‘लोकसेवाको नशा नै लाग्यो’
२०३२ सालमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा मध्यम वर्गीय परिवारमा जन्मिएँ। मेरो माइती बैतडीबाट कञ्चनपुर बसाइँ सरेको हो। माइतीमा पूरै पहाडी संस्कृति थियो। त्यो बेला ‘छोरीलाई पढाउन हुन्न’ भनिन्थ्यो। तर, मेरा आमाबाले मलाई पढाउनुभयो। मैले स्नातकोत्तरसम्म पढेँ। २०६४ सालमा प्रशासन र २०७२ सालमा शिक्षाबाट स्नातकोत्तर गरेँ। २०७२ सालमै कानुनमा स्नातक गरे।
२०५१ सालमा आईकम गरेपछि कञ्चनपुर, श्रीपुरको एक गाउँमा शिक्षिका भएँ। २०५४ सालमा मेरो विवाह भयो। बिहे हुँदा म स्नातक अध्ययन गरिरहेकी थिएँ। बिहेपछि पनि मैले दुई वर्षसम्म पढाएँ। श्रीमान् सरकारी जागिरे हुनुहुन्थ्यो। उहाँले लोकसेवाका लागि प्रेरित गर्नुभयो। सुरुमा ‘लोकसेवामा उत्तीर्ण हुन सकुँला र ?’ जस्तो लागेको थियो। त्यतिबेला मेरो छोरो डेढ वर्षको थियो। ‘एक चोटि गरिहेर्छु’ भन्ने लागेर २०६० सालमा लोकसेवा आयोगको फारम भरेँ र परीक्षा दिएँ। राम्रो तयारी नभएकाले परीक्षामा सफल हुन सकिएन।
तर, मेरा किताब पढ्ने बानीको चाहिँ विकास भयो। छोरालाई सुताएर राति १ बजेसम्म किताब पढ्थें। २०६१ सालमा खरिदारका लागि आवेदन भरेँ। देशभरिबाट एक जना महिला म मात्रै पास भएको थिएँ। २०६१ सालमा जिल्ला शिक्षा कार्यालय बैतडीमा खरिदार पदमा नियुक्त भएँ। यसपछि मलाई लोकसेवाको नशा नै लाग्यो। २०६२ सालमा नायब सुब्बाको परीक्षामा उत्तीर्ण भएँ र जिल्ला विकास समिति बारामा पोस्टिङ भयो।
सुब्बा बनेपछि मलाई शाखा अधिकृत बन्ने लहड चल्यो र म त्यसका लागि तयारी गर्न थालेँ। २०६७ सालमा शाखा अधिकृतमा उत्तीर्ण भएर सामान्य प्रशासन मन्त्रालयमा पोस्टिङ भयो। अहिलेसम्म त्यही काम गरिरहेकी छु। पछिल्लो समय निजामती सेवामा महिलाको संख्या बढ्दैछ। २०६१ सालमा मैले निजामती सेवा प्रवेश गर्दा महिलाको संख्या न्यून थियो। त्यसमा पनि सुदूरपश्चिमका महिलाहरूको संख्या ज्यादै न्यून थियो। तर, आजभोलि सरकारी जागिरमा महिलाको आकर्षण बढेको पाइन्छ। अहिले निजामती सेवामा पुरुषसँगै महिलाको उपस्थिति पनि राम्रै छ।
सरकारी जागिरे बन्छु भनेर मैले कहिल्यै सोचेकी थिइनँ। तर, आफ्नो मेहनत र श्रीमान्को सहयोगले निजामती कर्मचारी भएँ। अहिले लोकसेवा आयोगको तयारी गर्नेहरूका लागि किताबसमेत लेख्ने भएकी छु। मेरो श्रीमान् र मैले मिलेर खरिदारदेखि उपसचिवसम्मका लागि लोकसेवा तयारीका ३१ वटा किताब लेखिसकेका छौँ।
यसरी पढ्थेँ
श्रीमान्को प्रोत्साहनले मलाई लोकसेवा परीक्षाको तयारी गर्ने प्रेरणा दियो। मैले लोकसेवा परीक्षाको तयारीका लागि कम्मर कसे। परीक्षाको तयारीसँगै छोेरोको हेरचाहको जिम्मेवारी पनि ममा थियो। छोरो सुतेपछि राति १ बजेसम्म पढ्थेँ। भान्छामा काम गर्दा फर्मुला बनाएर पढ्ने गर्थें। पाठ्यक्रममा आधारित रहेर तयारी गरेँ। लेखेर याद गर्थें। लेखेर पढ्दा मेरो लेखनशैली सुध्रियो। ज्ञानको दायरा फराकिलो भयो। ममा विश्लेषण गर्ने क्षमता विकास भयो।
पास हुन गाह्रो छैन
म हुर्केको समाजमा छोरीलाई छोराभन्दा फरक दृष्टिकोणले हेरिन्थ्यो। तर, मेरा अभिभावकले पढ्ने वातावरण सिर्जना गरिदिनुभयो। छोरीलाई कहिल्यै पनि छोराभन्दा कम आक्नुहुँदैन भन्ने लाग्छ। महिलाले पनि ‘म सक्छु’ भन्ने आत्मविश्वासका साथ पढ्नुपर्छ। इच्छाशक्ति राख्यो भने जस्तोसुकै परीक्षामा पनि पास हुन सकिन्छ। हाम्रो समाजमा घरधन्दाको जिम्मेवारी महिलामाथि नै हुन्छ।
घरको कामधन्दा गर्दै लोकसेवा लड्न सकिन्छ, पास हुन सकिन्छ र सरकारी जागिर खान सकिन्छ भन्ने कुरा महिलाहरूले बुझनुपर्छ। त्यसका लागि आत्मविश्वास हुनै पर्छ। अठोट लिएर पढियो भने लोकसेवाको परीक्षामा पास हुन केही गाह्रो छैन।