यसरी जाेगाउनुहाेस् दाँत
ब्याक्टेरियाले दाँतमा विभिन्न समस्या निम्त्याउन सक्छ। दाँतलाई ब्याक्टेरियाबाट जोगाउन यसो गर्न सकिन्छः
–तोरी, तिल वा नरिवलको तेल बिहान–बिहानै खाली पेटमा २० मिनेटसम्म मुखमा राखेर कुल्ला गर्ने। यसो गर्दा ब्याक्टेरिया मर्छन्। दाँत र गिजा बलिया बन्छन्।
–दाँतको सरसफाइका लागि दिनमा दुई पटक ब्रस गर्ने। यसरी सफा गर्दा दाँतमा अड्किएका खानाका कण निस्कन्छन् र मुख पनि गनाउँदैन।
–चकलेट, कोल्ड ड्रिंक्स, मैदाका बिस्कुट, आइसक्रिम, केक, चिप्सलगायत खानेकुरा बढी खानु हुन्न। यी खानेकुराले दाँतलाई हानि पुर्याउँछन्। यी खानेकुरा खाइहाले भने पनि कुल्ला गर्नु आवश्यक छ।
–ब्रस गरेपछि सफा पानीले कुल्ला गर्नुपर्छ। कुल्ला गर्दा औँलाले गिजाको मालिस गर्नुपर्छ। यसो गर्दा रक्तसञ्चार राम्ररी हुन्छ र गिजा बलियो बन्छ।
–दाँतलाई औजारका रूपमा प्रयोग गर्नु हुन्न। धागो काट्ने, तार छिल्नेलगायत काम दाँतबाट गर्नु हुन्न।
–पिन, सियो लगायतले दाँत कोट्याउनुहुन्न। यसले गिजामा घाउ बनाउन सक्छ।
–धूम्रपान, मद्यपान दाँतका लागि हानिकारक हुन्। यस्तो बानीले दाँत सुरक्षित रहँदैन।
–अरूको टुथ ब्रस प्रयोग गर्नु हुन्न। अर्काको ब्रसले दाँतमा संक्रमण गराउन सक्छ।