जाडो थेग्न परालकै भर

जाडो थेग्न परालकै भर

इटहरी : सरस्वती ऋषिदेवलाई आफ्नो उमेर कति वर्ष भयो याद छैन। ‘नागरिकता हेर्नुपर्छ,’ उनले भनिन्, ‘१५-१६ वर्षमा बिहे गरेको।’उनी अहिले सायद २५-२६ वर्षकी भइन्। तर, उनी चार जना छोराछोरीकी आमा भइसकेकी छन्। ‘छोरी पाउने भनेर छोरै छोरा भए,’ कान्छो सन्तानका रूपमा छोरी पाएकी उनले भनिन्, ‘छोराले भन्दा बढी माया गर्छ भनेर छोरी पर्खेको, अब नपाउने।’

उनका सन्तान नजिकैको मनमोहन प्राविमा पढ्छन्। बिदाका दिन भएकाले शनिबार उनीहरू गाउँमै खेलिरहेका थिए। उनका श्रीमान् रिक्सा चलाउन बिहानै घरबाट निस्केका थिए। उनी भने छिमेकीसँग घर अगाडिको कच्ची बाटोमा घुर तापिरहेकी थिइन्। उनको घरअगाडि बाटोभरि बालिएको परालको धुवाँ उडिरहेको थियो। थारू र ऋषिदेव समुदायको बसोबास रहेको उक्त बस्तीको दिनचर्या अहिले बिहान र बेलुका घुर ताप्नु बनेको छ। ‘निकै जाडो छ, छोराछोरीलाई लुगा किन्नुभन्दा फोहोर र दाउरा बाल्नु नै सस्तो पर्छ,’ सरस्वतीले भनिन्।

उनको माइलो छोरा नौ वर्षको भयो। हिँड्न सक्दैन। जन्मिँदै अपांगता भएको उनको छोरो दुईकोठे प्लास्टर नगरिएको पक्की घरभित्र परालमाथि ओछ्याइएको गुन्द्रीमा बसेको थियो। उनी भन्दै थिइन्, ‘जाडोमा ओढ्न भनेर एउटा ब्ल्यांकेट त नगरपालिकाले सहयोग गरेको छ, त्यही पनि छोरोले दिसा गरेर फोहोर बनाइदिन्छ, दुई वटा मागेको दिएनन्।’

‘निकै जाडो छ, छोराछोरीलाई लुगा किन्नुभन्दा फोहोर र दाउरा बाल्नु नै सस्तो पर्छ।’ -सरस्वती ऋषिदेव

सरकारको दुई लाख रुपैयाँ सहयोगमा उनले इटहरी १० को ऐलानी जग्गामा इँटाको घर बनाउन सकेकी हुन्। घर त बन्यो तर घरभित्र एउटा औसत परिवारलाई चाहिने सामान भने छैन। न खाट, न कुर्सी, न टेबल, न कार्पेट। ऋषिदेव परिवार गुन्द्री ओछ्याएर सुत्ने गर्छ। ‘जाडोमा चार–पाँच महिनाचाहिँ पराल ओछ्याउनुपर्छ,’ उनले भनिन्।

उनले भुइँमा ओछ्याएको परालसमेत किनेर ल्याएकी होइनन्। ‘एक सोरी परालको चार सय रुपैयाँ पर्छ,’ उनले निर्धक्कसाथ भनिन्, ‘दुई सोरी पराल राति–राति चोरेर ल्याएको, यति भए जाडो कट्छ।’

उनले ‘जीवन विकास समाज’ लघुवित्तबाट ऋणसमेत लिएकी छन्। सरकारले दिएको दुई लाखबाट बनाएको पक्की घर अगाडिको माटोको घर उनले एक लाख रुपैयाँ हालेर बनाएकी हुन्। त्यो पनि ऋण काढेर। उक्त ऋण उनी अहिले विस्तारै तिर्दै छिन्। ‘१५ दिनमा ३५ सय रुपैयाँ तिरिसकें,’ उनले भनिन्, ‘कमाएको पैसा ऋण तिर्दै र दुई छाक खाँदै सकिन्छ, खाट र न्यानो लुगा कसरी किन्नु ? ’

सरस्वतीको घरछेउमा उनकै जस्तै अर्को घर थियो। उक्त घर केही दिनदेखि बन्द छ। ‘छिमेकीहरू पाहुना लाग्न शिवनगर गएका छन्,’ सरस्वतीले उक्त घर देखाउँदै भनिन्, ‘पाहुना लाग्न जाँदा उनीहरूले राहतबापत पाएको कम्बल हामीलाई छाडेर गएका छन्,’ आफूले लगाएको कुर्ताको फेर समात्दै भनिन्, ‘यो पनि जाडोले गर्दा उनीहरूसँगै मागेर लगाएको, उनीहरू फर्केपछि फिर्ता गर्नुपर्छ।’

