श्रम–संवाद : ‘यी हातले तीन सय घर बनाइसके’
कहिलेदेखि घर बनाउने काम गर्न थाल्नुभएको ?
दश वर्षजति भयो। यसैबाट गुजारा चलिरहेको छ।
घर कता पर्यो ?
त्रिशुली, नुवाकोट।
यता कता बस्नुहुन्छ ?
जता घर बनाउने काम पर्छ, त्यतै बसिन्छ। अहिले भक्तपुुर, कमेरुटारमा बस्छु।
परिवारमा को–को हुनुहुन्छ ?
आमा, श्रीमती र एउटा छोरा छ ।
दिनभरि के–के काम गर्नुपर्छ ?
गह्रौँ भारी उचाल्नुपर्छ । गिट्टी, बालुवा बोक्नुपर्छ । मसला घोल्नुपर्छ। गारो लगाउने, प्लास्टर गर्ने जस्ता काम गर्नुपर्छ।
काम गर्दा अप्ठ्यारो हुन्छ होला नि !
घर बनाउँदा जति तला थपिँदै जान्छ काम गर्न त्यति नै गाह्रो हुँदै जान्छ । कतैबाट खसिन्छ कि भन्ने डर बेग्लै। कहिलेकाहीँ त किला ठोक्दा आफ्नै हात, औँलामा हानिन्छ। तर, के गर्नु एक मुठी सास रहुञ्जेल आश हुँदो रहेछ । बाँच्नका लागि अप्ठ्यारो त सहनैपर्यो।
कति तलासम्मको घर बनाउनुभएको छ ?
त्रिशुलीमा हुँदा तीन तलासम्मको घर बनाइयो। काठमाडौँमा चाहिँ पाँच तलासम्मको घर बनाएको छु।
अहिलेसम्म कति वटा घर बनाइसक्नुभयो त ?
यी हातले तीन सयजति घर बनाइसके।
महिनामा कति कमाइन्छ ?
२४/२५ हजारजति कमाइ हुन्छ।
काममा बिहानै आउनुपर्छ हो ?
बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म खटिनुपर्छ नि।
ठेकेदारले कत्तिको सताउँछन् ?
सताउनेभन्दा पनि यो भएन, त्यो भएन भनेर कचकच गर्छन्। काममा कहिल्यै पनि जस पाइँदैन। सामान हराउँछ, त्यसको जिम्मा हाम्रै टाउकोमा आउँछ । त्यसैले घर बनाउने काम नसकिएसम्म सामानको पालैपालो कुरुवा बस्नुपर्छ।
विदेश जाने सोच आउँछ कि आउँदैन ?
कुनै समय पैसा कमाउने चक्करमा बम्बई पुगेको मान्छे हुँ। विदेश कस्तो हुन्छ, त्यहाँ कति दु:ख गर्नुपर्छ ? सबै थाहा छ मलाई। अब पुग्यो मलाई विदेश । आफ्नै देशमा सुख छ ।
बम्बईमा के काम गर्नुहुन्थ्यो ?
त्यहाँ मैले घरहरूमा बुट्टा भर्ने काम गर्थें। एक दिन पनि बिदा बस्न पाइँदैनथ्यो। तीस तलासम्मको ठूलठूलो भवनमा काम गर्नुुपथ्र्यो। घरको भित्तामा बुट्टा भर्दा आँखाभरि धुलो पथ्र्यो।
घर बनाउँदा सबैभन्दा अप्ठ्यारो कतिखेर लाग्छ ?
प्लास्टर गर्ने बेलामा, पिल्लर उठाउने बेलामा धेरै गाह्रो हुन्छ। डोरी लगाएर काम गर्नुपर्ने हुन्छ। एकदमै जोगिएर काम गर्नुपर्छ।
कामका सिलसिलामा काठमाडौँबाहिर पनि जानुभएको छ कि ?
काम गर्न सर्लाही र जनकपुर गएको छु। त्यतातिरका घर यताका घरभन्दा धेरै फरक हुन्छन्।
अरूको घर बनाउनुहुन्छ । आफ्नो चाहिँ बनाउनुभएको छ कि छैन ?
त्रिशुलीमा पुरानै घर छ । अब नयाँ बनाउने सोचमा छु ।
प्रस्तुतिः रचना श्रेष्ठ