‘मदन भण्डारीले दिएको त्यो तीन सय’
ओखलढुंगाका ४९ वर्षीय गंगाप्रसाद घिमिरे एउटा मात्र काम गरेर राजधानीमा टिक्न मुश्किल हुने बताउँछन्। २० वर्षयता पत्रिका बेच्दै आएका उनको काठमाडौँ, पुरानो बसपार्कस्थित मार्टमा कपडा पसल छ। घिमिरेले नौदेखि १२ सम्मको पढाइ भारतको बनारसमा गरेका हुन्। ‘मेरो मामाहरू उतै बस्नुहुन्थ्यो,’ उनी भन्छन्, ‘नौदेखि १२ कक्षासम्म बनारसमै पढेँ। संस्कृत विषय लिएर पढेको हुँ।’ पढाइ सकेर उनी गाउँ फर्किए।
घरपरिवारले बिहेको कुरा चलायो। काँधमा थप जिम्मेवारी आएपछि उनी काडमाडौँ छिरे। ‘काठमाडौँमा थुप्रै साथीभाइ भएकाले खान/बस्न गाह्रो भएन,’ उनी भन्छन्, ‘अंग्रेजी विषय लिएर पढ्दै काम गर्ने सोचले आरआर क्यापसमा भर्ना भएँ।’कामको खोजीमा घिमिरेले राजधानी खूब चहारे। ‘बल्लतल्ल न्युरोडमा एक जना मारवाडी दाइकहाँ कम्प्युटरको सामान बेच्ने काम पाएँ,’ उनी सम्झिन्छन्, ‘बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म काम गर्थें। यसरी खटिएर काम गर्दा सात सयजति कमाइन्थ्यो।’
काम गर्दै पढ्न अप्ठ्यारो भएपछि उनले पढाइलाई निरन्तरता दिन सकेनन्। ‘काम गर्दै पढ्न नसकिने रहेछ,’ उनी भन्छन्, ‘एक त संस्कृतमा पढेको मान्छेलाई, अंग्रेजी पढ्न यसै गाह्रो। त्यसमाथि काममा बढी समय दिनुपर्ने। पहिलो चोटिको परीक्षामा फेल भइयो। त्यसपछि त पढाइ नै छोडिदिएँ।’थोरे तलबमा आफूलाई नै खान/बस्न गाह्रो भइरहेको अवस्थामा गाउँबाट श्रीमती छोराछोरीसहित काठमाडौँ आइपुगिन्।
‘श्रीमती छोराछोरीलाई लिएर गाउँ नै छाडेर मसँग बस्न आइपुगिन्,’ घिमिरे भन्छन्, ‘त्यसपछि मेरो काँधमा थप जिम्मेवारी आइलाग्यो। कोठामा सँगै बसेको साथीले पनि अर्कै कोठा खोज्न भने।’ दशौँ ठाउँ धाउँदा पनि कोठा भाडामा पाउन गाह्रो भएको उनी बताउँछन्। ‘मुश्किलले एक ठाउँमा कोठा पाइयो,’ उनी भन्छन्, ‘आफ्नो तलब थियो जम्मा सात सय कोठा भाडा भने ११ सय।’ ससुरालीपट्टिबाट कोठा भाडा तिर्न सहयोग पाएपछि ११ सयको कोठा भाडामा लिएको उनी बताउँछन्।
बनारस पढ्दाताका उनले त्यहाँ नेता मदन भण्डारीलाई भेटेका रहेछन्। २०४८ सालमा खुलामञ्चमा हुने आमसभामा भण्डारी आउने सुनेर उनी पनि त्यहाँ पुगे। ‘चिनजान भएकाले जागिर लगाइदिनुहुन्छ कि भन्ने सोचले भेट्न त्यहाँ पुगेँ,’ घिमिरे भन्छन्, ‘मदन भण्डारीले मलाई तीन सय रुपैयाँ दिनुभयो। र, पत्रिका बेच्ने काममा लगाइदिनुभयो। उहाँले लगाउनुभएको त्यो गुन म कहिल्यै बिर्सिन्नँ।’
भण्डारीले दिएको तीन सय रुपैयाँमा आफूले केही पैसा थपेर उनले साइकल किने। त्यसपछि सुरु भयो घिमिरेको पत्रिका बेच्ने काम। उनी बिहान पत्रिका बेच्थे, दिनमा मारवाडीकोमा समेत काम गर्न भ्याउँथे। ‘बिहान पत्रिका बेच्ने काममा लागेपछि मारवाडीको पसलमा ढिलो पुग्न थालेँ,’ उनी सम्झिन्छन्, ‘साहुजीले खूब हप्काउँथ्यो। म चुपचाप सुन्थेँ र काम गर्थें।’
गाउँमा आमा बितिन्। घिमिरे त्यतै व्यस्त भए। दुई ठाउँमा काम गर्न गाह्रो भएपछि उनले मारवाडीको काम छोडिदिए। तर, एउटै कामले घरखर्च चलाउन अप्ठ्यारो भएपछि पत्रिकासँगै उनले रत्नपार्कको फुटपाथमा जुत्ता बेच्न थाले। नगरपालिकाले फुटपाथबाट लखेटेपछि उनी खुलामञ्चतिर सरे। पत्रिका र लत्ताकपडाको व्यापार गरेर घर खर्च र छोराछोरीको पढाइ खर्च जुटाउने गरेको घिमिरेको भनाइ छ।
यो जोडीको तीन सन्तान छन्। ‘एउटी छोरी र दुई जना छोरा छन्,’ घिमिरे भन्छन्, ‘सबैले एसएलसी पास गरिसके।’ उनले आफ्ना सन्तानलाई नै सम्पत्ति ठान्छन्। ‘जे हुन् यिनै छोराछोरी हुन्,’ उनी भन्छन्, ‘उनीहरूकै लागि रातदिन नभनी दुःख गरिरहेको छु।’ कपडाको व्यापार सामान्य रहेको उनी बताउँछन्। ‘छ/सात वर्ष भयो कपडा पसल थापेको,’ उनी भन्छन्, ‘कपडामा कहिले घाटा हुन्छ त कहिले नाफा।’ घिमिरे बिहान पत्रिका बेच्छन् र दिउँसो कपडा व्यापारमा व्यस्त हुन्छन्।
न्युरोडबाट पत्रिका जम्मा गरी साइकलमा पत्रपत्रिकाको हेडलाइनलाई भट्याउँदै हिँड्छन्। उनका दुई सयभन्दा बढी ग्राहक छन्। ‘पहिले–पहिले पत्रिकाबाटै भात–तरकारी खान पुग्थ्यो,’ उनी भन्छन्, ‘अहिले त चिया–बिस्कुट खान पनि धौधौ छ।’घिमिरे आफूले मेहनत गर्न नडराउने बताउँछन्। ‘कपडा पसल र पत्रिका बेचेर घरखर्च चलकै छ,’ उनी भन्छन्, ‘मान्छेले मेहनत गर्न डराउनुहुन्न। विदेश जानुभन्दा देशमा गरिखाने आँट गर्नुपर्छ।’