भारतीय सहयोगको भवन अलपत्र

भारतीय सहयोगको भवन अलपत्र

रामगोपालपुर : भारतीय सहयोगमा रामगोपालपुरस्थित महेन्द्र राष्ट्रिय माविमा निर्माणाधीन भवन अलपत्र परेको छ। २०६८ सालमा तत्कालीन भारतीय राजदूत राकेश सुदले शिल्यान्यास गरेको भवन निर्माण एक वर्षभित्र सम्पन्न हुने भनिएको थियो। तर, ६ वर्षमा पनि निर्माण कार्य अलपत्रै छ।

भारतीय महावाणिज्य दूतावासको आर्थिक सहयोगमा निर्माण सुरु भएको भवनमा झारपात उम्रेको छ। भवनका कोठाहरू शौचालयमा परिणत भएका छन्।

दुईतले २२ कोठे भवनको अनुमानित लागत तीन कारोड १७ लाख ६२ हजार रुपैयाँ थियो। कोसी एन्ड न्यौपाने हरि हरि जेभी रातोपुल काठमाडौंले २०६८ साल मंसिर २० गते तीन करोड २५ हजार ठेक्का सकारेको थियो। सम्झौताअनुसार २०६९ मंसिर १९ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो। जिल्ला प्राविधिक कार्यालय महोत्तरीले स्थलगत निरीक्षण गरी ठेकेदारलाई २०६९ पुस ११ गते ६ महिना म्याद थप गर्‍यो। तर, मुस्किलले भवन निर्माणको काम २५ प्रतिशत भएको शिक्षक रामएकवाल सिंहले जानकारी दिए। ‘झ्याल, ढोका कुहिसके। रडमा खिया लाग्यो’, उनले भने, ‘पिलर कमजोर भइसके।’

भवन निर्माणको पहल गर्दै आएका स्थानीय नेता जीवच्छ चौधरीका अनुसार भवन निर्माण ठेक्का घटाघटमा ठेकेदार हुँदै पेटी ठेकेदारसम्म पुग्यो। प्रतिस्पर्धाका आधारमा २७ प्रतिशत कममा ठेक्का लाग्यो। मुख्य ठेकेदारले सोनामाई भोइलका सिकेन्द्र यादवलाई पेटी ठेकेदार बनायो। ‘उसले सुरुमा कमसल काम गर्न खोज्दा स्थानीयले रोके’, उनले भने, ‘पछि गुणस्तरीय काम गर्ने सर्तमा स्थानीयले काम गर्न ठेकेदारलाई दियो।’

 निर्माण सामग्री महँगिएको र ज्यामीको पारि श्रमिक पनि बढेको भन्दै पेटी ठेकेदारले काम गर्न नमान्दा भवन निर्माण अलपत्र परेको हो।

जिल्ला प्राविधिक कार्यालयले २४ प्रतिशत काम सम्पन्न भएको प्रतिवेदन जिविसमा पेस गरेको थियो। २५ प्रतिशत काम पूरा नभएकाले ठेकेदारको भुक्तानी रोकियो। दोस्रो वर्ष २५ प्रतिशत काम गरेपछि ठेकेदारले भुक्तानी पाएका थिए। तत्कालीन स्थानीय विकास अधिकारी तीर्थराज भट्टराई छत ढलानका लागि ८० लाख पेस्की दिन तयार भए। तर, ठेक्काको दुई वर्षपछि निर्माण सामग्री महँगिएको र ज्यामीको पारि श्रमिक पनि बढेको भन्दै पेटी ठेकेदारले काम गर्न नमान्दा अहिलेसम्म भवन निर्माण अलपत्र परेको हो।

ठेकेदारले दुईपटक गरी ६९ लाख ८७ हजार भुक्तानी लिइसकेको छ। कामभन्दा बढीको बिल पेस गरेर ठेकेदारले भुक्तानी माग गरेको जनाइएको छ। त्यसपछि भुक्तानी नदिएको भन्दै निर्माण रोकेको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर लक्ष्मणकुमार सेठले तयार गरेको प्रतिवेदनमा उल्लेख छ।

‘जिविसमार्फत भवन निर्माणको काम अघि बढ्यो। अब यसै निकायले ठेक्का सम्झौता रद्द गर्न कदम चाल्नुपर्छ’, नेता चौधरीले भने।

भवन निर्माण सम्पन्न गर्न पहल नभएको अभिभावक बताउँछन्। ‘यो विद्यालयमा गरिब र मजदुरका बच्चा पढ्छन्’, अभिभावक रामसत्य मण्डलले भने, ‘भवन जीर्ण छ। न ढोका छ न त झ्याल। शीतलहरको चिसो हावाले बच्चाहरू कठ्यांग्रिँदै आएका छन्।’ एउटा बेन्चमा सात जनासम्म बसेर असहज तरिकाले पढ्नुपरेको उनको गुनासो छ।

एक हजार पाँच विद्यार्थी अध्ययनरत रहेकामा कक्षा ६ देखि १० सम्म दुई सेक्सनमा पढाइ हुन्छ। तर, कक्षाकोठा अभावले पढाउन समस्या भइरहेको प्रधानाध्यापक धीरेन्द्रकुमार मण्डलले बताए। ‘१६ वटै कोठा जीर्ण भइसकेका छन्’, उनले भने, ‘बर्सेनि मर्मत गरी कक्षा सञ्चालन गर्नुपरेको छ।’

रामगोपालपुराका मेयर अशोक मण्डलले भवन निर्माण सम्पन्न गर्न पहल गर्ने बताए।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.