जाजरकोटमा भाइरल 'एचथ्रिएनटु' पुष्टि

जाजरकोटमा भाइरल 'एचथ्रिएनटु' पुष्टि

जाजरकोट : जाजरकोटको जुनीचाँदे गाउँपालिकामा तीन सातादेखि प्रकोपका रूपमा फैलिएको भाइरल इन्फ्लुएन्जा टाइप ए एचथ्रिएनटु अर्थात् सिजनल फ्लु भएको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले रोग पत्ता लगाएको हो।

बिरामी पाँचमध्ये एक जनामा भाइरल इन्फ्लुएन्जा टाइप ए एचथ्रिएनटु भाइरस फेला परेको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताए। बिरामीको नमुना रगत संकलन गरेर केही दिनअघि मात्र प्रयोगशालामा पठाइएको थियो। अन्य चार जनामा भने कुनै प्रकारको लक्षण देखिएन। ‘एक जनामा देखिएको पनि सामान्य खालको सिजनल फ्लुको लक्षण हो', उनले भने, ‘यो जाडो समयमा लाग्ने सामान्य रुघाखोकी हो। एचवानएनवान भनेको स्वाइनफ्लु हो, त्योभन्दा यो अलि कमजोर खालको हो। यसबाट धेरै आत्तिनु पर्दैन।'

हालसम्म रुघाखोकी र ज्वरोका एक हजार सात सय ५५ बिरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। हाल प्रभावित क्षेत्रमा चार चिकित्सकसहित १७ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ। टोलीले तीन ठाउँमा शिविर खडा गरेर उपचार गरिरहेको छ।

भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्य सचिवसहितको टोलीले स्थलगत अवलोकन भ्रमण गरेको छ। सेनाको हेलिकोप्टरबाट प्रभावित जुनीचाँदेको मजकोटमा पुगेर टोलीले प्रकोपको अवस्था र उपचारको व्यवस्थाबारे निरीक्षण गरेको हो। परीक्षणका आधारमा केही बिरामीमा सिजनल फ्लु भएको पाइएपछि स्वास्थ्यसचिव डा. पुष्पा चौधरी नेतृत्वको टोली स्थलगत निरीक्षणका लागि शनिबार औषधिसहित प्रभावित क्षेत्र पुगेको हो।

टोलीले स्थानीय नागरिक, बिरामी र उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीसँग अन्तक्र्रिया गरेर फर्किएको छ। टोलीमा पूर्वमन्त्री तथा जाजरकोटका सांसद शक्तिबहादुर बस्नेत, जाजरकोट प्रदेशसभा ख का सांसद करवीर शाही, स्वास्थ्यसचिव डा. चौधरी, गृह मन्त्रालयका सहसचिव लोकनाथ पौडेल, स्वास्थ्य विभागका महानिर्देशक डा.राजेन्द्र पन्तलगायतको टोलीले स्थलगत निरीक्षण गरेको हो। एक जना मेडिकल अधिकृत र केही स्वास्थ्यकर्मीका साथै केही औषधिसमेत प्रभावित क्षेत्रमा छाडेको जिल्ला स्वास्थ्य प्रमुख नेपालीले जानकारी दिए।

 ‘बाहिर हल्ला भएजस्तो अवस्था देखिएन। यो सामान्य रुघाखोकी हो। अत्यधिक चिसो, गरिबी, अभाव, कुपोषण र जनचेतना कमीले रोग बल्झिएको हो।'- डा. पुष्पा चौधरी, स्वास्थ्यसचिव

‘बाहिर हल्ला भएजस्तो अवस्था देखिएन', स्वास्थ्यसचिव डा. चौधरीले भनिन्, ‘यो सामान्य रुघाखोकी हो। अत्यधिक चिसो, गरिबी, अभाव, कुपोषण र जनचेतनाको कमीले गर्दा रोग बल्झिएको हो।' केही दिनमै स्वास्थ्यकर्मीको टोलीले रोग नियन्त्रणमा ल्याउने उनको दाबी छ। ‘केही दिनअघिको तुलनामा विस्तारै बिरामी घट्दै गएका छन्', उनले भनिन्, ‘स्वास्थ्य मन्त्रालयले जुनीचाँदेमा देखापरेको मौसमी रुघाखोकी समयमै नियन्त्रणमा लिनका लागि आवश्यक कुनै पनि कसर बाँकी राखेको छैन।'

स्वास्थ्य विभागका महानिर्देशक डा.राजेन्द्र पन्तले गरिबी र पछ्यौटेपनाले गर्दा जाजरकोटवासीको रोगप्रतिरक्षा शक्ति कमजोर रहेकाले पटक-पटक सरुवा रोगले प्रकोपकै रूप लिने गरेको तर यसपटक समयमै उपचारको व्यवस्था गरिएकाले रोग नियन्त्रणबाहिर जान नपाएको बताए।

