‘स्मार्टफोन आफैँमा समस्या होइन’
हाम्रा बाजेहरूले आफ्ना पालामा कुखुरा, बाख्रा र हसिँया आफूसँग राखे। हामीले रेडियो सँगै राख्यौं। छोराहरूले टेलिभिजनलाई आफ्नो बनाए। अहिले नातिनातिनाले स्मार्टफोन राखेर पढ्छन्। फोन राखेरै खाना खान्छन्। हरेक पुस्ताले आफूसँग जे छ त्यसैको उपयोग गर्छन्। त्यो ठीक अथवा बेठीक, अर्को पाटो हो।
डा. विद्यानाथ कोइराला, शिक्षाविद्
स्मार्टफोनमा ‘लत’ समस्या हो कि ? ‘स्वास्थ्य’ समस्या हो ? हामीले छुट्याउन सकेका छैनौँ। लत समस्या हो भने त्यसलाई छुटाउन सक्छौं। रेडियसनका कारण स्वास्थ्यमा समस्या देखिएको हो भने प्रविधिवालाहरूसँग कुरा गर्नुपर्छ। त्यस्तै मेसिन समस्या हो कि विषयवस्तु ? अर्को मुख्य प्रश्न हो। केटाकेटीले कार्टुन धेरै हेर्छन् भने कार्टुनको विकल्प खोज्ने कि मोबाइलको ? त्यसमा अहिलेका अभिभावकहरू अस्पष्ट छन्। बालबालिकाले सधैँ नयाँपन खोज्छन्। किताबमा नभएका कुराहरू उनीहरूले मोबाइलमा पाउँछन्।
किताब चल्दैन। त्यसको पाना पल्टाउनुपर्छ। मोबाइल आफैँ चल्छ। बालबालिकाहरूले किताबमा बल्लतल्ल फोटो फेला पार्छन्। मोबाइलमा सर्च गर्नेबित्तिकै हजारौँ फोटो भेटाउँछन्। यसर्थः नयाँ कुरा देखेपछि सबैलाई चलाउन मन लाग्छ। यहाँ समस्या स्मार्टफोनलाई कसरी प्रयोग गर्ने भन्नेमा छ। यो आफैँमा समस्या होइन। योभन्दा अगाडिको पुस्ता दार्शनिक थियो भने अहिलेको पुस्ता डिजिटल छ। उनीहरूको चिन्तन गर्ने शैली पनि डिजिटल नै छ।
बालबालिका भनेका ‘रेस्टलेस’ प्राणी हुन्। उनीहरू जतिबेला पनि चलिरहन मन पराउँछन्। पहिलाका पुस्ता बाहिरी वातावरणमा घुलमिल थिए। अहिलेका बालबालिकामा त्यो छैन। हाम्रोमा केटाकेटीहरू खेल्ने/घुम्ने ठाउँ छैन। आफूसँग भएको कुराहरू प्रयोग गरेर पनि उनीहरूलाई खेलाउन सक्छौँ। भुलाउन सक्छौं। घरमा पनि उनीहरूको लागि प्रशस्त मात्रामा खेल सामग्रीहरू राखिदिनुपर्छ। केटाकेटी हुनुको मज्जा त्यही खेल्नु र उफ्रिनुमा छ। यो तरिकाबाट हुर्काउन सकिएन भने उनीहरूले खेल्ने भनेको मोबाइल नै हो।
वास्तवमा भन्ने हो भने आमाबुबाले नै छोराछोरीलाई प्रविधिसँग नजिक बनाएका हुन्। मोबाइल फोनको नराम्रो पक्ष मात्र छैन। त्यसबाट उनीहरूले धेरै कुरा सिकिरहेका पनि छन्। यसमा हामीले केटाकेटीमैत्री वस्तुहरू राख्नुपर्छ। किताबकै कुराहरू सहज ढंगले मोबाइलमा हाल्यो भने पनि यसले धेरै ठूलो काम गर्छ। बालबालिकाको लागि प्रायः किताब ‘बोरिङ’ र मेसिन ‘इन्ट्रेस्टिङ’ हुन्छ। अहिलेका केटाकेटीहरू एकदमै ‘इन्फरमेटिभ’ छन्। उनीहरूलाई संसारका कुरा थाहा हुन्छ। कुनै ठाउँ जानुप¥यो भने गुगल म्याप हेर्न थालिसके।
त्यसकारण स्मार्टफोन आफैँमा गलत चिज होइन। त्यसलाई हामीले उनीहरूको उमेरसँग मिलाउन जानेनौँ। हामीले यो वेगलाई रोकेर राक्न सक्दैनौँ। तर, सदुपयोग गरेर प्रयोग गरेको खण्डमा यो कुनै पनि हालतमा गडबड गर्ने भाँडो होइन। स्मार्टफोनको कारण बच्चाहरू अनुशासित भएनन् भन्नेहरू पनि छन्। जसले नयाँ कुरा दियो उनीहरू त्यसैलाई आदर गर्छन्। स्कुलमा पढाउने गुरुभन्दा गुगल गुरु काइदा लाग्न थाल्छ। भोलि गुरुलाई छाडेर त्यसैलाई नमस्कार गर्ने दिन पनि आउन सक्छ।
त्यसकारण यसको विकल्प खोज्नु मूर्खता हो। यसलाई कसरी लतबाट आवश्यकतामा लैजाने भन्नेमा लाग्नुपर्छ। विदेशीहरू पेपरलेस स्कुल बनाउने भन्दै हिँडेका छन्। स्मार्टफोन हटाउने भनेर त कल्पना पनि गर्न सकिँदैन। लत भन्ने कुरा त बजारले लगाउँछ। आमाबुबाको बेफुुर्सदले लगाउँछ। उनीहरूको आवश्यकताले लगाउँछ। (कुराकानीमा आधारित)