सडक अनुभूति : गाडी बढे बाटा साँघुरिए
काठमाडाैं : स्कुल पढ्दापढ्दै भागेर भारततिर गइयो। त्यसपछि उतैतिर ड्राइभिङ सिकियो। ड्राइभिङ गर्न थालेको १५ वर्ष भइसक्यो। अहिले म काठमाडौँ–धनगढीको रुटमा बस चलाउँछु। धनगढी पुग्न १५/१६ घण्टा लाग्छ।
जनावरले बाटो छेक्छन्
दाङदेखि कोहलपुरसम्म घना जंगल छ। बीच–बीचमा स–साना गाउँ पनि छन्। हामीलाई दुःख हुने भनेको बर्दिया राष्ट्रिय निकुञ्ज आरक्षणमा हो। वर्षाको बेलामा समय–समयमा हात्ती निस्किन्छ। उनीहरूलाई धपाउनै गाह्रो हुन्छ। हात्तीको बथानै आएर बाटोमा बस्छन्। वर्षाको बेलामा हरियाली हुन्छ। रमाइलो मान्दै घाँस खाँदै मनलाग्दी समयसम्म बाटोमा बस्छन्। हात्तीहरू नउठेसम्म गाडी रोकेर कुरेर बस्नुपर्छ।
पोखरा सफा छ
मलाई नेपालभरिमा सबैभन्दा मन परेको शहर पोखरा हो। त्यतातिरको बाटोघाटो निकै व्यवस्थित लाग्छ। ठाउँ पनि निकै राम्रो छ। धुलोमैलो छैन। फराकिलो बाटो छ। जाम पटक्कै हुँदैन। निकै सफासुग्घर भएको ठाउँ हो, पोखरा। त्यतातिर पुग्दा एकदम आनन्द लाग्छ।
हिउँ जमेको बाटो
पहिला भारतको अमरनाथ मन्दिरतिरको ठाउँमा तेलको ट्यांकर चलाउँथेँ। हिउँ नै हिउँको बाटोमा चलाउनुपथ्र्यो। एक पटक आर्मीको थुप्रै गाडी हिउँमा चिप्लेको देखेको छु। त्यो घटना म कहिल्यै बिर्सिनँ सक्दिनँ।
गाडी बढ्यो, बाटो साँघुरियो
नेपालको बाटो जताततै अस्तव्यस्त लाग्छ। गाडी बढ्यो तर बाटो साँघुरो छ। सिंगल बाटोमा ठूलठूला ट्रक, बस, बाइक, माइक्रो गुड्छन्। हाइवेतिर दोहोरो गाडी चल्न सक्दैन। यसमा सबैले दुःख पाउँछन्। कतिपय ठाउँमा त बाटोको कारणले झगडा नै पर्छ।
प्रस्तुतिः रचना