थारू महिलाका गहना (फाेटोफिचरसहित )
काठमाडौं: थारू समुदायको नयाँ वर्ष माघी भर्खर सकिएकाे छ। माघीमा थारु युवतीहरू गरगहनामा धपक्क बलेका देखिएका थिए। तर, धेरैलाई उनीहरूले लगाउने गहनाबारे जानकारी छैन। थारू महिलाले टाउकोमा मँगिया लगाउँछन्, जुन गहनाले टाउकाको अग्रभाग पुरै ढाकेको हुन्छ। बीच भागमा गोलाकार हुने मँगियाको झालर आकर्षक हुन्छ। त्यस्तै, कानमा वीर, झिल्मिल्या, लुर्की, कनबझ्हा, टर्की आदि लगाउँछन्।
कानमा लगाइने लुर्कीले कान यसरी ढाकेको हुन्छ कि झ्वाट्ट देख्नेले ‘ओहो, यो लगाउनेलाई त बोली सुन्न पनि गाह्रो हुन्छ कि क्या हो’ भन्ने पार्छ। टर्की वृद्धाले मात्रै लगाउने गर्छन्। वजनदार गहना लगाउँदा–लगाउँदै कानको प्वाल ठूलो भएपछि बडेमानको टर्की लगाउँछन्।
नाकमा फोँफी, नथिया, नथुनीजस्ता गहना लगाउने थारू महिलाहरूको यही एक मात्र सुनको गहना हुन्छ, बाँकी सबै चाँदी हुन्छ। हातमा अगला बाला, पछला बाला, लगरही, लाखको चुराले उनीहरू सुसज्जित हुन्छन् भने पाखुरामा बाँक, बिजाइठ, टँरिया, जोसम आदि पहिरन्छन्। नाचगान, चाडपर्व आदिमा हातका दशैँ औँलामा पैसाको मुन्दरी (औँठी) लगाउन रुचाउँछन्।
त्यस्तै, गलामा सुटिया, ठोसिया, चन्द्राहार, टौँक, सिक्री, हुमेल, सिकरहवा माला आदि गरगहनाले थारू महिलाहरू शोभायमान हुन्छन्। कसैको त सुटिया मात्रै एक किलोभन्दा माथि हुन्छ। खुट्टामा भने पैँरी, ढुरुवा, कारा लगाउँछन् भने खुट्टाको औँलामा बिछिया, मुन्दरी आदि लगाउँछन्। निधारमा लाल टिकली (रातो टीका) त छुट्ने कुरै भएन।
माथि उल्लिखित गरगहना प्रायः पश्चिमा थारू महिलाले लगाउँछन् भने ती गरगहनाबाहेक पूर्वीया थारू महिलाले कनोसी, लोट, खोटिला, हँसुली, हैकल कठा, मठा, बाजुबन्द, डकरसा, झालर, हीराकट, मुठिया, चुडी आदि लगाउँछन्।
केही वर्षपहिले पूर्व कमलरी सुमा थारूले महिला दिवसका अवसरमा अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टन समेतको उपस्थितिमा थारू गीत गाउने अवसर पाएकी थिइन्। औपचारिक कार्यक्रममा उनी आफ्नो डंगौरा थारू महिलाको परम्परागत पोशाक ब्लाउज र ठेठ्वामा थिइन्। ‘त्यतिबेला मेरो गीतसँगै थारू पोशाक र गरगहना पनि धेरैले मन पराए,’ उनले ‘सम्पूर्ण’सँग भनिन्, ‘केही अमेरिकीले मेरा जस्ता पोशाक र गरगहना लगाउने अभिरुचि पनि देखाएका थिए।’
थारू पोशाक हराउँदै गएपछि दाङदेउखुरीको स्थानीय थारू कल्याणकारिणी सभाले विगत डेढ दशकदेखि थारू महिलालाई सिलाइकटाइको तालिम दिइरहेको छ। जापानी नागरिक केनिचिरो शाकोनको विशेष लगानीमा तालिम भइरहेको छ। तालिममा उत्पादित देउखरिया थारू महिलाको लहँगा, कुर्ठाजस्ता पोशाक हाल जापान पनि जाँदै गरेको प्रशिक्षिका शिवु चौधरीले जानकारी दिइन्।
नेपाल पर्यटन बोर्डले थारू महिलाको पहिचानयुक्त पहिरनको पोस्टरमा दाङदेउखुरीकी विष्णु चौधरीको गरगहनाले छपक्कै छोपेको तस्बिर प्रवद्र्धन गरेको छ। करिब दुई दशकअघि जर्मनीमा थारू नाच देखाउन जाने क्रममा उक्त पोस्टर प्रवद्र्धन गरिएको थियो।
विष्णु चौधरी भन्छिन्, ‘थारू महिलाहरूले पुरै सेट गहना लगाउने हो भने तीन किलोभन्दा कम हुँदैन।’ यसरी कुनै कार्यक्रममा दिनभरि थारू गहना लगाउनेलाई सास्तीझैँ हुन्छ। खास गरी चाँदीका गरगहना निकै वजनदार हुन्छन्। यसरी थारू महिलाले लगाउने गरगहना हेर्दा उनीहरूको रुचि र सोख झल्किन्छ।
थारूहरूको लोकगीत, लोककथामा पनि उनीहरूको गरगहनाले विशेष स्थान पाएको छ। ‘उरी उरी भँवरा टिकुली पर बैठे रे ना, सखिए हो भँवरक छुवल टिकुली मलिन भइल, हाँ’ अर्थात् उड्दै गरेको भमरा निधारको टीकामा बस्यो, टीका नै बिटुलो बनाइदियो। यसले उनीहरूको गहनाप्रेम दर्शाउँछ।
थारू महिलाले लगाउने पोशाक धेरै हदसम्म सुरक्षित भए पनि परम्परागत गरगहना भने हराउँदैछन्। अचेलका थारू युवतीहरू आधुनिक गरगहनातिर आकर्षित भएका छन्। त्यसैले उनीहरूका आमाले निकै दुःख गरेर जोगाएको गहना मासेर, साटेर आधुनिक गरगहनामा मख्ख छन्।
काठमाडौँको, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा रहेको जनजाति संग्रहालयमा थारू गरगहनाको प्रदर्शनी देख्न पाइन्छ। थारू गरगहना अब संग्रहालयको मात्रै शोभा हुने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ। टेलिभिजन कार्यक्रम प्रस्तोता भूमिका चौधरी अहिले थारू गरगहना पाइने पसल पाउनै मुश्किल हुने बताइन्। भन्छिन्, ‘माघीमा थारू गरगहना र पोशाक लगाउने चाहने थियाे तर ती सामान नपाइए पछि सपना अधुराे रह्याे।’