लुगा पनि मागेर लगाउन बाध्य सरस्वतीको गाउँमा उनको जस्तै दुई दर्जन बढी परिवार छन्। जो जाडोमा शीतले नुहाउँछन्। उनीहरू अहिलेसम्म खाटमा सुतेका छैनन्। ढोकै नभएको घरमा बस्दै आएका धेरैले सरकारी सहयोगमा पक्की घर त बनाएका छन् तर त्यो घरले न्यानो भने दिँदैन। धेरै नेपाली जाडोमा सिरक डसनाका खोल फेर्छन्, उनीजस्ता विपन्न समुदायसँग न सिरक–डसना छ, न खोल फेर्ने पैसा।

उनीहरू अहिलेसम्म खाटमा सुतेका छैनन्। धेरैले सरकारी सहयोगमा पक्की घर बनाएका छन् तर ढोकै नभएको त्यो घरले न्यानो दिँदैन।

ऋषिदेव समुदायमा सरसफाइको ज्ञान पनि छैन। जताततै फैलिएको फोहोरका कारण बस्ती नै दुर्गन्धित बनेको छ। त्यसमाथि प्रत्येक घरमा कम्तीमा तीन जना सन्तान छन्। किन त्यति धेरै सन्तान भए, सरस्वतीको जस्तो तर्क ६० वर्षकी सनिस्री ऋषिदेवका छोराबुहारीसँग छैन।

सनिस्रीसहित उनको नौ जनाको परिवार रातभर परालमा सुत्ने गर्छ। पक्की घरभित्र भएर पनि परालमाथि सुत्ने उनीहरूसँग खाट किन्ने पैसा जीवनभर भएन। ‘छोराछोरी साना थिए, तबदेखि यहाँ बसेको,’ उनी भन्छिन्, ‘छोरा नै ४० वर्षको भयो, खाट किन्न सकेको छैन।’ सनिस्रीसँग लाउने र ओढ्ने लुगा पनि पर्याप्त छैन। जाडोको समयमा घुर नै न्यानोको एक मात्र विकल्प भएको छ उनको परिवारलाई। ‘राति १२ बजेसम्म आगो ताप्यो अनि सुत्यो,’ उनी भन्छिन्।

पूर्वकै ठूलो सहर इटहरीछेउको समुदायको हविगत हो यो। ती परिवारसँग सिरक–डसना त परको कुरा जाडोमा फेर्ने एकसरो कपडा पनि हुँदैन। बूढीखोलामा आएको बाढीका कारण घरबार बगाएर विस्थापित बनेका यिनीहरूका लागि वडा समितिको पहलमा बनाइएको घर पनि पाल बेरेर बनाइएको छ। स्थानीय सकुन लिम्बू जाडोका कारण छोराछोरी बिरामी परिरहने बताउँछिन्। ‘भएको लुगा बगिहाल्यो,’ उनले भनिन्, ‘आफन्त र सहयोगी व्यक्ति र संस्थाबाट अलिअलि सहयोग आएको छ, तर पुग्दैन।’

न्यानो कपडा बाँड्दै नगरपालिका

जाडोले निम्नवर्गीय परिवारलाई पिर्न थालेपछि इटहरीका केही सामाजिक संघसंस्था र व्यक्तिले विपन्न समुदाय पहिचान गरी राहत वितरण गरिरहेका छन्। इटहरी उपमहानगरपालिकाले साढे पाँच सय जनालाई राहत दिइसकेको जनाएको छ। ‘अझै केही बस्तीमा हामी वितरण गर्छौं,’ इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले भनिन्, ‘एउटा वार्डका एक÷दुई वटा टोल छानेर विशेष गरी मुसहर बस्ती र विपन्न समुदायले पाउने गरी बाँडेका छौं।’

उनका अनुसार इटहरीका १, ७, ८, १०, १३, १४ र १७ वडाका मुसहर बस्तीमा राहत बाँडिएको छ। सोका लागि जिल्ला प्रशासन कार्यालय तीन सय ५०, रेडक्रसले दुई सय थान कम्बल उपलब्ध गराएको छ। उपमेयर गौतमले इटहरीभरि १२ ट्र्याक्टर दाउरासमेत बाँडिएको बताइन्। साथै पुनः दाउरा बाँड्ने विषयमा समेत छलफल चलिरहेको उनले बताइन्।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.