अन्तक्र्रिया कार्यक्रममा स्थानीयले स्वास्थ्य संस्थाहरूमा दरबन्दीअनुसार स्वास्थ्यकर्मी र औषधि नभएको, १५ शड्ढयाको जिल्ला अस्पताललाई हचुवाको भरमा ५० शड्ढया बनाइएको तर अस्पतालमा दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नभएको, अस्पताल प्रमुख डा. चाँदनी जैसवाललाई स्वास्थ्यसचिव चौधरीले नै प्रमुखविहीन बनाएर काजमा राखेको र अन्य जिल्लाभन्दा यो जिल्ला स्वास्थ्यको दृष्टिले ‘रिस्क जोन'मा रहेकाले जाजरकोटलाई विशेष तरिकाले स्वास्थ्य सेवाको प्रवद्र्धन गर्न माग गरेका छन्। जिल्लावासीले उठाएका स्वास्थ्यका सवाललाई तत्काल पूरा गर्न आवश्यक पहल गरिने महानिर्देशक डा. पन्तले आश्वासन दिएका छन्।

भाइरल ज्वरो नियन्त्रणका लागि उपचारका साथै सचेतनामूलक कार्यक्रम थालिएको छ। अत्यधिक चिसो, दूषित पानीको प्रयोग, खानपिनमा ध्यान नदिने र रोग लाग्नेबित्तिकै उपचारको साटो धामीझाँक्रीसँग गएर झारफुक गर्नतिर लाग्न थालेपछि चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।

जुनीचाँदे गाउँपालिकाका बड्कुले, मौगान, डाँडाकोट, आली, बेसीपाटा, रावलगाउँ, कोर्ताङ, पराले, मजकोट, भैरवटोल, स्यालालगायत गाउँमा भाइरलको प्रकोपले स्थानीयलाई तीन सातादेखि सताइरहेको छ। स्थानीय बासिन्दा र उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार हालसम्म १३ जनाको ज्यान गइसकेको छ। यद्यपि, जिल्ला स्वास्थ्यले भने एक जनाको मात्र भाइरलले ज्यान गएको पुष्टि गरेको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शुक्रबारसम्म जुनीचाँदेमा करिब एक हजार सात सय बिरामीको उपचार भइसकेको छ। अझै घरघरमा बिरामी उपचारको पर्खाइमा रहेको स्थानीयको भनाइ छ। भाइरल ज्वरो नियन्त्रणका लागि तीन स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी उपचार भइरहेको छ।

रेडक्रस, सामुदायिक विकास कार्यक्रम, सुआहारा र स्थानीय अभियन्ता सम्मिलित ६ वटा टोली बनाई गाउँगाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख नेपालीले बताए। उनले विस्तारै प्रकोप नियन्त्रणमा आउने जानकारी दिए। ‘त्यो टोलीले शिविरसम्म उपचारका लागि पठाउने, न्यानो कपडा लगाउन र झोलिलो खानेकुरा खान सल्लाह दिने, पानी उमालेर पिउन लगाउने, खोक्दा र हाच्छिउँ गर्दा रुमालले मुख छोप्ने, मास्क वितरण गर्ने, खाना खानुअघि साबुनपानीले हात धुन सिकाउनेलगायत जनचेतनामूलक कार्य गरिरहेको छ', नेपालीले भने।

प्रभावित क्षेत्रमा एक जना बालरोग विशेषज्ञसहित चार चिकित्सक गरी १७ जना स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएका डाक्टर भूपेन्द्र मल्लले पनि गाउँका जनतामा चेतना अभाव रहेका कारण भाइरलको प्रकोप बढेको बताए।

जाजरकोटको भाइरल प्रभावित क्षेत्रमा बिरामीको उपचारमा सघाउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका बालरोग विशेषज्ञ नम्रता सिन्दान र मेडिकल अधिकृत सूर्य चौधरी पुगेका छन्। गाउँमा भाइरलबाट धेरैजसो बालबालिका बिरामी परेकाले प्रतिष्ठानबाट बालरोग विशेषज्ञ बोलाइएको जिल्ला स्वास्थ्य प्रमुख नेपालीले बताए। जिल्ला दैवीप्रकोप समितिले प्रभावित क्षेत्रका चार वर्षमुनिका आमा र बालबालिकालाई थर्मस र न्यानो कपडा वितरण गर्न विभिन्न दातृ निकायलगायत सरोकारवालालाई अनुरोध गरेपछि केही थान न्यानो कपडा र कम्बल युनिसेफले प्रभावित क्षेत्रमा पठाएको जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.