दश महिनापछि स्वास्थ्य चौकीको विवाद समाधान
सिमरा : स्थानीय तह पुनर्संरचनापछि जितपुरसिमरा उपमहानगरपालिका १७ स्थित जैतापुरमा रहेको स्वास्थ्य चौकीको विषयमा भएको विवाद १० महिनापछि समाधान भएको छ। साविकको मनहर्वा गाविसलाई विभाजन गरी दुई उपमहानगर बनाइएपछि जैतापुरमा रहेको स्वास्थ्य चौकी कहाँ राख्ने भन्ने विषयको विवादले सेवा प्रभावित हुँदै आएको थियो। मनहर्वा गाविस हुँदा सोही स्वास्थ्य चौकीबाट सेवा लिइरहेका स्थानीय नागरिक उपमहानगर छुट्याइएपछि विभाजित भएका थिए।
सरकारले गत फागुनमा साविकको मनहर्वा गाविसको १, २ र ८ वडालाई जितपुरसिमरा र अन्य बाँकीलाई कलैया उपमहानगरपालिकामा गाभेर स्थानीय तह निर्माण गरेको थियो। पुनर्संरचनाअनुसार स्वास्थ्य चौकी जितपुरसिमरा उमपहानगरभित्र परेपछि साविकको मनहर्वा गाविस ४ हाल कलैया उपमहानगर २४ स्थित सखुईका स्थानीय विवादमा उत्रिएका थिए।
जैतापुरमा रहेको स्वास्थ्य चौकी आफ्नो क्षेत्रमा हुनुपर्ने भन्दै सखुईका स्थानीयले गत वैशाख ४ गते स्वास्थ्य चौकीको सामान आफ्नो क्षेत्रमा सारेका थिए। स्वास्थ्य चौकीका सम्बन्धित कर्मचारीलाई जानकारी नदिई रातिको समयमा सामान सखुई सारेको भन्दै जैतापुरका स्थानीय विरोधमा उत्रिएका थिए। स्थानीयबीच बढ्दै गएको विवादका कारण स्वास्थ्य सेवासमेत लामो समय प्रभावित हुन पुगेको थियो।
स्थानीयको विवादका कारण स्वास्थ्य सेवा ठप्प भएपछि बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरको उपस्थितिमा दुवै पक्षबीच दुवै स्थानमा सेवा सञ्चालन गर्ने सहमति सोही समयमा भएको थियो। सहमतिका आधारमा सेवा सञ्चालन हुँदै आए पनि पछिल्लो समय स्वास्थ्य चौकीमा खटिएका कर्मचारी सखुईकेन्द्रित हुन थालेपछि जैतापुरमा सेवा ठप्प हँुदा सर्वसाधारण समस्यामा परेका थिए। कलैया उपमहानगरले पनि स्वास्थ्य चौकीका कर्मचारीको सेवासुविधा आफैं उलपब्ध गराउने र स्वास्थ्य चौकीका सबै कर्मचारी सखुईमा काम गर्ने भन्दै जितपुरसिमरा उपमहानगरकालाई पत्र लेखेको थियो।
जैतापुरमा स्वास्थ्य सेवा ठप्प भएपछि जितपुरसिमरा उपमहानगरका नगर प्रमुख डा. कृष्ण पौडेलले विवादको दीर्घकालीन निकास निकाल्ने प्रयासस्वरूप सर्वपक्षीय बैठकको आह्वान गरेका थिए। जिल्ला प्रशासन कार्यलयमा प्रजिअ मानन्धर, कलैया उपमहानगरका नगर प्रमुख राजेश यादव, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रोशनलाल चौधरीको उपस्थितिमा बसेको बैठकले कर्मचारीको सेवा क्षेत्र विभाजन गर्दै दुवै क्षेत्रमा सेवा सञ्चालन गर्ने सहमति गरेको हो।
दुवै उपमहानगरका नागरिकले स्वास्थ्य सेवा पाउने गरी बैठकले जैतापुरमा स्वास्थ्य चौकी र सखुईमा स्वास्थ्य संस्था सञ्चालन गर्दै सेवा प्रदान गर्ने निर्णय गरेको जितपुरसिमराका नगर प्रमुख डा. पौडेलले बताए। ‘स्वास्थ्य चौकीको विषयलाई लिएर लामो समयदेखि समस्या थियो, नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाइरहेका थिएनन्’, नगर प्रमुख डा. पौडेलले भने, ‘समस्याको निकास निकाल्न बसेको बैठकबाट सहमतिमा पुगेका छौं। अब दुवै क्षेत्रबाट नागरिकले सेवा प्राप्त गर्नेछन्।’ लामो समयदेखि सञ्चालनमा रहेको स्वास्थ्य चौकीको अस्तित्व नै समाप्त गर्ने गरी कसैले काम गर्न नहुने भन्दै नगर प्रमुख डा. पौडेलले सबैको अधिकार स्थापित हुनेगरी काम गर्नुपर्ने बताए।
कलैया उपमहानगरका नगर प्रमुख यादवले बैठकमा जैतापुरबाट स्वास्थ्य चौकी हटाउनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताएका थिए। दुवै क्षेत्रका नागरिकले सेवा पाउनुपर्ने कुरामा सहमत रहेको भन्दै यादवले अबको सहमतिपछि कुनै किसिमको विवाद नआउने बताए। ‘दुवै क्षेत्रमा सेवा दिने गरी कर्मचारीको जिम्मेवारी पनि छुट्याएका छौं’, यादवले भने, ‘अब कर्मचारीले आफ्नो जिम्मेवारी रहेको क्षेत्रमा गएर सेवा गर्नेछन्।’ प्रमुख यादवले नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्नका निम्ति सबैले भूमिका खेल्नुपर्ने बताए।
सहमतिपत्रअनुसार जितपुरसिमरा उपमहानगर १७ जैतापुरस्थित स्वास्थ्य चौकीमा एचए शेषनारायण महतो, अहेब रामनरेश साह र अनमी रिमा कार्की खटिनेछन्। कलैया उपमहानगर २४ सखुईस्थित स्वास्थ्य संस्थामा खटिने कर्मचारीमा सिनियर अनमी पानमती चौधरी, अहेब शान्ति थापा मगर रहेका छन्। एक अहेब कर्मचारीको पद भने रिक्त छ।
आफ्नो क्षेत्रमा खटिएका कर्मचारीलाई सम्बन्धित उपमहानगरले सेवासुविधा उपलब्ध गराउने सहमति भएको जितपुरसिमरा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण उप्रेतीले जानकारी दिए। सहमतिअनुसार जिल्ला जनस्वास्थ्य कार्यलयले दुवै क्षेत्रमा कर्मचारी खटाउनेछ। ‘दुई उपमहानगरको विवादका कारण हामी अलमलमा थियौं, अब टुंगो लागेको छ। सहमतिअनुसार नै कर्मचारीले सेवा प्रदान गर्नेछन्’, जनवास्थ्य प्रमुख चौधरीले बताए।
जितपुरसिमरा उपमहानगर वडा १७ का अध्यक्ष नवराज खड्काले पछिल्लो सहमतिबाट स्थानीय खुसी रहेको बताए। स्थापनादेखि नागरिकलाई सेवा प्रदान गरिरहेको स्वास्थ्य चौकीलाई विस्थापित गर्ने प्रयासले दुखी भएका नागरिक अहिले दुवै क्षेत्रमा सेवा पाउने भएपछि खुसी भएका खड्काले बताए।