय संस्कृतिका जानकार गणेशदत्त अवस्थीले बताए। ‘आउने पुस्तालाई हाम्रो चालचलन, रीतिरिवाजबारे थाहा नहोला भन्ने डर भइसकेको,’ उनले भने।पहाडबाट निरन्तर बसाइँसराइ भइरहेकाले यसलाई रोक्न पहाडी क्षेत्रको विकास गर्नुपर्नेमा स्थानीयवासी जोड दिन्छन्।
पहाडी क्षेत्रमा सडक, विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्यमा मानिसको पहुँच सहज गराउन सकियो भने बसाइँसराइ दर रोक्न सकिने शंकर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विनोदराज पन्त बताउँछन्। ‘नागरिकले चाहेको जस्तो शिक्षा, स्वास्थ्य पहाडमै उपलब्ध गराउन सकियो भने बसाइँसराइको दर घटाउन सकिन्छ,’ उनले भने, ‘यसले तराईको खेतीयोग्य जमीन बच्छ भने पहाडमा भएका सम्भावनाहरूको पनि खोजी गर्न सकिन्छ।’
विकासका आधारभूत पूर्वाधारमा राज्यले ध्यान दिए बसाइँसराइ रोकिने गौरीशंकर माविका शिक्षक लवदेव अवस्थीले बताए। ‘आर्थिक अवस्था केही सबल भएकाहरू तराईमा बसाइँ सर्छन्’ उनले भने, ‘यसको मुख्य कारण शिक्षा, स्वास्थ्य, सडक जस्ता आधारभूत कुरामा पहुँच नहुनु पनि हो। यसमा राज्यले ध्यान दियो भने पहाडबाट हुने बसाइँसराइ रोक्न सकिन्छ।’
पहाडी क्षेत्रमा आयआर्जन गर्न सकिने खालका कार्यक्रम अगाडि बढाउँदा बसाइँसराइ रोक्न सकिने यहाँका नागरिकको भनाइ छ। ‘पहाडमा पनि थुप्रै खानीका सम्भावना छन्,’ सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले भने, ‘रोजगारीका अवसर सिर्जना गर्न सके यहाँका मान्छे बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुनेछ।’